
ईडीआइएस भनेको सेयर बिक्री गरेपछि बिक्री गरेको सेयरलाई बिक्रीकर्ताले आफ्नो डिम्याट खाताबाट ब्रोकरको पुल खातामा पठाउनको लागि दिइने विद्युतीय निर्देशन हो । यसलाई अंग्रेजीमा ‘इलेक्ट्रोनिक डेबिट इन्स्ट्रक्सन स्लिप’ भनिन्छ ।
ग्राहकले सेयर बिक्री गरेपछि राफसाफ कार्यलाई अगाडि बढाउन अनिवार्य रुपमा आफ्नो खाताबाट ब्रोकरको डिम्याट पुल खातामा सेयर हस्तान्तरण गर्नुपर्ने हुन्छ । ग्राहकले डिम्याट खाता सञ्चालन गर्ने विद्युतीय सेवा ‘मेरोसेयर’ लगइन गरेर बिक्री गरेको दिन बेलुका ६ बजेदेखि भोलिपल्ट मध्यरात १२ बजे भन्दा अगाडि नै ईडीआईएस गरिसक्नुपर्नेछ । तोकिएको समयभित्र ईडीआईएस नगरेको खण्डमा बिक्रीकर्ताको सेयर राफसाफ हुन नपाई बिक्री रकमको २० प्रतिशत ‘क्लोजआउट पेनाल्टी’ पर्ने सम्भावना हुन्छ ।
यदि तोकिएको अवधिभित्र ईडीआईएस गर्न नपाएको खण्डमा ग्राहक (सेयर बिक्रीकर्ता)ले राफसाफ कार्य हुने दिन ब्रोकर अफिसमा स्वयम् उपस्थित भएर बिहान ११ बजेभित्र भौतिक रुपमा (कागजी) ‘डेबिट इन्स्ट्रक्सन स्लिप’मार्फत निर्देशन दिनुपर्ने हुन्छ । अन्यथा माथि भनिएझैं क्लोजआउट वापतको जरिवाना तिर्नुपर्ने हुन सक्दछ ।
ईडीआईएस कार्य सम्पन्न गर्नको लागि ग्राहकले सबैभन्दा पहिला खरिद औसत मूल्य अर्थात ‘डब्लूएसीसी’ गणना गर्नुपर्ने हुन्छ । त्यसपछि यसरी बिक्री गरिएको सेयरको डिम्याट खातामा सेयर होल्डिङ अवधि स्वघोषणा गर्नुपर्ने हुन्छ ।
यति कार्य गरेपछि मात्रै सेयर बिक्री गर्नेले ईडीआईएस कार्यलाई अगाडि बढाउन सक्नेछन् । अन्यथा माथिका दुईवटा कार्य सम्पन्न नभएको खण्डमा ईडीआईएसमा बिक्री गरिएको सेयरको सूची देखा पर्दैन ।
‘डब्लूएसीसी’ गणना अर्थात् खरिद औसत मूल्य स्वघोषणा कसरी गणना गर्ने ?
- डब्लूएसीसी गणना गर्नको लागि सबैभन्दा पहिले सेयर बिक्रीकर्ताले आफ्नो डिम्याट खाताको मेरोसेयर लगइन गरेर ‘माइ पर्चेज सोर्स’मा गई आफूले बिक्री गरेको सेयर छनोट गर्नुपर्ने हुन्छ ।
- सेयर छनोट गरेपछि उक्त सेयर कुन मितिमा कुन विधिबाट आफ्नो डिम्याट खातामा पाएको हो सो अनुसारको एउटा सूचीमा क्रमबद्ध भएर देखिन्छ ।
- बायाँतर्फ उक्त सेयर छनोट गर्ने टिक बक्स दिइएको हुन्छ । प्रत्येक टिक बक्समा गएर टिक लगाउनु पर्ने हुन्छ । यसरी टिक लगाएपछि सो कम्पनीको खरिद मूल्य अंकित हुन्छ । यदि त्यहाँ अंकित गरेको मूल्यमा कुनै फेरबदल गर्नुपर्ने भएमा आफ्नो खरिद मूल्यलाई फेरबदल गर्न सकिनेछ । यसरी फेरबदल गरेपछि सो खरिद मूल्य फेरबदल गर्नुको कारण के हो भनेर दायाँतर्फको रिमाक्र्स राख्ने ठाउँमा कारण खुलाउनु पर्ने हुन्छ । यस्तो फेरबदल विशेष गरेर मर्जर तथा प्राप्ति, ‘बीओ टु बीओ’ गर्दा वा घरायसी नामसारी वा मृत्यु नामसारी गरेर ल्याइएको भएमा वा बोनस वा हकप्रदवापतको थप सेयर प्राप्त गरेको भएमा गर्न सकिनेछ । अन्यथा यस्तो मूल्यलाई परिवर्तन गर्नु गैरकानुनी हुनेछ ।
- यसरी आफूले खरिद गरेको औसत मूल्य स्वघोषणा गरिसकेपछि प्रोसिड बटनमा क्लिक गर्नुपर्नेछ ।
- यसपछि उक्त प्रक्रियालाई ‘डिक्लेयर बटन’मा क्लिक गरेर ‘कन्फर्म अपडेट’ बटनमा क्लिक गर्नुपर्नेछ ।
- आफूले बिक्री गरेको सेयरको मूल्य घोषणा गर्ने कार्य सम्पन्न हुनेछ ।
होल्डिङ अवधि कसरी स्वघोषणा गर्ने ?
