+
+

आन्तरिक उडानका लागि तीन वटा जहाज किन्दै नेपाल एयरलाइन्स

अच्युत पुरी अच्युत पुरी
२०८० वैशाख ४ गते १६:५२
फाइल तस्वीर

४ वैशाख, काठमाडौं । नेपाल वायुसेवा निगमले छोटो धावनमार्ग भएका दुर्गम, पहाडी तथा हिमाली भेगका विमानस्थलमा उडाउन तीन वटा नयाँ जहाज किन्न प्रक्रिया अगाडि बढाएको छ । २९ चैतमा बसेको सञ्चालक समिति बैठकले जहाज खरिद प्रक्रिया अगाडि बढाउन सञ्चालक समिति सदस्य वरिष्ठ क्याप्टेन सुधीर शमशेर राईको संयोजकत्वमा उपसमिति गठन गरेको छ ।

निगमले यसअघि गठित एक उपसमितिको सिफारिसका आधारमा विमान खरिद गर्ने निर्णय गरेको निगमका उपनिर्देशक रमेश पौडेलले जानकारी दिए ।

निगमले आन्तरिक स्रोतबाटै यी जहाज किन्ने र ऋण नलिने बताएको छ । अहिले निगमको टाउकोमा करिब ४८ अर्ब रुपैयाँ ऋण छ । यो ऋण चार वटा अन्तर्राष्ट्रिय उडानका जहाज र ६ वटा चिनियाँ जहाज खरिद गर्न लिइएको सहित हो ।

उपनिर्देशक पौडेलका अनुसार कोभिड–१९ महामारी कम हुँदै गएपछि निगमले आम्दानी गर्न थालेको छ । आर्थिक वर्ष २०७८/७९ मा निगम १ अर्ब रुपैयाँ सञ्चालन मुनाफामा रहेको उनले जानकारी दिए ।

‘निगम अहिले सञ्चालन मुनाफामा छ, ऋण दीर्घकालीन प्रकृतिको हो, जसको सावा र ब्याज नियमित किस्तामा तिरिरहेका छौं, उनले अनलाइनखबरसँग भने, ‘यी साना जहाज किन्न निगमसँग आन्तरिक स्रोतले नै पुग्छ, ऋण लिँदैनौं ।’

तीन वर्षअघिको योजना

२४ भदौ २०७७ मा तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले निगम व्यवस्थापनलाई आन्तरिक उडानका लागि जहाज खरिद प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका थिए । सोही समयमा निगमले आन्तरिक उडानमा ५ थान नयाँ जहाज खरिद गर्ने गरी व्यावसायिक योजना तयार पारेको थियो । सो समितिले २ थान एटीआर र ३ थान ट्वीनअटर मोडलका साना जहाज निगमलाई आवश्यक परेको निष्कर्ष निकालेको थियो ।

त्यसबेला व्यवस्थापनमा कार्यकारी अध्यक्षको भूमिकामा सुशील घिमिरे र महानिर्देशकको भूमिकामा डीमप्रकाश पौडेल थिए । साथमा निगमको व्यवस्थापन सुधारका लागि भन्दै अगाडि बढाइएको प्रक्रियामा विवाद भएसँगै निगमलेरु कार्यान्वयनमा लैजान सकेको थिएन । उपनिर्देशक पौडेल भन्छन्, ‘जहाज किन्ने गरी धेरै चरणमा छलफल र योजना बनेका हुन्, अहिले कार्यान्वयनमा लैजाने गरी काम अगाडि बढेको हो ।’ वर्तमान कार्यकारी अध्यक्ष युवराज अधिकारीले समेत आफ्नो योजनामा जहाज खरिद गर्ने उल्लेख गरेका थिए ।

९ माघ २०७९ मा निगममा आयोजित वर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको स्वागत कार्यक्रममा कार्यकारी अध्यक्ष अधिकारीले सरकारले निर्देशन दिएमा जहाज खरिद प्रक्रिया अगाडि बढाउने बताएका थिए । उपनिर्देशक पौडेल भन्छन्, ‘वर्तमान सरकार आएपछि दुर्गम भेगमा अत्यावश्यक सेवाका रुपमा निगमलाई जहाज चाहिन्छ भन्नेमा मन्त्रीज्यू सकारात्मक हुनुहुन्छ ।’

कति पर्छ मूल्य ?

निगमले अहिले दुर्गम, पहाडी र हिमाली भेगमा उडान गर्ने गरी सानो जहाज किन्न लागेको छ । यो मोडलमा नेपालमा सबैभन्दा बढी चलेको ब्राण्ड र साइज ट्वीनअटर हो । उपनिर्देशक पौडेलका अनुसार जहाजको मोडल, मूल्यसहितका विषय बोलपत्रमै खुलाइने भएकाले अहिले सार्वजनिक गरिएको छैन ।

जहाज ब्रोकरमार्फत नभई सिधै निर्माता कम्पनीबाट किन्ने योजना रहेको र यसले खरिद प्रक्रिया पारदर्शी हुने उनको दावी छ । निगमले नयाँ जहाज खरीद गरी दुर्गम भेगमा सेवा दिँदा पर्यटन प्रवर्द्धन हुने, निगमको उपस्थितिले बजार सन्तुलित भई हवाई भाडा दर केही हदसम्म सुपथ हुने र निगमको सेवा प्रभावकारी हुने बताएको छ । निगमसँग आन्तरिक उडानमा अहिले दुई वटा मात्र जहाज छन् । निगमले तीन दर्जन भन्दा बढी विमानस्थलमा सेवा दिइराखेको छ । तर, जहाजको अभावले सेवा भने प्रभावकारी छैन ।

चिनियाँ जहाजको बदनामी

निगमले किनेको चिनियाँ जहाज नेपाल ल्याएको ६/७ वर्षमै कबाडी सरह बनेका छन् । यी जहाज व्यावसायिक रुपमा उडाउन नसकिने भन्दै पछिल्लो तीन वर्षयता थन्क्याएर राखिएका छन् ।

निगमका उपनिर्देशक पौडेल भन्छन्, ‘निगमको बजारलाई मध्यनजर गरेरै अब जहाज भित्र्याउने काम हुन्छ, पछिल्लो पटक अन्तर्राष्ट्रिय उडानका जहाज किन्दा पनि निगमकै हितका लागि बोइङ विस्थापित गरी एयरबसमा गएका हौैं, जसको नतिजा राम्रै आइरहेको छ ।’

 

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?