+
+

डिजिटल नेपाल कन्क्लेभ : प्रविधिकाे पूर्वाधारमाथि बहस

सहदेव चौधरी सहदेव चौधरी
२०७९ असार ५ गते १०:०३

५ असार, काठमाडौं । आईसीटी फाउण्डेसन नेपालको आयोजनामा शनिबारदेखि काठमाडौंमा ‘डिजिटल नेपाल कन्क्लेभ, २०२२’ सुरु भएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनले शनिबार कन्क्लेभको उदघाटन गर्दै सूचना प्रविधिको विकासमा राज्यले लगानी बढाउन आवश्यक भएको बताए । ‘सरकारले २०७६ सालमा डिजिटल फ्रेमवर्क सार्वजनिक गरेर देशलाई डिजिटल बनाउनको लागि काम सुरुवात गरिसकेको छ,’ उनले भने, ‘अब राज्यले सूचना प्रविधिको पूर्वाधारसँगसँगै लगानी पनि वृद्धि गर्दै लैजानुपर्ने बेला भइसकेको छ ।’

उपराष्ट्रपति पुनले नेपाल प्राकृतिक तथा भौगोलिक रुपमा विकट भएकाले सूचना प्रविधिबाट सार्वजनिक सेवा दिन प्रारम्भ गर्नुपर्नेमा जोड दिए । ‘नयाँ–नयाँ सूचना प्रविधिको प्रयोग गरेर ग्रामिण क्षेत्रमा सेवा प्रवाह गर्न सकेको खण्डमा धेरै हदसम्म जनताले सहज सेवा पाउने थिए,’ उनले भने ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सरकारले डिजिटल नेपालको सपना साकार पार्नको लागि डिजिटल नेपाल फ्रेमवर्क २०७६  कार्यान्वयनमा ल्याएको बताए । मन्त्री कार्कीले सूचना प्रविधि समय–समयमा परिवर्तन हुने भएकाले पनि मन्त्रालयले आवश्यक नीतिगत तथा कानुनी सुधार आवश्यक भए सुधार गर्ने बताए ।

आइतबारसम्म चल्ने कन्क्लेभको प्रथम दिनमा सूचना प्रविधिको निजी तथा सार्वजनिक र अन्तराष्ट्रिय क्षेत्रका ख्यातीप्राप्त व्यक्तिहरुको उपस्थिति थियो । कार्यक्रमको उदघाटन सत्रमा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञ प्रतिनिधिहरुले कार्यपत्र प्रस्तुति तथा वक्तव्य दिएका थिए ।

कार्यक्रममा इन्फोडेभलपर्सका सीईओ उमेश रघुवंशीले ‘आईटी इन्डष्ट्री ः पावरिङ दी डिजिटल नेपाल’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । सीईओ रघुवंशीले कार्यक्रममा बोल्दै आईसीटी उद्योगका लागि छुट्टै सार्वजनिक खरिद ऐनको व्यवस्था गर्दै ट्याक्स होलिडेको सुविधा प्रदान गर्नुपर्ने बताए ।

यसैगरी दी ओपन ग्रुप इन्डियाका महाप्रवन्धक पल्लव शाहले एक्सपिरियन्स अफ डिजिटल इन्टरप्राइज आर्किटेक्चर विषयमा कार्यपत्र प्रस्तुत गर्दै आईसीटी सेवामा एकरुपता र स्ट्याण्डर्डको अभाव, नीतिगत, पूर्वाधार तथा वित्तीय स्रोत अभाव प्रमुख चुनौतीको रुपमा औंल्याए ।

कार्यक्रममा हुवावे नेपालका सीईओ विलियम झाङले नेपालमा डिजिटल रुपान्तरणको ठूलो सम्भावना भएको बताए । ‘नेपालमा डिजिटल रुपान्तरणका लागि भएका प्रयास एकदमै राम्रा छन्, रुपान्तरणको यहाँ राम्रो सम्भावना छ तर यसका लागि सुरुमा ग्रामिण क्षेत्रलाई यो यात्रामा समावेश गर्न आवश्यक छ,’ उनले भने ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले व्यक्तिगत स्वार्थका लागि डिजिटल रुपान्तरणका पहलहरुलाई कार्यान्वयन हुन नदिने प्रवृत्तिलाई चिर्न आवश्यक भएको बताए । डिजिटल नेपालको यात्रामा निजी क्षेत्र सहकार्यका लागि तयार भएको उनले बताए ।

आईसीटी विज्ञ मनोहर भट्टराईले की एलिमेन्ट अफ स्ट्राटेजी फर डिजिटल नेपाल विषयमा कार्यपत्र प्रस्तुत गर्दै डिजिटल रुपान्तरणको इकोसिस्टमलाई बलियो बनाउन लगानीका प्राथमिकताहरुलाई पुनरावलोकन गर्न पर्ने बताए ।

कार्यक्रमको उदघाटन सत्रमा नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)का उपकुलपति सुनिलबाबु श्रेष्ठ, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल र आईसीटी फाउन्डेसनका अध्यक्ष राजन लम्सालले पनि धारणा राखेका थिए ।

कार्यक्रममा डिजिटल प्रदेश संवाद ३.० को यात्रा समेटिएको वृत्तचित्र समेत प्रस्तुत गरिएको थियो ।

लेखकको बारेमा
सहदेव चौधरी

समसामयिक र सूचना प्रविधिसम्बन्धी समाचार लेख्ने चौधरी अनलाइनखबर डटकमका वरिष्ठ उपसम्पादक हुन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?