+
+

सप्तरी–२ मा उपेन्द्र यादव भर्सेस सिके राउत

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २० गते २१:४०

२० साउन, जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सप्तरी क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा चुनाव लड्ने उद्घोष गरेका छन् । मूलधारको राजनीतिमा आएर उम्मेदवारी घोषणा गरेका राउतको पुख्र्याैली घर यसै क्षेत्रमा पर्ने महादेवा गाउँपालिका वडा नं. २ मा छ ।

राउतले चुनाव लड्न लागेको यो त्यही क्षेत्र हो जहाँबाट गत चुनावमा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव १० हजार मतान्तरले निर्वाचित भएका हुन् ।

२१ हजार ६२० मत ल्याएर यादव निर्वाचित हुँदा नेकपा माओवादी केन्द्रका उमेशकुमार यादवले ११ हजार ५८० मत ल्याए । स्वतन्त्र उम्मेदवार जयप्रकाश ठाकुरले ९ हजार ४५८ मत पाए ।

हुन त पछिल्लो समयमा यो क्षेत्रमा कसैले पनि दोहो¥याएर नजितेको इतिहास छ । २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा तत्कालीन सद्भावना पार्टीबाट महेश यादव निर्वाचित भएका थिए । दोस्रो संविधानसभाको निर्वाचनमा महेशले जम्मा ४६ मत प्राप्त गरे । त्यतिबेला नेकपा माओवादी केन्द्रका उमेश यादव निर्वाचित भएका थिए । तर उनी २०७४ को निर्वाचनमा उपेन्द्र यादवसँग हारे ।

तत्कालीन सद्भावना पार्टीका अध्यक्ष गजेन्द्रनारायण सिंहले समेत यो क्षेत्रबाट जितलाई निरन्तरता दिन सकेनन् । २०४८ को आम निर्वाचनमा जितेका उनी २०५६ को निर्वाचनमा भने पराजित भए । त्यस बेला नेपाली कांग्रेसका रामकुमार चौधरी निर्वाचित भएका थिए ।

२०७४ मा यादवलाई राजपा र कांग्रेसको साथ

त्यसबेला उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) बीच चुनावी गठबन्धन थियो । नेपाली कांग्रेसले पनि उपेन्द्रलाई नै समर्थन गर्दै आफ्ना उम्मेदवार सकलदेव सुतिहारलाई पछाडि हटाएको थियो ।

गठबन्धन बनेपछि उपेन्द्र यादव निर्वाचित भए । तत्कालीन राजपाका नेता जयप्रकाश ठाकुरले बिद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएर ९ हजार ४५८ मत ल्याए ।

अबको अवस्था

४ मंसिरमा हुने निर्वाचनका लागि सत्तारुढ दलहरुले गठबन्धन गर्ने तयारी गरिरहेका छन् । तालमेल भएमा यो क्षेत्र उपेन्द्र यादवले नै पाउनेमा जसपाका नेताहरु ढुक्क छन् ।

गठबन्धन भएपछि उपेन्द्रले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको साथ पाउनेछन् । यो क्षेत्रमा नेकपा एकीकृतको कमजोर स्थिति छ भने नेकपा माओवादी केन्द्र उसको तुलनामा थोरै मात्र मजबुत स्थितिमा देखिन्छ ।

हुन त यो क्षेत्रमा पछिल्लो समय कांग्रेस पनि कमजोर छ, तर उसको स्थिति एकीकृत समाजवादी र माओवादीको जस्तो छैन ।

३० वैशाखमा भएको पालिका निर्वाचनलाई हेर्ने हो भने सप्तरी क्षेत्र नम्बर २ का ४ पालिकामध्ये २ वटामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रमुख जितेको छ, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी जसपाले १/१ पालिका ।

हासिल गर्दा तिलाठी–कोइलाडी गाउँपालिकामा नेपाली कांग्रेस र राजविराजमा जसपा विजयी भएको छ ।

