+
+

दुर्गमका सर–मिस भन्छन्– गाउँमा मास्टर नै भेटिन्न !

विकास रोकामगर विकास रोकामगर
२०७९ पुष ९ गते १३:३७

९ पुस, पोखरा । झापाकी गुञ्जन लुइँटेल सन् २०१८ मा दुर्गम जिल्ला डोल्पामा पढाउन पुगिन् । पूर्वको समथर मैदानबाट हिमाली उचाइमा पुगेकी उनको एउटै उद्देश्य थियोे, ‘डोल्पाका सानासाना बालबालिकालाई शिक्षा दिने ।’

गुञ्जनले त्यहाँका विद्यालयमा शिक्षक नै भेटिनन् । ‘डोल्पामा म गएको सरकारी स्कुलमा टिचर भेट्नै पाइनँ । हुनुहुन्छ भन्ने सुनेंमात्रै,’ उनले भनिन्, ‘एकजना शिक्षक आउनु भयो केही समय बसेर फर्किहाल्नुभयो । भेट्नै पाइनँ । उहाँहरु पढाउन इच्छुक हुनुहुन्थेन जस्तो लाग्यो ।’

पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलको तेस्रो दिन भएको ‘दुर्गमका सर–मिस’ सत्रमा गुञ्जनले आफू दुर्गममा पढाउन पुग्दाको अनुभव बाँडिन् । शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहालले सहजीकरण गरेको उक्त सत्रमा वक्ताका रुपमा गुञ्जनसँगै मोइन उद्दिन र मिङ्मा तेञ्जिङ केसी सहभागी थिए ।

एक सामाजिक संस्थामार्फत डोल्पामै पढाउन पुगेका मोइन उद्दिनले पनि त्यही परिस्थिति भोगे । शिक्षकहरु सदरमुकामसम्म पुग्ने तर, विद्यार्थीसम्म कहिल्यै नपुग्ने आफैंले अनुभव गरेर फर्किए । ‘एउटा शैक्षिक वर्षमा त्यहाँ पढाइ हुने भनेको ७ महिना नै हो । तर, उहाँहरु सदरमुकाममै बसेर हाजिर गरेर तलब लिएर जाने धेरै देखें’, उनले भने, ‘विद्यार्थीसम्म पुगेको भेटिनँ ।’

काठमाडौंको निजी विद्यालयमा पढेका मिङ्मा तेञ्जिङ केसी पनि सन् २०१८ मा पहिलोपल्ट टिच फर नेपालबाट सिन्धुपाल्चोक पढाउन गएका थिए । संघीय राजधानी काठमाडौंबाट दुर्गमको भोटेनाम्लाङ गाउँमा पढाउन पुगेका उनले सोचेको भन्दा फरक देखे । भोटेनाम्लाङमा न काठमाडौंमा देखेकोजस्तो शिक्षक थिए न विद्यार्थी नै । ‘त्यहाँका विद्यार्थी कोही चप्पलमा आउने, नांगै आइदिने, भाइबहिनी बोकेर आउने भेटिए । कोही कोही त गाईबाख्रा चराएर बस्थे ।’

राम्रो गर्ने प्रयास गर्दागर्दै पनि पनि असफल बनेका ‘मास्टर’ पनि उनले त्यहीं भेटे । ‘केही टिचरहरु प्रयास त गर्नुहुन्थ्यो । तर, आफ्नै गाउँठाउँ र समाज भएकाले उहाँहरुको आफ्नै बाध्यता पनि थियो’, उनले सुनाए, ‘त्यो अनुभव त्यो सिटीमा हुन्थेन ।’

सुरुमा अंग्रेजी शिक्षक भएर सिन्धुपाल्चोक पुगेका तेञ्जिङ त्यहाँको आवश्यकता केवल शिक्षकमात्रै नभएको बुझे । ‘त्यहाँ मैले अंग्रेजीबाहेक धेरै संगीत, खेलकुद पनि सिकाएँ । त्यहाँका महिलाहरुलाई फुटबल सिकाएँ । टुर्नामेन्ट पनि गर्न सफल भएँ’, तेञ्जिङले भने, ‘पहिलो पटक केटीहरुमात्रै खेल्न बाहिर जान पाए ।’

पहिलोपटक सिन्धुपाल्चोकमा स्वयंसेवक शिक्षकका रुपमा गए पनि त्यहाँको शैक्षिक अवस्था हेरेर आफूले पनि पढाउन थालेको बताउँछन्, मोइन उद्दिन । सपनाविहीन विद्यार्थीलाई शिक्षासँगै सपनाको जग बसाल्न पनि आफूले पढाउन सुरु गरेको उनको भनाइ छ ।

‘सिन्धुलाल्चोलक टिचर हुन गएको होइन । तर, त्यहाँ गइसकेपछि बालबालिकासँग माया बस्यो,’ आफूले स्वयंसेवक शिक्षण सुरु गर्दाताकाका सुरुआती दिन सम्झिए, ‘त्यहाँका विद्यार्थीलाई सपना देखाउन सकिन्छ । सपना देखाउनमात्रै पूरा गराउन पनि सकिन्छ भन्ने थाहा पाएँ ।’

