११ कात्तिक, चितवन । नेकपा एमालेका पोलिटब्युरो सदस्य सुरेन्द्रप्रसाद पाण्डेले आगामी पाँच वर्षभित्र नेपाललाई नयाँ विकासको बाटामा लैजाने बताउनुभएको छ । पूर्वी चितवनको कठारमा सोमवार भएको चुनावीसभालाई सम्बोधन गर्दै उहाँले प्रतिव्यक्ति आय, सामाजिक तथा भौतिक विकास र मानव विकासका परिसूचकमा उपलब्धि हासिल गराउन प्रभावकारी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
चुनावी प्रचारका क्रममा कठार गाविसको शान्तिबजारलगायत स्थानमा पुग्नुभएका पूर्व अर्थमन्त्री पाण्डेले अति कम विकसित राष्ट्रको तहबाट माथि उठाएर विकासशील देशको श्रेणीमा पुर्याइने आश्वासन दिनुभयो । उहाँले पार्टीले बहुमत हासिल गरेमा ‘आˆनो गाउँ आफैँ बनाऔँ’ कार्यक्रमलाई निरन्तरता दिँदै प्रत्येक गाविसलाई रु ५० लाख अनुदानको व्यवस्था गरिने तथा प्रत्येक निर्वाचन क्षेत्रमा रु पाँच करोड विनियोजन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मतदाताले सोधेको प्रश्नको जवाफ दिँदै उहाँले भन्नुभयो-पाँच लाख घरबारविहीन परिवारलाई आवासको ग्यारेन्टी गर्दै आगामी १० वर्षभित्र कुनै पनि नेपाली नागरिक आवासविहीन हुनु पर्दैन । रासस
प्रतिक्रिया 4