+
+

के विद्यार्थी राजनीतिले आफ्नो औचित्य पुष्टि गर्ने बेला भएको हो ?

विद्यार्थी संगठन पार्टीभित्रकै प्रतिपक्ष हुनुपर्ने हो, तर पनि आफ्नै दलका नेताहरूको चाकडी र चाप्लुसी गरेर नेता बन्ने अभ्यास बढिरहेको छ। त्यसैले अहिलेको विद्यार्थी राजनीतिले खास गर्नुपर्ने कुनै कार्यमा आफ्नो उपस्थिति देखाएको छैन।

मन्दिप भट्टराई मन्दिप भट्टराई
२०७९ माघ ५ गते ११:४२

लोकतन्त्रको दृष्टिले हेर्दा हाम्रा केहीअघिका दिनहरू निश्चय नै सुन्दर थिएनन्— पञ्चायती कालरात्रि, राजाको निरङ्कुश शासन प्रणाली र माओवादी आन्दोलन। यद्यपि नेपालको विद्यार्थी आन्दोलन कहिले क्रान्तिकारी र कहिले रचनात्मक ढंगले जहिल्यै सक्रिय रहिनै रह्यो।

आजको परिदृश्य भने फरक छ। आज विद्यार्थी राजनीतिप्रति आम विद्यार्थीका अनेकन् गुनासा र प्रश्न छन्। समग्र विद्यार्थी राजनीतिको अहिलेको अवस्था हामीले सोचे जस्तो र खोजे जस्तो छैन। यसैबीच त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण परिषद्ले आगामी चैत ५ गतेका निम्ति स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन मिति घोषणा गरेको छ। यसले विद्यार्थी संघ-संगठनहरूलाई निश्चय नै जागरुक र गतिशील बनाउने नै छ। यही सन्दर्भमा विद्यार्थी राजनीतिको वर्तमान अवस्थाको निर्मम समीक्षा अब पनि नगर्ने हो भने साँच्चै नै ढिला हुन्छ भनेर यो बहस सुरु गरेको छु।

विद्यार्थी राजनीतिको ओझ
नेपालको विद्यार्थी राजनीतिको ओझ अत्यन्तै गहकिलो र गर्विलो छ। जयतु संस्कृतम्बाट सुरु भएको विद्यार्थी आन्दोलन अनेकन् ढंगले देशको अवस्था परिवर्तनको संवाहक भयो। नेपाल विद्यार्थी संघ र अनेरास्ववियु स्थापना भएपछि संगठित रूपमा नै विद्यार्थी राजनीति अगाडि बढ्यो। यसले देशमा भएका विभिन्न समयका व्यवस्था परिवर्तनका मुद्दामा आफूलाई सबैभन्दा अगाडि उभ्यायो। विद्यार्थी राजनीतिबाट मुख्य राजनीतिमा प्रवेश गरेका नेताहरू नेपाली राजनीतिको संस्थापन बनिसकेका छन्। नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवा कुनै समय नेपाल विद्यार्थी संघको सभापति थिए। त्यसैगरी नेकपा एमालेका धेरै नेता शंकर पोखरेल, योगेश भट्टराई लगायत अनेरास्ववियुको केन्द्रीय अध्यक्ष हुँदै पार्टीको मूलधारको राजनीतिमा स्थापित हुनसके। आज नेपालका सबैजसो मुख्य दलका नेताहरूको आफ्नो पार्टीको विद्यार्थी संगठनमा काम गरेको गर्विलो विगत छ।

विद्यार्थी आन्दोलनबाट बनेका नेताहरूले समयको आवाज बोले। २०३६ सालको जनमत संग्रहको निम्ति वातावरण बनाउन विद्यार्थी आन्दोलन महत्वपूर्ण थियो। सँगै २०४६ सालको परिवर्तन साथै २०६२/६३ को दोस्रो जनआन्दोलनमा विद्यार्थीको महत्वपूर्ण भूमिका थियो। हाम्रो पुस्ताले प्रत्यक्ष सहभागिता जनाएको २०६२/६३ को जनआन्दोलनका दौरान केन्द्रदेखि जिल्लासम्मका विद्यार्थी नेताहरू घोषित, अर्धघोषित र अघोषित नजरबन्दमा राखिएको थियो। त्यति मात्र होइन गगन थापा, रामकुमारी झाँक्री जस्ता विद्यार्थी नेतालाई राजनीतिको मूलधारमा स्थापित हुने अवसर समेत बन्यो त्यो आन्दोलन। विद्यार्थी नेता तथा कार्यकर्ताहरूका सहभागिताले आन्दोलनलाई निचोडमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेको हामी सम्झन्छौं। पंचायतको कालरात्रिसँग विद्यार्थी आन्दोलन डगमगाएन। ज्ञानेन्द्रको निरंकुश शासन विचलित भएन। त्यसैले हामी भन्न सक्छौं- हाम्रा विद्यार्थी संगठनका दिनहरू अभूतपूर्व थिए।