प्रमुख पदमा दलहरुले पाएको मतलाई हेर्ने हो भने यहाँ राजविराज नगरपालिका जितेको जसपा नै अघि छ । उसले १५ हजार ३७५ मत पाएको छ । छिन्नमस्ता तथा महादेवा गाउँपालिकामा जितेको लोसपाले प्रमुखमा पाएको कुल मत १३ हजार ५४८ छ । तिलाठी कोइलाडी जितेको कांग्रेसले १३ हजार ३८५ मत पाएको छ । चारैवटा पालिका प्रमुखमा माओवादी केन्द्रलाई ७ हजार ७७६ मत आएको थियो ।

डा. राउतको जनमत पार्टीले सप्तरीका दुई पालिका प्रमुख जिते पनि ती पालिका उनले उम्मेदवारी घोषणा गरेको क्षेत्र नं. २ मा पर्दैनन् । उनको घर रहेको महादेवा गाउँपालिका वडा नं. २ को वडाध्यक्षमा भने जनमत पार्टीले जितेको छ ।

यो क्षेत्रका चारवटा पालिका प्रमुखमा जनमत पार्टीले ३ हजार २७१ मत प्राप्त गरेको थियो । स्थानीय तहको चुनावलाई आधार मान्दा राउत यहाँ कमजोर देखिन्छन् ।

चुनाव लड्ने तयारीमा उमेश र जयप्रकाश पनि

२०७४ मा उपेन्द्र यादवविरुद्ध चुनाव लडेका उमेश यादव र जयप्रकाश ठाकुर यस पटक पनि उम्मेदवारी दिने बताउँछन् । उमेश नेकपा माओवादी केन्द्रमै छन् भने २०७४ मा स्वतन्त्र लडेका ठाकुर लोकतान्त्रिक समाजवादी पार्टीमा छन् ।

‘पार्टीले आफूलाई नै टिकट दिनेमा विश्वस्त छु’ उमेश भन्छन्, ‘नेतृत्व समक्ष उम्मेदवार बन्ने चाहना राखिसकेको छु ।’ गठबन्धन भएर अरु कसैलाई टिकट दिएमा आफू पार्टीविरुद्ध नजाने उनी बताउँछन् ।

लोसपाका नेता ठाकुर पार्टीले आफूबाहेक कसैलाई उम्मेदवार नबनाउने बताउँछन् । यस पटक पार्टीले कसैसँग गठबन्धन नगर्ने भएकाले पार्टीको आधिकारिक उम्मेदवार आफू नै रहेको उनी बताउँछन् ।

यस्तो छ राउतको दाउ

पछिल्लो समयमा उपेन्द्र यादवविरुद्ध यस क्षेत्रमा असन्तुष्टि देखिएको छ । जितेर गएपछि फर्केर नआएको, विकासका काम नगरेको भन्दै असन्तुष्टि बढेको छ । यो असन्तुष्टिलाई हटाउन स्थानीय तह चुनवाको केहि दिनअघिसम्म उपेन्द्रले बिभिन्न योजनाको शिलान्यास गरेका थिए । तर पनि असन्तुष्टि कम भएको छैन् ।

जनताको असन्तुष्टिसँगै पार्टीभित्र पनि बिग्रहको स्थिति देखिएको छ । डा. बाबुराम भट्टराई समूह पार्टीबाट बाहिर निस्किएका छन् भने सप्तरी घर भएकी नेतृ रेणु यादव पार्टी नेतृत्वप्रति असन्तुष्ट देखिएकी छन् ।
अर्काेतर्फ २०७४ झैं यो क्षेत्रमा यस पटक अन्य दलभन्दा लोसपासँग गठबन्धनको सम्भावना न्यून छ । यहीं मौका देखेर डा. राउतले उम्मेदवारी दिने ‘मुड’ बनाएको उनी निकट श्रोत बताउँछन् ।

हुन त सप्तरी जिल्लामा जातिगत नारा पनि लाग्ने गर्छ चुनावमा । यादवबिरुद्ध अन्य जाति (जसलाई पचपनियाँ भनिन्छ)ले समूह बनाएर चुनावमा एकमत हुने गरेको विगतको निर्वाचनबाट देखिन्छ । यस्तो समूह बनेमा डा. राउतलाई पनि समस्या हुन सक्छ । कारण पचपनियाँबाट जयप्रकाश ठाकुरले पनि उम्मेदवारी दिने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?