+
+

पानी नपर्दा देशभर रोपाइँ प्रभावित

६५ प्रतिशत क्षेत्रफलमा रोपाइँ

असारको अन्तिममा आएर पानी पर्न छोडेपछि त्यसको असर मधेश र एक नम्बर प्रदेशको धान रोपाइँमा परेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार धान खेतीको हब मानिने क्षेत्रमै गत वर्ष भन्दा ११ प्रतिशत कम क्षेत्रफलमा रोपाइँ भएको छ ।

नवीन ढुंगाना नवीन ढुंगाना
२०७९ साउन १ गते १९:५५
तस्वीर सौजन्य : गण्डकी कृषि मन्त्रालय

१ साउन, काठमाडौं । असारको अन्तिममा आएर पानी पर्न छोडेपछि त्यसको असर मधेश र एक नम्बरको धान रोपाइँमा परेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार धान खेतीको हब मानिने क्षेत्रमै कम मात्रामा रोपाइँ हुँदा यस वर्ष असारमा गत वर्ष भन्दा ११ प्रतिशत कम मात्रामा रोपाइँ भएको छ ।

३२ असारसम्म देशभर कुल ९ लाख ७० हजार ४८४ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । जुन कुल रोपाइँ हुने क्षेत्रफलको ६५ प्रतिशत हो । गत वर्ष यो अवधिमा ११ लाख २२ हजार ८०७ हेक्टर क्षेत्रफल (७६ प्रतिशत) मा रोपाइँ भएको कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताए ।
‘यसवर्ष कम मात्रामा रोपाइँ भएको छ । यसको मुख्य कारण मनसुन ब्रेक हो,’ प्रवक्ता सञ्जेलले भने, ‘यसको असर प्रदेश एक र मधेश प्रदेशमा परेको छ । मंगलबारसम्ममा मनसुन सक्रिय हुने अनुमान गरिएको छ ।’

कृषि विभागकाअनुसार असार मसान्तसम्म मधेश प्रदेशमा ५७ र प्रदेश एकमा ४९ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । जबकी यी क्षेत्रमा गत वर्ष यस अवधिमा क्रमश ६९ र ६४ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको विभागका उपसचिव महानन्द जोशीले बताए । प्रदेश एकमा ३ लाख ४० हजार ८२९ हेक्टर र मधेश प्रदेशमा ४ लाख ५ हजार ४५० हेक्टर रोपाइँ योग्य जमिन छ ।

विभागका अनुसार यस वर्ष देशभर रोपाइँ योग्य खेतको क्षेत्रफल करिब २७ हजार हेक्टर बढेको छ । गत वर्ष १४ लाख ७७ हजार ३७८ हेक्टर क्षेत्रफलमा रोपाइँ भएकामा यस वर्ष यस्तो क्षेत्रफल १५ लाख ४ हजार ४८६ हेक्टर पुग्ने विभागको अनुमान छ । तथ्यांक हेर्दा यस वर्ष देशैभरको समग्र रोपाइँलाई वर्षाले असर गरेको मन्त्रालयले जनाएको छ ।

असार मसान्तसम्म बागमती प्रदेशमा ६५, गण्डकी र लुम्बिनीमा प्रदेशमा ७५, कर्णालीमा ५६ र सुदूरपश्चिम प्रदेशमा ८७ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । यस वर्ष गत वर्ष भन्दा गण्डकबाहेकका सबै प्रदेशमा कम मात्रामा रोपाइँ सकिएको विमागले जनाएको छ । गण्डकीमा गत वर्ष भन्दा ३ प्रतिशत बढी क्षेत्रमा रोपाइँ भएको छ । यस्तै बागमतीमा १३ प्रतिशत कम, लुम्बिनीमा प्रदेशमा १२, कर्णालीमा २६ र सुदूरपश्चिम प्रदेशमा ४ प्रतिशत क्षेत्रफलमा कम रोपाइँ भएको विभागको तथ्यांक छ ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले रोपाइँ कम हुनुको कारणलाई नजिकबाट नियली रहेको जनाएको छ । नार्कले आफ्ना देशभरका स्टेसन र मौसम प्रणालीलाई हेरेको र मंगलबारदेखि मनसुन सक्रिय हुने सूचना पाएको नार्कका कार्यकारी निर्देशक डा. दीपक भण्डारीले बताए ।

पानी नपरेकै कारण रोपाइँ कम भएको भन्दै उनले केही दिनमै पानी पर्ने भएकाले रोपाइँका लागि तयारी गर्न किसानलाई आग्रह गरे । ‘रोपाइँ कम हुनुको कारण पानी नै हो । अहिले दक्षिणतिर सक्रिया मनसुन मंगलबारदेखि उत्तरतर्फ सक्रिय रहन्छ,’ भण्डारीले भने, ‘प्रदेश एक र मधेशमा रोपाइँ गर्न अझै समय छ, बिग्रेको केही छैन रोपाइँ सबै ठाउँमा हुन्छ ।’ कृषि मन्त्रालयले पनि रोपाइँका लागि समय बाँकी रहेको भन्दै तराईका केही जिल्लामा पानीको अभाव मनसुनबाटै पूर्ति हुने जनाएको छ ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?