विद्यार्थी राजनीतिका मुद्दा
विद्यार्थी राजनीतिको संरचनाका आधारमा क्याम्पसभित्रका र दूरगामी प्रकृतिका दुई प्रकारका मुद्दा छन्। सबैजसो सामुदायिक तथा आंगिक क्याम्पसहरूमा विद्यार्थी संगठनका इकाइ छन्। ती क्याम्पसहरूमा विद्यार्थीका प्रशस्त गुनासो र समस्या छन् जसलाई त्यही तहका संरचनाहरूले घनीभूत रूपमा बहसमा ल्याउन सकेका छैनन्। समाधान दिनसकेका छैनन्। क्याम्पसको शौचालयको ढोकामा चुकुल छैन। धारामा पानी आउँदैन। पुस्तकालयमा प्रशस्त पुस्तक छैनन्। छात्रवृत्ति वितरणमा मनोमानी छ। यस्ता समस्या क्याम्पसभित्र प्रशस्त छन्। क्याम्पसको हाताभित्र देखिने गरी कसले झण्डा ठड्याउने भनेर एकआपसमा झगडा गर्न पछि नपर्ने संगठनहरू क्याम्पसभित्रका समस्यामा बेखबर देखिन्छन्।

मन्दिप भट्टराई

राजनैतिक दलभित्रका शक्ति संघर्ष, अस्थिर राजनैतिक प्रणाली आदि कारणले हाम्रा राजनीतिक दलहरूका प्राथमिकताका क्षेत्रमा शिक्षा परेको छैन। राजनीतिक दलहरूले सबै मुद्दा उठाउन नसक्ने अवस्थामा भ्रातृ संगठनहरू चाहिन्छन्। पंचायती शासनको दौरान दलका नेताहरू भूमिगत रूपमा रहनुपर्ने र देश बाहिर निर्वासनमा जानुपर्ने अनेकन् कारणले उनीहरूका आफ्ना सीमा पनि छन्। यहींनेर विद्यार्थी आन्दोलनको अपरिहार्यता रहने हो।

यद्यपि विद्यार्थी संघ–संगठनले अहिले मुद्दाको पैरवी गरेका भने छैनन्। विद्यार्थी नेताहरूले बोक्नुपर्ने अनेकन् दूरगामी महत्वका मुद्दा छन्। नेपालको शिक्षा नीति, युग सुहाउँदो जनशक्ति उत्पादन, विश्वविद्यालय पुनर्संरचना, पाठ्यक्रम पुनर्संरचना विद्यार्थी आन्दोलनले अहिले उठाउनुपर्ने मुद्दा हुन्। आज राज्य पुनर्संरचना भएको छ। देशमा स्थानीय, प्रदेश र संघीय सरकार छन्। देशको भूगोल सातवटा प्रदेशका रूपमा प्रशासनिक एकाइमा विभाजन गरिएको छ। यस्तो अवस्थामा विभिन्न भाषा, क्षेत्र, समुदाय समेट्ने र नयाँ संरचना अनुसारको विद्यार्थी संगठनका शिक्षा सम्बन्धी नीति तथा दृष्टिकोण कस्तो हुनुपर्ने भन्ने कतै बहस छैन।

त्यति मात्र होइन नेपालका विश्वविद्यालयमा भ्रष्टाचार व्याप्त छ। विश्वविद्यालयका भौतिक संरचनाहरूको स्थिति राम्रो छैन। ढिलासुस्ती छ। केही विश्वविद्यालयले परीक्षा सकिएको २८ महिनामा पनि नतिजा प्रकाशन गर्न सक्दैनन्। यी अनेकन् पक्षमा विद्यार्थी आन्दोलन खरो उत्रिनु जरुरी छ।

