+
+

अझै कति गैरजिम्मेवार बन्ने ?

कर्तव्य पूरा गर्ने त परै जाओस् यहाँ त समाजसेवा समेत स्वार्थ राखेर गरिन्छ । चन्दा उठाएर गरिने समाजसेवामा पनि नाफा नै कमाउन उद्यत मान्छेबाट कस्तो परिवर्तनको अपेक्षा होला ?

भाषा पोखरेल भाषा पोखरेल
२०८० भदौ ६ गते १५:०५

संभवतः सबैका लागि प्रिय शब्द हो, अधिकार । समाजमा जो-कोहीले आफ्नो अधिकार खोजेको हुन्छ । मान्छेले यस धर्तीमा जन्म लिएपछि उसले अधिकार खोज्छ, खोज्छ । कतिपय अधिकार जन्मसिद्ध हुन्छन् भने कतिपय अधिकार संविधान, ऐन कानुन र विधिविधान अनुरूप अभिव्यक्त गरिएका हुन्छन् ।

धार्मिक, आर्थिक, राजनीतिक, सामाजिक एवं सांस्कृतिक अधिकार मार्फत मान्छेले आफ्नो पहिचान पाएको हुन्छ । र, त्यही पहिचान उसको परिचय बन्दछ । कुनै पनि देशको प्रगतिको अवस्था थाहा पाउन त्यस देशका नागरिकहरूले पाएका र प्रयोग गरेका अधिकारहरू नियाल्न जरूरी हुन्छ ।

मान्छे जन्मने बित्तिकै उसले आफ्ना नैसर्गिक अधिकार अजमाउन खोज्दछ । जस्तो कि बच्चा जन्मिने बित्तिकै रुन्छ र आमाको दूध चुस्न खोज्छ । जुन उसको जन्मसिद्ध अधिकार हो । नवजात शिशु भोक लाग्दा रुन्छ । र, रोएपछि उसलाई आमाले दूध चुसाउँछिन् ।

यो कुरा उसलाई कसैले सिकाउनुपर्दैन, उसले आमाको गर्भबाटै सिकेर आएको कुरा हो कि रोएपछि खान पाइन्छ । त्यसैले भोकलाग्दा वा अन्य कुनै असामान्य अवस्थाको सूचना उसले रोएर दिएको हुन्छ ।

मानव जातिले आफ्नो अधिकारको खोजी जन्मदेखि नै गर्ने हुनाले उनीहरू आफ्ना अधिकारको खोजीमा निरन्तर लागिनै रहेका हुन्छन् । मान्छे जति ठूलो हुँदै गयो त्यति नै अधिकारको खोजीको सिलसिला पनि बढ्दै जान्छ ।

अधिकार खोज्ने क्रममा मान्छे सधैं क्रियाशील हुन्छ र जस्तोसुकै अवस्थामा पनि अधिकारको खोजीबाट पछि हट्दैन । त्यसो त अधिकारको त्यही एकपक्षीय हिसाबकै कारण मानिस स्वार्थी बन्दै गयो ।

उसले अधिकार त खोज्यो तर, अधिकारसँगै आउने कर्तव्य बिर्सिंदै गयो । जब एकतर्फी रूपमा अधिकारको मात्रै कुरा गरिन्छ, तब जो–कोही एकांकी बन्छ र अधिकारको नशामा लट्ठिएर स्वार्थी बन्न पुग्दछ ।

अधिकारको नशाले मानिस यतिसम्म स्वार्थी बन्छ कि, उसलाई केही पाइँदैन भन्ने लाग्यो भने आफू त केही गर्दैन अरूलाई समेत कर्मबाट भाँड्ने काम गर्दछ । किनकि मानिसको सकारात्मक बुद्धिभन्दा छिटो नकारात्मक बुद्धिको विकास भएको पाइन्छ ।

अधिकारको खोजी र कर्तव्यबाट विमुख हुँदै गएपछि मान्छे यतिसम्म गैरजिम्मेवार हुँदै गए कि कसैको लहलहैमा लागेर, एकछिनको रमझममा लागेर आफ्नो कर्तव्य र दायित्व भुल्दै गए ।

हामीले विद्यालय तहदेखि नै अधिकार र कर्तव्यलाई एउटै सिक्काका दुई पाटा भनेर पढ्यौं । अधिकारको प्रयोगमा कर्तव्य जोडिएरै आउने हुनाले कर्तव्य बेगरको अधिकारका कुरा हुँदैनन् ।

त्यसैले कसैले आफ्नो अधिकारको प्रयोग गर्दा उसले निर्वाह गर्नुपर्ने जिम्मेवारी पनि पूरा गर्नुपर्ने हुन्छ । एउटा प्राप्त गर्नको लागि दुवैमा उत्तिकै लगाव हुनुपर्छ । अर्थात् व्यक्तिमा जिम्मेवारी बोध हुनुपर्दछ । तर, अहिलेको परिस्थिति हेर्दा लाग्छ मान्छेले जिम्मेवारी पूरा गर्नै पर्दैन ।

मान्छेलाई केवल आफ्नो अधिकारको मात्रै सुनिश्चितता चाहिएको छ । आफ्नो अनुकूलतामा सबै चल्नुपर्छ । आफ्नो स्वार्थ पूरा गर्नेतिर मात्रै दृष्टि लगाएको हुन्छ, न कि कर्तव्य र जिम्मेवारी पूरा गर्नेतर्फ ।

