
२० मंसिर, काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले भरतमोहन अधिकारी स्मृती फाउन्डेसनको आर्थिक सहयोगमा २ आर्थिक पत्रकारलाई पुरस्कृत गर्ने भएको छ ।
नाफिजले फाउण्डेसनको सहयोगमा ‘भरतमोहन अधिकारी–नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ र ‘भरतमोहन अधिकारी–नाफिज सहकारी पत्रकारिता पुरस्कार’ प्रदान गर्ने भएको हो ।
नाफिजका अध्यक्ष मोदनाथ ढकाल र फाउन्डेसनकी संस्थापक महासचिव लिमा अधिकारीले मंगलबार एक कार्यक्रमका बीच पुरस्कार प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरे ।
फाउण्डेसनकी संस्थापक महासचिव अधिकारी पूर्व अर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीकी पुत्री हुन् ।
फाउण्डेसनको सहयोगमा नाफिजले आर्थिक तथा सहकारी बिटमा कलम चलाउँदै आएका आर्थिक पत्रकारको वृत्ति विकास, क्षमता विस्तार र असल पत्रकारिता अभ्यासमा प्रोत्साहन पुर्याउने हेतुले पुरस्कार प्रदान गर्ने भएको छ ।
पुरस्कारले स्वस्थ तथा खोजमुलक आर्थिक पत्रकारितालाई प्रबर्द्धन गर्ने अपेक्षा गरेको नाफिजले जनाएको छ ।
२८ मंसिरमा हुने नाफिजको छैठौं महासभामा उक्त पुरस्कार वितरण गरिने नाफिजले जनाएको छ । पुरस्कार राशी ५०–५० हजार रुपैयाँ रहेको छ ।
पुरस्कार छनोटका लागि दुवै संस्थाबाट ३ जना प्रतिनिधि रहने गरी कार्यदल गठन हुने नाफिजले जनाएको छ ।
फाउन्डेसन र नाफिजबीच भविष्यमा यस्तै पुरस्कार प्रदान गर्न अक्षय कोष स्थापना गर्ने सहमति पनि भएको छ ।
प्रतिक्रिया 4