उनले दुर्गमका बालबालिकाको सपना साकार पार्न सकिन्छ भन्ने उदाहरण प्रयोगात्मक रुपमै देखाउन काठमाडौंका विभिन्न ठाउँमा ‘एक्स्पोजर ट्रिप’ गरेको सुनाए । त्यतिबेला उनले काठमाडौंका बैंक, मिडिया, अस्पताल, थियटर सबैमा सानासाना विद्यार्थीलाई प्रत्यक्ष अवलोकन गराए । मोइन भन्छन्, ‘भविष्य केके छ, कसरी सफल भइन्छ भनेर रियल मान्छेलाई नै भेटाएँ । त्यो एकदमै सफल भएको थियो ।’

स्वयंसेवी शिक्षिकाका रुपमा नेपालका कुनाकन्दरामा पुग्दापुग्दै गुञ्जनले गुञ्जन मिसको परिचय बनाएकी छन् । उनले नेपालका थुप्रै जिल्लामा पढाउन पुगे पनि आफूलाई ‘कर्णालीकी गुञ्जन मिस’कै रुपमा बढी चिनिएको सुनाइन् । ‘पढाउन गएको माया गर्न सिकेर आएँ । समाज, भूगोल र संस्कृति आफैंले सिक्न पाएँ’, उनी भन्छिन् ।
शिक्षक बन्नै अनिच्छुक !

गएको भदौमा शिक्षक सेवा आयोगले माध्यमिक तहमा १५ सय जना शिक्षक माग गर्दै विज्ञापन ग¥यो । तर, उक्त परीक्षामा करिब ११ सय जनामात्रै उत्तीर्ण हुन सके । बाँकीले न्यूनतम अंक पनि पूरा गर्नै सकेनन् । खोलिएको विज्ञापनमा पनि ४ सय जना फेरि रिक्त हुन पुग्यो ।

यसबाट नेपालमा शिक्षण पेशाप्रति विस्तारै वितृष्णा र अरुची बढ्दै गएको देखिएको सत्र सहजीकरण गरिहेका शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहालको टिप्पणी छ । उनी भन्छन्, ‘अहिले शिक्षकको खाँचो एकदमै चर्को रुपमा गएको छ । तर, त्यसको अनुपातमा शिक्षण पेशामा आउने नयाँ पुस्ता एकदमै कम हुँदै पनि गएको छ ।’
‘शिक्षक सेवा आयोगमा निकालेकाहरु पनि लोकसेवामा खरदार नासुमा गइरहेको भेटिएका छन् । टिचिङ धेरैको सोचाइमा छैन । नयाँ पुस्तालाई शिक्षणमा कसरी आकर्षित गर्ने ?’ दाहाल प्रश्न गर्छन् ।

तीनवटै वक्ताको एकै उत्तर थियो, ‘शिक्षण पेशालाई मर्यादित र सम्मानित बनाउन सरकारी नीतिगत तहबाटै सुधार हुनुपर्छ । प्रधानाध्यापक, स्थानीय तह र अभिभावक पनि उत्तिकै जिम्मेवार हुनुपर्छ ।’

कुनै एउटा शिक्षकले विद्यार्थीको चाहना र मनोविज्ञानलाई अध्ययन गरेर पढाउन सकेमात्रै उक्त सिकाइ सफल हुने मोइनको विचार छ । ‘शिक्षक समाज बुझेको हुनुपर्छ र आफूले भोगेका अनुभव बाँड्न सक्ने हुनुपर्छ । ५ वटा औंला त समान छैनन्, विद्यार्थीको रुचि पनि एउटै छैन भन्ने बुझ्नुपर्छ’, उनी भन्छन्, ‘एउटा टिचरले विद्यार्थीको इन्ट्रेस्ट थाहा हुनुपर्छ ।’

विद्यार्थीलाई उच्च शिक्षा पछिमात्रै इन्टर्नसिप गराउने चलन रहेकाले अब ६ कक्षाबाट उक्त अभ्यास थाल्नुपर्ने मोइनको सुझाव छ । साहित्यदेखि खेलकुद, व्यापार, व्यवसायमा सानैदेखि इन्टर्नसिप गराएमा उनीहरुले आफ्नो रुचि पहिचान गर्न सिक्ने र भविष्यमा के बन्नेबारे उनीहरु आफैंले थाहा पाउन सक्ने उनको भनाइ थियो ।

सबै विद्यार्थीलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमै ‘एक्स्पोजर ट्रिप’मा लैजान सके उक्त सिकाइ प्रभावकारी हुने उनको विचार छ । उनले आफूले पढाएका ठाउँमा यो उपाय धेरै प्रभावकारी देखिएकाले पनि समाज बुझ्न धेरै काम लागेको सुनाए ।

‘अर्को कुरा अब तराईको विद्यार्थी हिमालमा, हिमालको विद्यार्थी तराईमा गएर पढोस् भन्ने चाहन्छु,’ मोइनले अबको आफ्नो सपना सुनाए, ‘कम्तीमा साना विद्यार्थीले जीवन जगत, समाज, कल्चर बुझ्न पाउनुहुन्छ । भेदभाव पनि कम हुन्थ्यो । यसरी कुराकानी गर्दा सबै एउटै मान्छे रहेछ भन्ने उनीहरु महसुुस गर्न पाउँछन् ।’

लेखकको बारेमा
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?