
८ वैशाख, काठमाडौं । नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेडलाई प्रिमियम मूल्यमा धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को स्वीकृति दिएको छ । ६ वैशाखमा बोर्ड कम्पनीलाई आईपीओ निष्कासन गर्न स्वीकृति दिएको हो ।
कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीयलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३०० रुपैयाँ प्रिमियम थप गरी ४०० रुपैयाँमा आईपीओ निष्कासन गर्नेछ । यस्तै सर्वसाधारणलाई भने अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँमा ३३५ रुपैयाँ प्रिमियम थप गरी ४३५ रुपैयाँमा आईपीओ निष्कासन गर्ने स्वीकृति पाएको हो ।
कम्पनीले जारी पूँजी ३ अर्ब ९७ करोड १९ लाख ६० रुपैयाँको २० प्रतिशत र्आपीओ जारी गर्न लागेको हो । कम्पनीले ७९ लाख ४३ हजार ८०१ कित्ता सेयर प्रिमियम मूल्य सहित ३ अर्ब ४४ करोड १६ लाख ५१ हजार ७८५ रुपैयाँमा बिक्री गर्नेछ ।
कम्पनीले आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेर र नबिल इन्भेष्टमेन्ट बैंकिङलाई नियुक्त गरेको छ ।
कम्पनीले पश्चिम नेपालको दाङमा प्लान्ट स्थापना गरेर सिमेन्ट उत्पादन गर्दै आएको छ ।
धितोपत्र दर्ता तथा निष्कासन नियमावलीले लगातार तीन आर्थिक वर्षसम्म नाफामा रहेको प्रतिसेयर नेटवर्थ प्रतिसेयर अंकित मूल्य भन्दा बढी रहेका कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न सक्ने व्यवस्था गरेको छ ।
‘प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने संगठित संस्था लगातार पछिल्लो तीन वर्षसम्म खुद मुनाफामा सञ्चालनमा रहेको, संगठित संस्थाको प्रति सेयर चुक्ता पूँजी भन्दा प्रति सेयर नेटवर्थ बढी भएको हुनपर्नेछ,’ धितोपत्र दर्ता तथा निष्कासन नियमावलीमा भनिएको छ, ‘संगठित संस्थाको साधारण सभाले प्रिमियम मूल्यमा धितोपत्र जारी गर्ने निर्णय गरेको, संगठित संस्थाले प्रिमियम मूल्य निर्धारण गर्दा अपनाइएको विधि र औचित्यलाई पुष्टि गर्ने गरी संगठित संस्था भन्दा बाहिरका विज्ञ वा विज्ञ संस्थाबाट प्रमाणित धितोपत्र मूल्यांकन प्रतिवेदन, निर्देशिकामा उल्लिखित प्रिमियम निर्धारण सम्बन्धी व्यवस्था पालना गरेको र संगठित संस्थाले कम्तीमा औसत वा सो भन्दा माथिल्लो क्रेडिट रेटिङको ग्रेड प्राप्त गरेको हुनु पर्नेछ ।’
धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन वा बिक्री प्रस्ताव मार्फत निष्कासन गर्न चाहने संगठित संस्थाको धितोपत्रको प्रिमियम गणना गर्दा पछिल्लो तीन वर्षको पूँजीकृत भएको आम्दानी (क्यापिटलाइज्ड अर्निङ), भविष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्य (डिस्काउन्टेड क्यास फ्लो) र अन्तर्राष्ट्रिय प्रचलनको आधारमा मूल्यांकनकर्ताले अपनाएको अन्य कुनै एक विधि अवलम्बन गरी प्राप्त हुने कुल मूल्यको औसत मूल्य गणना गर्नु पर्ने व्यवस्था धितोपत्र दर्ता तथा निष्कासन नियमावलीले गरेको छ । यसरी कायम भएको औसत मूल्य र संगठित संस्थाको पछिल्लो लेखापरीक्षण भएको वित्तीय विवरण अनुसारको प्रति सेयर नेटवर्थको दुई गुणाले हुन आउने मूल्यमा जुन कम हुन्छ सो रकमलाई प्रिमियम कायम गर्नु पर्ने व्यवस्था नियमावलीले गरेको छ ।
प्रतिक्रिया 4