आजको विद्यार्थी आन्दोलन
नेपालको विद्यार्थी आन्दोलनको ओझ र गरिमा गौरवपूर्ण छ। त्यसैगरी उनीहरूसँग उठाउनुपर्ने अनेकन् मुद्दा समेत छन्। आज त्यो ओझ र गरिमा राखिराख्न विभिन्न दलका भ्रातृ संगठनहरू सशक्त देखिएका भने छैनन्। आज मुख्य दलका विद्यार्थी संगठनहरू आफ्ना मुद्दामा केन्द्रित त छैनन् नै सांगठनिक रूपमा समेत कमजोर देखिएका छन्। विद्यार्थी संगठनभित्र पार्टीको हस्तक्षेप अत्यधिक छ। आफूलाई लोकतान्त्रिक दलको रूपमा उभ्याएको नेपाली कांग्रेसको भ्रातृ संगठनले विगत सात वर्षदेखि महाधिवेशनमार्फत नेतृत्व चयन गर्न नसकेको मात्र छैन नेपाल विद्यार्थी संघको वर्तमान केन्द्रीय समिति नै एक सदस्यीय छ। यो विद्यार्थी राजनीतिकै विडम्बना हो।

अर्को विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) को अधिवेशन भयो तर माओवादी केन्द्रका नेताहरूको प्रत्यक्ष हस्तक्षेपबाट मुक्त नरहेको स्वयम् अनेरास्ववियु (क्रान्तिकारी) का नेताहरू बताउँछन्। त्यसैगरी एमाले समर्थित अनेरास्ववियुको समेत महाधिवेशनबाट चयन भएको नेतृत्व छैन। विद्यार्थी संगठन पार्टीभित्रकै प्रतिपक्ष हुनुपर्ने हो, तर पनि आफ्नै दलका नेताहरूको चाकडी र चाप्लुसी गरेर नेता बन्ने अभ्यास बढिरहेको छ। त्यसैले अहिलेको विद्यार्थी राजनीतिले खास गर्नुपर्ने कुनै कार्यमा आफ्नो उपस्थिति देखाएको छैन। नेताहरूको चाप्लुसीबाटै केन्द्रमा पुग्ने, समयमा महाधिवेशन समेत नहुने र भएका महाधिवेशनमा नेतृत्व चयनले मात्र प्राथमिकता पाउने, राजनैतिक तथा वैचारिक बहसले प्राथमिकता नपाउँदा महाधिवेशनहरू कर्मकाण्डी प्रकृतिको मात्र भएका छन्।

विद्यार्थी राजनीतिले गति नसमातेको मात्र होइन, विचलित पनि छ। विद्यार्थी नेता हुँदा आवश्यकता भन्दा बढी अराजक हुन पाइन्छ भन्ने मनस्थिति पनि कहींकतै देखिएको समेत छ। विश्वविद्यालयमा विद्यार्थी संगठनका नेताहरूबाट प्राध्यापक कुटिएका छन्। विद्यार्थीका सभा–समारोहमा कुर्सी हानाहानको अवस्था छ। पार्टी कार्यालयभित्र फरक-फरक गुटका विद्यार्थीको कुटाकुट छ।

गोविन्द केसीले उठाएको स्वास्थ्य क्षेत्र सुधारको कुरा खास विद्यार्थी संगठनको माग हुनुपर्थ्यो। विद्यार्थी संगठनले चिन्न नसक्दा यो डा. केसीको मुद्दा बन्न पुग्यो र डा. तोसिमा कार्कीहरू कलेजमा कुनै राजनीतिक दलको झण्डा नबोकी राजनीतिको मूलधारमा स्थापित हुँदैछन्।

त्यति मात्र होइन माउ पार्टीको उत्कृष्ट कार्य सम्पादन नहुँदा त्यसको असर भ्रातृ संगठनमा परेको छ। विद्यार्थी संगठनहरू माउ पार्टीका गलत प्रवृत्तिलाई रोक्ने भन्दा पनि छोप्ने ढंगले अघि बढिरहेका छन्। पार्टी भित्र र बाहिर सदैव प्रतिपक्षको भूमिकामा रहनुपर्ने यी संगठन र यिनका नेताहरू दिग्भ्रमित देखिन्छन्। त्यसैले पनि अहिलेको नयाँ पुस्ता देशका मूलधारका पार्टीको विद्यार्थी राजनीतिमा रहने भन्दा पनि नयाँ दलहरूतिर आकर्षित हुने अवस्था देखापरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको उपस्थिति त्यसैको परिणाम समेत हो। त्यसैले माउ पार्टीको हरेक कुराको प्रतिरक्षामा उत्रिने भन्दा पनि मुद्दाकेन्द्रित हुने र मुद्दा चिन्ने हुनु जरुरी छ। गोविन्द केसीले उठाएको स्वास्थ्य क्षेत्र सुधारको कुरा खास विद्यार्थी संगठनहरूको माग हुनुपर्थ्यो। विद्यार्थी संगठनले चिन्न नसक्दा यो डा. केसीको मुद्दा बन्न पुग्यो र डा. तोसिमा कार्कीहरू कलेजमा कुनै राजनीतिक दलको झण्डा नबोकी राजनीतिको मूलधारमा स्थापित हुँदैछन्।

