+
+

मरियम लेदरको फोहोर पानी सोझै सिर्सिया नदीमा

सुरेश बिडारी सुरेश बिडारी
२०७९ पुष ५ गते १९:५७

५ पुस, वीरगञ्ज । वीरगञ्जस्थित मरियम लेदर उद्योगले प्रशोधन नगरी फोहोर पानी सिर्सिया नदीमा खसाल्ने गरेको पाइएको छ । सिर्सिया नदी प्रदुषण नियन्त्रणका लागि नदी आसपासका उद्योग अनुगमन गर्ने क्रममा मरियम लेदरले बदमासी गर्ने गरेको पाइएको हो ।

वीरगञ्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमको संयोजकत्वमा गठित सिर्सिया नदी प्रदूषण नियन्त्रण समितिले मंगलबार तीन वटा उद्योगको अनुगमन गरेको थियो । नारायणी लेदर, मरियम लेदर र निम्बसको अनुगमन गर्दा मरियमले प्रदूषित पानी सोझै नदीमा खसाउने गरेको पाइएको समितिले जनाएको छ ।

समितिका सदस्य एवं पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले मरियमले उद्योगको फोहोर पानी प्रशोधन नगरी सिधै नदीमा खसाल्ने गरेको पाइएको बताए । उनले भने ‘मरियम लेदरले सिधै नदीमा फोहोर पानी खसाएको रहेछ, कारबाही किन नगर्ने ? भनेर पत्र पठाउन महानगरलाई आग्रह गरेका छौं ।’

वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका छाला, स्टिल, सिमेन्ट, डिस्टिलरी, टेक्सटायल, घ्यू, साबुन, औषधि उद्योगबाट निस्कने रसायन तथा विकार प्रशोधन नगरी सिर्सिया नदीमा खसाल्दा नदी प्रदूषित छ ।

नेपालका १४ वटा छाला उद्योगमध्ये १० वटा बारा–पर्सा औद्योगिक करिडोरमै छन् । सुरुमा छालालाई साबुनपानीले धोइन्छ, त्यसलाई फुलाउन चुना प्रयोग हुन्छ । छालामा हुने रौं र कालोपन हटाउन सलफ्युरिक एसिडसमेत हालिन्छ । यसरी छाला सफा गर्न प्रयोग गरिने सबै रसायन मानव स्वास्थ्यका लागि हानिकारक हुन्छन् । उद्योगले त्यही लेदो शुद्धीकरण नगरी नदीमा बिसर्जन गर्ने गरेको पाइएको हो ।

उद्योगबाट निस्केको फोहोर पानी प्रशोधन गरेर मात्रै नदीमा मिसाउनुपर्ने कानुनी व्यवस्था भए पनि यहाँका अधिकांश उद्योगहरुले सोझै दुर्गन्धित पानी नदीमा फाल्दै आएका छन् ।

मरियम लेदरले पानी प्रशोधन केन्द्र नै स्थापना नगरेको पाइएको महानगरका वातावरण निरीक्षक प्रदीप साहले जानकारी दिए । ‘नारायणी र निम्बसमा प्लान्ट रहेछ, तर मरियममा सानो खाल्डोमा पानी जम्मा गर्ने गरिएको रहेछ । १ हजार लिटर पानी पनि मुश्किलले अट्छ’, उनले भने, ‘उसले प्रशोधन नै नगरी सिधै नदीमा पानी खसाल्ने रहेछ ।’

अनुगमनका क्रममा देखिएको प्रदूषणको अवस्था मूल्यांकन गरेर प्रतिवेदन तयार गरी समितिमा पेस गर्ने र समितिको निर्णय अनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाउने साहले बताए ।

सिर्सिया नदी प्रदूषण नियन्त्रण समिति संयोजक एवं उपमेयर आलमले पहिलो चरणको अनुगमनमा सचेत गरिएको र सुधार नगरे कानुनी कारबाहीको बाटोमा जाने बताए ।

‘पहिलो चरणमा अनुगमन गर्दै समस्या देखिए सचेत गराउने गरेका छौं’, उनले भने, ‘तैपनि लापरबाही जारी राख्छन् भने ती उद्योगलाई हामी कानुनी कारवाहीको दायरामा ल्याउँछौ ।’

मेयर राजेशमान सिंह र उपमेयर आलमले सार्वजनिक जग्गा र पोखरीको संरक्षण गर्नुका साथै सिर्सिया नदीलाई पुरानै अवस्थामा फर्काउने घोषणा गरेर गत स्थानीय तह निर्वाचनमा मत मागेका थिए । उनीहरुले आफूहरुको प्रतिवद्धता अनुसार नदी प्रदूषणमुक्त बनाउन अभियान सुरु गरेको बताएका छन् ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?