स्वाभिमान र सम्मानका साथ जीवन जिउन पाउने कसैको अधिकार हुन्छ भने उक्त व्यक्तिले जीवन जिउँदै गर्दा उसले घर, परिवार, समाज र मुलुकप्रति बहन गर्नुपर्ने जिम्मेवारी र कर्तव्य पनि पक्कै पूरा गर्नुपर्छ । जुनसुकै कुरामा पनि आफ्नो अधिकार मात्रै खोज्ने प्रवृत्तिले व्यक्तिलाई गैरजिम्मेवार बनाउँछ । त्यस्तो व्यक्तिमा दम्भ र घमण्ड पनि बढ्दै जान्छ ।

यदि त्यही प्रकृतिको व्यवहार समाजमा फैलिंदै गयो भने समग्र समाज नै निरंकुश बन्न पुग्दछ । निरंकुशता कहिल्यै हितकारी हुँदैन । जब समाज निरंकुश बन्छ त्यसपछिको जीवन झनै कष्टकर हुन पुग्दछ ।

मान्छेको जीवनका विभिन्न सन्दर्भमा अधिकार सिर्जना भएको हुन्छ । घरपरिवारमा सम्पत्तिको अधिकार । रोजगारी प्राप्त गरेपछि पारिश्रमिक प्राप्त गर्ने अधिकार । कुनै बच्चा जन्मिएपछि पालनपोषणको अधिकार । विभिन्न प्रकृतिका सामाजिक, राजनीतिक एवं आर्थिक अधिकार इत्यादि ।

तर, यी अधिकारहरू प्रयोग गर्दैगर्दा त्यसमा अन्तरनिहित दायित्व के हो ? त्यसलाई भने अक्सर भुल्ने गरिन्छ । मान्छेले आफ्नो अधिकार अजमाउँदा उसको दायित्व भने बिर्सन्छ ।

आफ्नो अधिकारको लागि आन्दोलन गर्न पनि पछि नपर्ने मानिस कर्तव्य र दायित्व निर्वाहमा भने सधैं पछि नै बस्न रुचाउँछ ।

सबैले आफ्नो अधिकारको मात्रै कुरा गर्दा तस्करले तस्करी गर्न पाउनुपर्छ भनी आन्दोलन गर्ने, भ्रष्टाचारीले भ्रष्टाचार गर्न पाउनुपर्छ भनी आन्दोलन गर्ने, ऋणीले ऋण तिर्न नपरोस् भनी आन्दोलन गर्ने जस्ता परिस्थितिहरू निर्माण भइरहेका छन् । तर, कर्तव्य पूरा नभएका कारण सिर्जना भएको समस्या र भोग्नु परेको सास्तीबारे कसले आन्दोलन गर्ने ?

कर्तव्य पूरा गर्ने त परै जाओस् यहाँ त समाजसेवा समेत स्वार्थ राखेर गरिन्छ । चन्दा उठाएर गरिने समाजसेवामा पनि नाफा नै कमाउन उद्यत मान्छेबाट कस्तो परिवर्तनको अपेक्षा होला ? यहाँ समाजसेवा गरेबापत नाफा कमाउने अधिकार पनि सुनिश्चित गर्न खोजिन्छ ।

यसर्थ, सभ्य र समतामूलक समाज निर्माणका लागि कुनै पनि नागरिकले आफ्नो नागरिक अधिकार प्रयोग गर्दैगर्दा त्यससँग आउने जिम्मेवारी र कर्तव्य पनि उत्तिकै संवेदनशील भएर पूरा गर्नुपर्दछ । अधिकार के हो ? कस्तो अधिकार ? भन्ने कुरा निक्र्योल गर्नुपर्दछ ।

आफूले प्रयोग गरेको अधिकारले अरूलाई हानि पु¥याउनुहुँदैन । यदि अरूलाई बाधा पुग्छ भने त्यस्तो अधिकारको उपयोगले समाजमा शान्ति होइन, वैमनस्य उत्पन्न गरिदिन्छ ।

अनि कर्तव्यबेगरको अधिकारको प्रयोग बढ्दा समाजमा अराजकता सिर्जना हुनसक्छ । त्यस्तो अराजकता रोक्न फेरि पनि कानुनी उपाय खोजिन्छ ।

कानुनी उपचारको विधि सधैं सहज हुँदैन । त्यसैले सबै कुरा कानुनी नियन्त्रण मात्रै भन्दा पनि केही हदसम्म सामाजिक तवरबाटै समस्या समाधान हुनु राम्रो हुन्छ ।

मानिस यसै पनि सामाजिक प्राणी हो र उसले समाजसँगै एकाकार भएर बस्नुपर्ने हुन्छ । अहिले मानिस केही कुरासँग पनि असहज महसुस गर्दैनन् ।

आफ्नो भलोका लागि अरूको कुभलो पनि चिताइरहेका हुन्छन् । जुन कुरा सामाजिक विकृति हो । समाज दूषित पार्ने विष हो । त्यसैले कर्तव्यपरायणताले मात्रै समाजलाई सही दिशाबोध गर्न सक्छ ।

समाजमा स्थापित इज्जत र इमानलाई पनि व्यवहारमा कानुनसरह नै मानिन्छ । किनकि इमान, इज्जतको ख्याल नगर्ने व्यक्तिलाई कानुनले दण्डित नै गर्दा पनि सुधार्न सकिंदैन ।

त्यसैले अधिकार माग्दै गर्दा, अधिकारको प्रयोग गर्दैगर्दा घर, परिवार, समाज र मुलुकप्रतिको आफ्नो कर्तव्यको ख्याल गर्नु नै सबैभन्दा उत्तम कुरा हो । अधिकारको कुरा गर्दा आफ्नो कर्तव्य र दायित्व किमार्थ भुल्नुहुँदैन । कर्तव्यको ख्याल नगर्ने मानिस अधिकारको भागीदार हुन सक्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?