+
+

पद्मकन्यामा नेविसंघको विरासत तोड्न दुई अखिल एक ठाउँमा

नुनुता राई नुनुता राई
२०७९ चैत १ गते १७:५६
सभापतिका उम्मेदवारहरू ज्योति पनेरु, तिर्सना आलेमगर र प्रजिना दर्नाल ।

३० फागुन, काठमाडौं । मंगलबार काठमाडौं बागबजारस्थित पद्मकन्या क्याम्पस (पीके) मा पुग्दा प्रांगणमा धेरै पुरुषहरु देखिए । छात्राहरु मात्र अध्ययन गर्ने यो क्याम्पसमा केही अध्यापक पुरुष भए पनि क्याम्पस प्रांगणमा ओहोर दोहोर गर्नेहरु विभिन्न विद्यार्थी संगठनका नेता थिए ।

उनीहरु ५ चैतमा हुने स्ववियु चुनावका लागि आफ्ना संगठनका विद्यार्थीलाई सहयोग गर्न पद्मकन्यामा पुगेका हुन् । नियमित पढाइ भइरहेकाले विद्यार्थी नेताहरुले अध्यापकहरु निस्कनासाथ कक्षामा प्रवेश गरेर मत माग्ने गरिरहेका थिए ।

पद्मकन्या क्याम्पसलाई नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघको बलियो आधार क्षेत्र मानिन्छ । किनकी हालसम्मका १४ स्ववियु सभापतिमध्ये एक जनामात्र नेविसंघ भन्दा बाहिरबाट छन् । पद्मकन्या क्याम्पस (पीके) को विद्यार्थी राजनीति गरेका मीना पाण्डे, शशी श्रेष्ठ, महालक्ष्मी उपाध्याय ‘डिना’, कमला पन्त केन्द्रीय राजनीतिमा सक्रिय छन् ।

२०३६ सालमा पहिलो स्ववियु सभापति नेविसंघकी मीना पाण्डे बनिन् । २०३८ सालमा स्ववियु सभापति निर्वाचित तत्कालीन जनमोर्चाको विद्यार्थी संगठन अखिल छैटौंकी शशी श्रेष्ठ मात्र नेविसंघ बाहिरकी हुन् । त्यसपछिका १२ वटा निर्वाचनमा (२०६५) सम्म निरन्तर नेविसंघले जित्दै आएको छ ।

५ चैतमा हुने स्ववियु चुनावमा नेविसंघ, एमालेको अनेरास्ववियु र माओवादीको अखिल क्रान्तिकारीको संयुक्त र विप्लव नेतृत्वको पार्टीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) गरी तीनवटा प्यानल प्रतिस्पर्धामा छन् । सभापतिमा नेविसंघबाट ज्योति पनेरु, अनेरास्ववियु र अखिल क्रान्तिकारीको तालमेलबाट अखिल क्रान्तिकारीकी तिर्सना आलेमगर र विप्लव निकटको अखिल क्रान्तिकारीकी प्रजिना दर्नाल उम्मेदवार छन् ।

तीनवटै प्यानलले करिब उस्तैउस्तै चुनावी एजेण्डा बोकेका छन् । विद्यार्थीको सहज पहुँचमा स्यानिटरी प्याड, छात्राबास व्यवस्थित बनाउने र शुल्क घटाउने, त्रैमासिक परीक्षा गराउने, कक्षाकोठा प्रविधिमैत्री बनाउने, क्याम्पसको शैक्षिक, प्रशासनिक, भौतिक संरचनाको सुधार गर्ने लगायतका बुँदाहरु तीनवटै प्यानलका समान देखिन्छ ।

लामो समय स्ववियु निर्वाचन नहुँदा स्ववियु चुनावको आवश्यकता र महत्वबारे धेरै विद्यार्थी बेखबर भएको उम्मेदवारहरु सुनाउँछन् । विद्यार्थीसँग मत माग्न जाँदा सुरुमा स्वतन्त्र विद्यार्थी युनियन के हो, किन चुनाव हुनुपर्छ भन्नेबारे जानकारी गराउनुपरेको उनीहरुको अनुभव छ ।