अब के ?
अबको विद्यार्थी राजनीति कस्तो हुने भन्ने कुरा गर्नुअघि चिलको बहुचर्चित कथाका बारे चर्चा गरौं। चिल आफ्नो प्रजातिमा लामो आयु बाँच्ने चराको रूपमा लिइन्छ। चिलको आयु ७० वर्षको हुन्छ। आफ्नो आयुको आधातिर आइपुग्दा चिलका खुट्टाहरू घुम्न थाल्छन् जसका कारण उसले केही समाउन सक्दैन। उसको चुच्चो घुम्न थाल्छ जसका कारण चुच्चोले ठुग्न सक्दैन। शिकार गर्न सक्दैन। खान सक्दैन। उसका पखेटाहरू बाक्ला र लामा हुन थाल्छन् जसले गर्दा ऊ माथि माथि उड्न सक्दैन। यसर्थ अब ऊ भोकले गर्दा कि मर्ने कि बाँच्न संघर्ष गर्ने भन्ने अवस्थामा पुग्छ। त्यसपछि चिल पहाडको ठूलो ढुंगामा जान्छ। त्यस ढुंगामा आफ्नो चुच्चो ठोक्काउन थाल्छ। उसको चुच्चो फेरि तिखो हुन्छ त्यसपछि उसले आफ्नो पखेटा आफैं निकाल्न थाल्छ। शरीर रगताम्य बनाउँछ र आफूमा पुनर्ताजगी ल्याउँछ। फेरि पहिला जस्तो उड्न थाल्छ। शिकार गर्छ। आफ्ना आवश्यकताहरू पूरा गर्न थाल्छ।

कथामा भने जस्तै हाम्रो विद्यार्थी आन्दोलन अहिले सकिने कि रुपान्तरित हुने दोबाटोमा पुगेको छ। आज भ्रातृ संगठन विघटनको बहस सुरु भएको छ। यसको मुख्य कारण विद्यार्थी संगठनको कामगराइ नै हो। यसका निम्ति माउ पार्टी र विद्यार्थी नेता तथा कार्यकर्ताहरू सबै जागरुक हुन जरुरी छ। सबै तह र तप्काले आ-आफ्नो ठाउँबाट पहलकदमी नलिने हो भने अब विद्यार्थी राजनीतिको भविष्य देखिंदैन। विद्यार्थी राजनीतिको मूल काम मुद्दाहरू उठाउने नै हो।

हाम्रा मुद्दाहरू लामो समयदेखि जहाँका तहीं छन्। त्यसैले ती मुद्दाहरू उठाउन नसक्ने हो भने हामीले यो आन्दोलनलाई विसर्जनको बाटोमा लैजान्छौं। माउ पार्टीको हरेक निर्णयको प्रतिरक्षा गर्ने भन्दा पनि सही र गलत छुट्याई पार्टीभित्रको समेत प्रतिपक्षको रूपमा आफूलाई स्थापित गर्नुपर्दछ। फरक ढंगले एउटा सार्वभौम सत्ता सम्पन्न संगठनको हैसियत देखाउनु यी संघ–संगठनको आजको चुनौती हो।

अन्त्यमा, आफ्ना मुद्दाहरूमा खरो, गतिशील, आफ्नो माउ पार्टीलाई खबरदारी गराउने साथै वैचारिक रूपमा खारिएको क्रान्तिकारी विद्यार्थी संगठन आजको आवश्यकता हो। आफूमा सचेतना, विद्रोह र क्रान्तिकारिताको चेत अब पनि विकास नगर्ने हो भने यी संगठनप्रति आम जनताले र आम विद्यार्थीले राखेको विश्वासको बाँकी रहेको सानो त्यान्द्रो चुँडिन धेरै समय लाग्दैन। यी कुराहरूलाई मध्यनजर राख्दै अघि बढेमा मात्र विद्यार्थी संगठनले आफ्नो औचित्य पुन: पुष्टि गर्न सक्छन्। अन्यथा इतिहासलाई भजाएर केही दिन त दृश्यमा रहिएला तर आफैं केही नगर्ने हो भने यसले लामो समयसम्म राजनीतिमा टिकिराख्न भने गाह्रो हुने नै छ। त्यसैले अब आ-आफ्नो उपस्थितिलाई प्रमाणित गराउने चुनौतीसामु खरो उत्रिनु विद्यार्थी संगठनहरूको प्रमुख कार्यभार हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?