
‘भुटानी शरणार्थी प्रकरणका मुख्य अभियुक्तहरू बहालवाला मन्त्रीकै गाडीमा सिंहदरबार आउ–जाउ।‘
‘भेप सुन प्रकरणमा सुन छुटाउन पूर्वसभामुखका छोरा एयरपोर्टमा।‘
‘३३ किलो सुन प्रकरणमा प्रहरीकै संलग्नताको आशंकामा छानबिन।‘
‘एम्बुलेन्समा रक्तचन्दन तस्करी।‘
यी माथिका नगन्य प्रतिनिधि घटनाले हाम्रो समाजको यथार्थलाई इंगित गर्दछ। यी उदाहरण प्रहरीका विभिन्न अनुसन्धान र सञ्चारमाध्यममा प्रकाशित समाचारमा आधारित छन्।
यी लगायतबै घटनाहरूलाई सूक्ष्मरूपले अध्ययन गर्ने हो भने प्रहरी प्रशासन र सरकार कहाँ चुक्दछ भन्ने स्पष्ट हुन्छ।
आज बालेन शाहले पनि सोही छुटको सुविधा मागेका हुन्। प्रहरीले चेकजाँच गर्ने भनेको आम सर्वसाधारणलाई हो, म जस्तो काठमाडौंको मेयरको पत्नीलाई होइन भनेर चुनौती दिइरहेका छन्। जसमा मिश्रित प्रतिक्रिया आइरहेको छ।
आम नागरिकबाट आउने प्रतिक्रियालाई सामान्य एवं स्वाभाविक रूपमा लिन सकिन्छ। तर जब प्रहरीबाट नै यसमा गल्ती भएका हिसाबले चेकजाँच गरेको होइन वा एक मिनेट र सात मिनेट भनेर पन्छिन खोज्छ तब माथिका उदाहरणहरूको उदय हुन्छ।
प्रहरीले चेकजाँच किन गर्दछ ? निमुखा नागरिकका लागि मात्र हो ? यो सवालको उचित जवाफ सायद आजका प्रहरी प्रशासनले दिन सक्दैन। किन ?
किनकि बालेनसँग एउटा जनदबाब सिर्जना गर्न सक्ने जमात छ। जोसँग निरन्तर प्रहरी र सरकार झुक्नुपर्छ भन्ने मान्यता कायम गरिन खोजिएको छ।
त्यसैगरी प्रहरी आफैं पनि आफू अनुकूलका स्थानमा सरुवा एवं बढुवाको प्रक्रियाका लागि राजनीतिक नेतृत्व, शक्ति एवं सरकारको आशामा रहेका हुन्छन्। त्यसैले यिनीहरूलाई चेकजाँच गर्न सक्दैनन्। अनि आफ्नै सिनियर, हाकिमहरूलाई त गर्ने कुरै भएन।
अब बाँकी रहने भनेकै निमुखा जनता हुन्। अरु, छट्टुहरू त एक न एक राजनीतिक पार्टीको फेरो समाएकै हुन्छन्, एक न एक सिनियर नेता, शक्तिकेन्द्रसँग सम्बन्ध कायम गरेकै हुन्छन्।
फेरि प्रसंग बालेनतिरै। यदि गृहमन्त्री, मन्त्रीहरूको गाडीबाट तस्करी र तस्करहरूको आवतजावत हुन्छ भन्ने समाचार आउँछन् भने बालेनको गाडीबाट यो हुँदैन भन्ने के ग्यारेन्टी छ ?
त्यसो हो भने प्रहरीले रोकेर किन पूरा चेक नगरी छाडेको ? आम नागरिकले सवारी चालक अनुमति पत्र घरमा छुटेछ भन्दा जरिवाना रसिद थमाउने प्रहरीले बालेनको गाडीलाई बिदाको दिनमा सवारी चलाउने अनुमति पत्र घरमा छ भन्दा किन त्यत्तिकै छाडेको ?
आम नागरिक भन्दा मेयर पत्नी भएको नातामा छुट्टै सुविधा पाउनुपर्ने हो ? एम्बुलेन्समा समेत रक्तचन्दन तस्करी गरिएको समाचार आएकै हुन्। त्यसैले प्रहरीले आफ्नो कर्तव्य पालना गरेकोमा गर्व गर्नुपर्नेमा किन हीनताबोध भएका प्रेस नोट आएका एक मिनेट र सात मिनेटका ?
बालेन त एउटा प्रतिनिधि पात्र मात्र हुन्, जो चर्चामा आए र खुल्लमखुला चुनौती दिए। यस्ता बालेनहरू हरेक दिन, हरेक क्षेत्रमा रहेका छन्। कोही एयरपोर्टमा भेप छुटाउन पुग्छन्, कोही उच्च पदस्थ नै तस्कर र तस्करीका सामान गाडीमा हालेर दौडन्छन्, कोही एम्बुलेन्सको आवरणमा तस्करी गर्दछन्, कोही तस्करीको सामानमा भाग खोज्दै हिंड्दछन्।
त्यसैले सरकारले यो लेवलभन्दा माथि जे गरे पनि छुट छ। कानुन लाग्दैन, चेकिंग गर्न पाइँदैन भनेर कानुन बनाउन सक्नुपर्छ। त्यसपछि प्रशासन, प्रहरीले बालेनहरूलाई वा बालेन पत्नीहरूलाई कोटेश्वरमा रोक्ने छैन, एयरपोर्टमा गएकोमा ससम्मान गर्व गर्न पाइनेछ।
तस्करहरूलाई मन्त्रीकै गाडीमा ओहोरदोहोर गराएकोमा सलुट गर्न पाइने छ। कानुन नै बनाएपछि प्रहरी, प्रशासन मात्र होइन अदालतले समेत छुन सक्ने छैन।
अन्यथा प्रहरी प्रशासन सुध्रिनुपर्छ, बालेनहरूबाट सजक रहनुपर्दछ। नियमित चेक–जाँचमा कसैले अवरोध सिर्जना गर्नुहुँदैन। आम नागरिक हुन कि सिनियर हाकिम वा बहालवाला मन्त्री नै किन नहुन्, प्रहरीले सबैलाई समान व्यवहार गर्नुपर्दछ।
कसैको ठूलो स्वर वा जमात छ भनेर पन्छिनु, पछि हट्नु पनि हुन्न। अहिले बजारमा देखिएको जस्तो कसैलाई देवत्वकरण गर्नुपर्ने कारण र नियम नेपालमा छैन, हुनुहुँदैन। अनि मात्र जनताको शासन कायम रहनेछ।
प्रतिक्रिया 4