क्याम्पसमा करिब पाँच हजार ५ सय मतदाता विद्यार्थी छन् तर चार हजार भन्दा कम मत खस्ने उम्मेदवारहरुको आकलन छ । त्यसले गर्दा १ हजार २ सय मत ल्याएमा जित्ने विद्यार्थी नेताहरु अनुमान गर्छन् ।

दलीय राजनीतिप्रति कतिपय विद्यार्थीमा नैराश्य देखिए पनि विद्यार्थीहरुले राजनीति गर्नुपर्ने कारणबारे बताउनुपरेको उम्मेदवारहरु बताउँछन् ।

नेविसंघलाई विरासत जोगाउने चुनौती

नेविसंघकोे १९ बुँदे प्रतिबद्धतापत्र सहित मत मागिरहेकी ज्योति पनेरु सकारात्मक प्रतिक्रिया पाइरहेको बताउँछिन् । समाजशास्त्रमा स्नातकोत्तर गरिरहेकी डडेलधुराकी ज्योति छात्राबास तथा क्याम्पसको समस्या समाधान गर्ने क्षमता आफूहरुसँग मात्र रहेको दाबी गर्छिन् ।

‘हाम्रो नेतृत्वको स्ववियु क्याम्पसको समस्या समाधानको पहल मात्रै होइन समाधान गराएर छोड्ने क्षमता राख्छ’, उनी भन्छिन् । क्याम्पसमा स्यानिटरी प्याड भेन्डिङ मेसिन एक ठाउँमा मात्रै रहेको र केही कर्मचारीले मात्र वितरण गर्ने हुनाले धेरै विद्यार्थीको पहुँचमा नभएको ज्योति बताउँछिन् ।

त्यसैले सबै विभागमा भेण्डिङ मेसिन राख्ने, निशुल्क ई–लाइब्रेरीको व्यवस्था गर्ने, छात्राबासको शुल्क कम गर्ने, अध्ययन पश्चात सबैलाई रोजगारी सुनिश्चित गर्न पहल गर्ने, अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग विद्यार्थी साट्ने लगायतको प्रतिबद्धताले विद्यार्थीहरु नेविसंघतिर आकर्षित भएको उनको भनाइ छ । ‘हाम्रो प्रतिबद्धताहरु वास्तविक र समाधान गर्न सकिने किसिमको भएकाले विद्यार्थी कन्भिन्स भइरहनुभएको छ । हामी जित्छौं’, ज्योतिले भनिन् ।

क्याम्पसमा करिब पाँच हजार ५ सय मतदाता विद्यार्थी छन् तर चार हजार भन्दा कम मत खस्ने उम्मेदवारहरुको आकलन छ । त्यसले गर्दा १ हजार २ सय मत ल्याएमा जित्ने विद्यार्थी नेताहरु अनुमान गर्छन् ।

नेविसंघको विरासत तोड्न अखिल तालमेल

अनेरास्ववियु र अखिल क्रान्तिकारीको साझा प्यानलको अध्यक्ष उम्मेदवार तिर्सना आले भने यसपटक नेविसंघको जितको निरन्तरतामा ब्रेक लाग्ने दाबी गर्छिन् । मनोविज्ञानमा स्नातकोत्तर गरिरहेकी तिर्सना २२ बुँदे प्रतिबद्धता पत्र बोकेर दुबै संगठनको विद्यार्थीको साथमा मतदाता विद्यार्थी भेटिरहेकी छन् ।

