+
+

गठबन्धनको तगारो छिचोल्दै नवराजलाई दोस्रो जित निकाल्ने चुनौती

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २५ गते १६:५५

८ भदौ २०२० मा ललितपुरको गोदावरी–३ मा जन्मिएका नवराज सिलवालले कानुन र सामाजिक प्रशासनमा स्नातकोत्तर गरेका छन् ।

२०४० मा अनेरास्ववियुमा आवद्ध भए पनि प्रहरी सेवामा गएपछि उनको राजनीति हरायो । सेवाबाट बाहिरिएपछि २१ असोज २०७४ मा नेकपा (एमाले) प्रवेश गरेर त्यसपछिको दुई महिनामै ललितपुर–१ बाट प्रतिनिधिसभा सदस्य बन्ने चामत्कारिक सफलता हासिल गरे उनले ।

प्रहरी महानिरीक्षकका दावेदार तत्कालीन डीआईजी सिलवाल आफूलाई सरकारले आईजीपीमा बढुवा नगरेपछि सर्वोच्च अदालतसम्म पुगे । त्यहीक्रममा अदालतमा पेश गरेको कागजात कीर्ते गरेको अभियोगमा २०७४ मंसिरको प्रतिनिधिसभा निर्वाचनअघिको सरकारले सिलवाल विरुद्ध पक्राउ पुर्जी जारी गर्‍यो । प्रहरीले खोजी थालेपछि उनी झण्डै चार महिना फरार भए । पछि केपी शर्मा ओली नेतृत्वमा नेकपाको सरकार बनेपछि उनको मुद्दा महान्यायाधिवक्ताको कार्यालयले तामेलीमा राखेको थियो ।

जे होस्, प्रहरी नेतृत्वमा पुग्न असफल भएपछि त्यसको ‘क्षतिपूर्ति’ सिलवालले राजनीतिबाट पाए ।

त्यसबेला वाम गठबन्धनबाट लाभान्वित भएका उनले दोस्रो कार्यकालको प्रयासमा भने दुईवटा प्रतिकूलताको सामना गर्नुपर्ने देखिन्छ । एक, उनलाई २०७४ मा निर्वाचित हुन सघाएको नेकपा (माओवादी केन्द्र) अहिले नेपाली कांग्रेसका उम्मेदवार उदयशमशेर राणालाई जिताउने जोडबलमा छ ।

अर्को, पछिल्लो पाँच वर्ष सांसदका रूपमा उनको कमजोर भूमिका । स्थानीय मुद्दामा उनले यथोचित भूमिका खेल्न नसकेको मतदाताको गुनासो छ ।

यसको प्रतिवादमा सिलवाल भन्छन्, ‘मैले पाँच वर्ष जनप्रतिनिधि हुँदा पूर्वाधारको क्षेत्रमा जग बनाउने काम गरें । अब त्यसको आधारमा तीव्र गतिमा काम गर्नुपर्नेछ ।’

२०७४ मंसिरको प्रतिनिधिसभा निर्वाचनअघिको सरकारले सिलवाल विरुद्ध पक्राउ पुर्जी जारी गरी इन्टरपोलमा समेत सूचना जारी गरेपछि उनी करिब चार महिना भूमिगत भए ।

‘राज्यशक्तिको दुरुपयोग गर्दै मलाई सिध्याउन खोजियो । ममाथि विभिन्न आरोप लगाइएपछि केही समय मुद्दा–मामिलामा बित्यो’ सिलवाल भन्छन्, ‘तर, जनताले मलाई न्याय दिए । फेरि पनि मत दिनेछन् भन्ने विश्वास छ ।’

सत्ता गठबन्धनबाट हुने प्रतिकूलता चिर्न उनले एमाले सरकारले ललितपुरमा गरेको भनिएको पूर्वाधार विकासको फेहरिस्तको प्रचारप्रसार गरिरहेका छन् । गोदावरीमा निर्मित सभा हलदेखि विद्यालय पुनर्निर्माण, खानेपानी आयोजना र ग्रामीण सडकलाई उनले आफ्नो कार्यकाल र आफ्नै पहलमा आएको योजना भन्ने गरेका छन् ।

गोदावरी नगरपालिकासहित दक्षिण ललितपुरका तीन गाउँपालिका क्षेत्र नं. १ मा पर्छन् । करिब दुई तिहाइ मतदाता शहरी र बजार क्षेत्रमा बस्छन्, एक तिहाइ मतदाता दुर्गम दक्षिणी भेगमा छन् । भौगोलिक हिसाबले एक तिहाइ मतदाता रहेका क्षेत्रमा प्रचारप्रसार गर्न दुई तिहाइ समय खर्चनुपर्छ ।

यो प्रतिकूलता सबै उम्मेदवारलाई छ, तर सिलवालका लागि गत वैशाखको स्थानीय तह निर्वाचनमा एमालेले पाएको मत पनि अनुकूल छैन । यो क्षेत्रमा नेपाली कांग्रेसका वडाअध्यक्षहरूले २३ हजार ८५४, एमालेका वडाअध्यक्षहरूले १८ हजार ९९३, माओवादी केन्द्रले ६ हजार १३३ र राप्रपाले १ हजार ५७५ मत प्राप्त गरेका छन् ।

यो अंकगणित अनुसार गठबन्धनका उम्मेदवारसँग २९ हजार ९८७ र एमालेका सिलवालको भागमा १८ हजार ९९३ मत छ । सत्ता गठबन्धनको तगारो छिचोल्दै वाम गठबन्धनको बलमा हिजो प्राप्त विजयलाई निरन्तरता दिन सिलवाललाई निकै चुनौती हुने पछिल्लो भोटको यो आँकडाले देखाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?