- होल्डिङ अवधि घोषणा गर्नका लागि ‘मेरोसेयर’मा लगइन गरी पुनः माइपर्चेज सोर्सभित्रै रहेको माइहोल्डिङ ट्याबमा क्लिक गर्नुपर्ने हुन्छ ।
- माइहोल्डिङ कम्पनीको सूची पर्चेज सोर्स घोषणा भएपछि तथा बिक्री गरेर ईडीआईएस प्राप्त भएपछि मात्रै देखा पर्नेछ ।
- माइहोल्डिङमा कम्पनीको सूची देखिएपछि कम्पनी छनोट गर्नुपर्छ ।
- कम्पनी छनोट गरेपछि विभिन्न मितिमा विभिन्न तरिकाले डिम्याट खातामा प्राप्त सेयरको विवरण र डिम्याट खातामा सेयर होल्ड गरिएको दिन संख्या देखिनेछ ।
- त्यसपछि क्रमिक रुपमा सूचीमा रहेको सेयर छनोट गर्दै जानुपर्ने हुन्छ । या एकैपटक अल सेलेक्ट गर्न सकिन्छ ।
- यसरी छनोट गरेपछि अर्को कोलममा सेयर होल्ड भएको दिन संख्या देखिन्छ । होल्ड भएको दिन संख्यामा कुनै फेरबदल गर्नुपर्ने भएमा दिन संख्या फेरबदल गरेर दायाँतर्फ रहेको बक्समा रिमाक्र्स राख्नुपर्ने हुन्छ ।
- यसरी यो प्रक्रिया सकिएपछि पुनः प्रोसिड बटनमा क्लिक गरेर अर्को स्टेपमा डिक्लेरेसन बटनमा क्लिक गरी होल्डिङको दिन संख्या घोषणा गर्न सकिन्छ ।
ईडीआईएस कसरी गर्ने ?
- यति प्रक्रिया सकिएपछि डब्लूएसीसी प्रक्रिया र होल्डिङ अवधि स्वघोषणा गर्ने कार्य समाप्त हुनेछ र ‘माई ईडीआईएस’ मेनुमा जान सकिन्छ ।
- ‘माइ ईडीआईएस’ बटनमा क्लिक गरेपछि ट्रान्सफर सेयर भन्ने ट्याब देखिनेछ ।
- त्यहाँ ईडीआईएस गर्नुपर्ने सूची देखिन्छ । त्यसमा क्लिक गरेपछि बिक्री बिलअनुसारको बिक्री भएको सेयरको सूची देखिन्छ ।
- त्यो सूचीमा एक एक गरेर वा सबैलाई एकैपटक सेलेक्ट अलमा क्लिक गरेर प्रोसिड बटनमा क्लिक गर्नुपर्नेछ ।
- यसपछि डिक्लेरेसनमा क्लिक गरी सबमिट बटन क्लिक गरेपछि ईडीआईएस सम्पन्न हुनेछ ।
(लेखक धितोपत्र ब्रोकर कम्पनी ‘सन सेक्युरिटीज’सँग आवद्ध छन् ।)
प्रतिक्रिया 4