क्याम्पसलाई पहिलो महिला विश्वविद्यालय बनाउन पहल गर्ने, स्नातक तथा स्नातकोत्तर तहका अंग्रेजी बाहेक सबै विषयको प्रश्नपत्र अंग्रेजी र नेपाली दुबै भाषामा छाप्न पहल गर्ने, त्रैमासिक रुपमा परीक्षा सञ्चालन गर्ने, शिशु स्याहार केन्द्र पुनः सञ्चालनमा ल्याउने लगायतको प्रतिवद्धता संयुक्त प्यानलको छ ।

शिशु स्याहार केन्द्र पुनः सञ्चालनमा ल्याउन सके आमा विद्यार्थी र शिक्षकलाई राहत हुने तिर्सनाको तर्क छ । ‘आमा भएपछि काम अथवा पढाइलाई निरन्तरता दिनको लागि बच्चा हेर्ने मान्छे खोज्नुपर्ने हुन्छ । यदि यहाँ शिशु स्याहार केन्द्र खोल्यौं भने धेरै महिलाको पढ्ने धोको पूरा हुन्छ, शिक्षकहरुलाई पनि सहज हुन्छ’, तिर्सना भन्छिन् ।

अखिलको संयुक्त प्यानलले आफूहरुले जिते क्याम्पस सुधारको महसुस हुने जिकिर गरेको छ । अध्यक्षकी उम्मेदवार तिर्सना भन्छिन्, ‘हाम्रो टिम संयुक्त रुपमा विद्यार्थी साथीहरुसम्म पुगिरहेका छौं । हाम्रो प्रतिवद्धता र क्षमतामा उहाँहरु विश्वस्त हुनुहुन्छ ।’

इतिहास रच्ने दाबी

अनेरास्ववियु (क्रान्तिकारी) विप्लव समूहकी उम्मेदवार प्रजिना दर्नाल यसपटक आफूहरुले स्ववियु जितेर इतिहास रच्ने दाबी गर्छिन् । बीएस्सी अध्ययनरत प्रजिनाले ९ महिनाअघि आफ्नो संगठनको क्याम्पस इकाई प्रमुखको जिम्मेवारी पाएकी थिइन् । त्यसबेलादेखि विद्यार्थीको समस्या सुन्ने र समाधानको लागि पहल गरिरहेको उनी बताउँछिन् । ‘यो एजेन्डा चुनावको लागि लागि मात्रै होइन । यीनै समस्याहरु समाधान गर्न हामी इकाइ कमिटी गठन भएदेखि नै सक्रिय छौं । त्यसैले विद्यार्थी माझ हामी परिचित छौं’, प्रजिना भन्छिन् ।

३८ बुँदे प्रतिबद्धता पत्र ल्याएको अखिल क्रान्तिकारी (विप्लव) ले विद्यार्थीका लागि रिसर्च ल्याब खोल्ने, शिक्षा क्षेत्रमा राज्यको कुल बजेटको २० प्रतिशत लगानी गर्न पहल गर्ने, समाजवादी उद्यमी बन्न युवा विद्यार्थीलाई प्रेरित गर्ने, एक क्याम्पस एक उत्पादन नीति लागू गर्ने, शैक्षिक प्रमाणपत्र र योजनाका आधारमा लगानी जुटाउन पहल गर्ने, विद्यार्थीहरुको स्वास्थ्य उपचारमा शतप्रतिशत बीमाका लागि पहल गर्ने लगायतका बुँदा उल्लेख गरिएको छ ।

‘हामीले काल्पनिक प्रतिबद्धता पत्र बनाएका होइनौं । हामीले यो पत्र अधिकांश विद्यार्थीको सुझाव र अपेक्षाको आधारमा तयार पारेका छौं’, प्रजिना भन्छिन्, ‘त्यसैले पनि धेरै विद्यार्थी हाम्रो संगठनप्रति आकर्षित हुनुहुन्छ । हाम्रो कामदेखि प्रभावित हुनुहुन्छ, उहाँहरुकै मतबाट यो पटक हामीले इतिहास रच्छौं ।’

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?