
काठमाडौं । ४२ वर्षपछि काठमाडौं उपत्यकामा पुनः सेतोपंखे फ्यालफ्याले चरा देखिएको छ । चराविद् एवं पशुपन्छी फोटोग्राफरको टोलीले मंगलबार काठमाडौंको बिष्टगाउँ नजिकै मनोहरा खोलामा फ्यालफ्याले चरा देखेको हो ।
यो चरा सन् १९८० को सुरुवाततिर पहिलोपटक काठमाडौंमा देखिएको बताइन्छ । त्यसपछि एकैचोटि मंगलबार (२३ अगस्ट)मा ४२ वर्षपछि फ्यालफ्याले चरा देखिएको चराविद्हरुले बताएका छन् ।
यसअघि देखिएको विवरणमा आधिकाररिक व्यक्ति र मिति नतोकिएको हुँदा यो नै काठमाडौंमा उपत्यकामा फ्यालफ्याले चरा देखिएको पहिलो अभिलेख हुन सक्ने चराविद्को धारणा छ ।

बिरलै मात्र देखापर्ने यो चरा कहिलेकाहीं नेपालको बाटो हुँदै भारत र बंगलादेशका समुद्रीतटतिर जाने गर्छ । सन् १९८१ को मेमा पोखराको फेवातालमा एन क्राबेले नेपालकै लागि पहिलोचोटि यो चराको अभिलेख राखेका थिए ।
त्यसपछिका कालखण्डमा विभिन्न व्यक्तिले यसबारे अभिलेख राखेको पाइन्छ । त्यसपछि कोशीटप्पु, सुनसरीको मधुवन, चितवन राष्ट्रिय निकुञ्ज लगायतका स्थानमा पनि यो चरा भेटिएको उल्लेख छ । तर कतिपय अभिलेख पूर्ण नभएको हुँदा चराविद्हरुले उपयुक्त तथ्यांकका लागि आवश्यक अध्ययन र अनुसन्धान गर्नुपर्ने बताएका छन् ।

मनोहरा खोलामा पुगेको टोलीमा पन्छीविद्हरु सोम जीसी, जया भण्डारी, युविन श्रेष्ठ, कमल थापा, हेमबहादुर कटुवाल, विमल थापा तथा पशुपन्छी फोटोग्राफर दीपक बुढाथोकी थिए ।
प्रतिक्रिया 4