
पछिल्लो समय युनिभर्सल मेडिकल कलेजको आन्दोलनले चिकित्सा क्षेत्रमा वस्त्रको प्रयोग आलंकारिक कि अनिवार्य भन्ने बहसलाई सतहमा ल्याइदिएको छ । भित्री अन्तर्य र कथावस्तु अनेकन् होलान् तर तत्काललाई सतहमा देखिएको मूल कारण प्राचार्य र विद्यार्थी बीच नियमित पोशाक विवाद देखिएको छ ।
कलेज प्राचार्यले निश्चित रंग र प्रकारको कपडालाई कलेज पोशाकको रूपमा अनिवार्य प्रयोग गर्न सूचना जारी गरेपछि सुरु भएको विवाद उत्कर्षमा पुग्दा कलेजको पठनपाठन मात्र प्रभावित नभएर अस्पतालका नियमित सेवा समेत ठप्प हुँदै अन्ततोगत्वा प्राचार्यको बर्खास्तीमा पुगेर सहमति जुटेको छ । यो प्रकरणमा नेपथ्य र अन्तर्यमा थुप्रै घटनाक्रम र विषयवस्तु होलान्, (विद्यार्थी र प्राचार्य दुवैको दाबी मनन गर्ने हो भने) तथापि सतहमा देखिएको विवादको चुरो भने पोशाक नै देखिएको छ ।
स्नातक र सोभन्दा माथिको मात्रै अध्यापन हुने संस्थामा पोशाकको रंग र प्रकार अनिवार्य गर्नु÷गरिनु के–कति उचित हो भनेर मनन् गर्न अत्यन्त जरूरी छ । प्रायःगरी हाम्रा शिक्षण संस्थाहरूले एकरुपता र शालीनताको दलिल प्रस्तुत गर्दै पोशाक अनिवार्य गरेको देखिन्छ । विशेषतः प्लस टु र स्नातकतर्फका कलेजहरूले शालीनतालाई मुख्य रूपमा उठाएर पोशाकको प्रकार तोक्ने र अनिवार्य गर्ने गरेको देखिन्छ । पोशाकको यो विवाद र हड्कम्पलाई कुनै निचोडको दृष्टिले हेर्नुपूर्व पोशाकको हाम्रो चिन्तन के–कति उचित छ भनी विचार गर्न जरूरी देखिन्छ ।
वस्त्र पहिरनको इतिहास केलाउँदै जाने हो भने प्रायःगरी सोही स्थानको मौसमी प्रभावको आधारमा वस्त्र निर्माण हुने गरेको देखिन्छ । दक्षिणएसिया र दक्षिणपूर्वी एसियाको वस्त्र पहिरन इतिहास पल्टाउने हो भने उष्णीय तापक्रमको कारण ऐतिहासिक रूपमै कम र स्वच्छन्द वस्त्र प्रयोग हुँदै आएको देखिन्छ । वर्तमानको कसीमा उच्छृङ्खल वा अश्लील भनी परिभाषित हुने वस्त्रहरू नै ऐतिहासिक रूपमा दक्षिण एसियामा नियमित वस्त्रको रूपमा प्रयोग हुने गरेको देखिन्छ ।
दक्षिणएसियामा मध्यएसियाबाट आएका तुर्क मूलका शासक र बेलायती शासनको क्रमिक उदयसँगै समग्र शरीर ढाक्नुपर्ने किसिमका वस्त्र प्रयोग अनिवार्य हुँदै गएको देखिन्छ । तुर्क र बेलायती शासक दुवै चिसो स्थानबाट आएका थिए र उनीहरूको लागि सम्पूर्ण शरीर ढाक्नु अनिवार्य आवश्यकता थियो तर शासकले प्रयोग गर्न सिकेको वस्त्र व्यवहार क्रमशः सामाजिक सभ्यता र संस्कारको मानक बन्न पुग्यो दक्षिणएसियामा ।
तत्कालीन समाज र परिवेशको आवश्यकता भन्दा पनि शासकको निकटताको लालसाले सम्पूर्ण शरीर ढाक्नु नै सभ्यता भन्ने मानक स्थापित बन्दै गएको देखिन्छ दक्षिण एसियाली समाजमा । यो सामाजिक जीवनको परिवर्तनको दह्रो प्रमाण दक्षिण एसियाली मन्दिरहरूमा रहेका मूर्तिकलाले दिन्छन् । मुगल र बेलायती सभ्यताको उदयपूर्व बनेका सम्पूर्ण मठ–मन्दिर गुम्बा आदिका मूर्तिहरूको पोशाक व्यय हेर्दा वर्तमानको समाजले भन्ने स्वच्छन्द र अश्लील पोशाक व्यवहार नै नियमित दैनिक वस्त्र व्यवहार रहेको देखिन्छ । दक्षिण एशियाली समाजमा हाल प्रचलनमा रहेको पोशाक र औपचारिकता औपनिवेशिक कालको विरासत हो भन्दा अतिशयोक्ति हुँदैन ।
विज्ञान र प्रविधिको फड्कोसँगै पश्चिमा जगतको वस्त्र व्यवहार पनि परिवर्तित हुँदै गएको देखिन्छ । प्रविधिको फड्कोले मध्य हिम वर्षामा समेत वातानुकूलित वातावरणमा बस्न मिल्ने भएसँगै पश्चिमा जगत पोशाकको हकमा उदार र स्वच्छन्द हुँदै गएको देखिन्छ । दैनिक प्रयोगमा मात्र नभएर सामान्य औपचारिकतादेखि विशिष्ट अवसरहरूमा प्रयोग हुने पोशाकहरूमा समेत पश्चिमा जगत निकै उदार र खुल्दै गएको अवस्थामा दक्षिण एसियाली समाजलाई भने औपनिवेशिक मनोवृत्तिले अझै बढी गाँजेको देखिन्छ ।
वस्त्रको नाप र पारदर्शितामा नैतिकता र सभ्यता खोज्ने दक्षिण एसियाली मनोवृत्तिमा औपनिवेशिक मनोदशाको पुनरावृत्ति पटक–पटक झल्किने गर्छ । आजको हाम्रो समाज कस्तो मनोदशाले ग्रस्त छ भने सुट र टाईलाई औपचारिक पोशाक मान्ने तर कछाड र धोतीलाई औपचारिक पोशाकको रूपमा स्वीकार गर्दैन । हिजो हामीले औपनिवेशिक कालखण्डमा जुन–जुन कुरालाई औपचारिकता र सभ्यताको रूपमा प्राप्त गर्यौं त्यही कुरालाई आज औपनिवेशिकताको अवशेषको रूपमा व्याख्या गर्नुको साटो हामी अनिवार्य आवश्यकता बनाउन तल्लीन छौं ।
आज दक्षिण एसियाली समाजलाई नैतिक प्रहरी बन्ने उत्कट इच्छा देखिन्छ । विशेषतः महिलाहरूले प्रयोग गर्ने वस्त्रको लम्बाइ र पारदर्शिता समाजको चासो र खोजको विषय बन्नु सामान्यकृत हँुदै गएको छ । तर समाजले यहाँ एउटा तथ्य भुल्दै गएको देखिन्छ, वस्त्र आवश्यकता हो अनिवार्यता हैन । वस्त्र सभ्यता र नैतिकताको प्रतीक हैन सहजता र उपयोगिताको मानक हो ।
स्नातक वा सोभन्दा माथिको शैक्षिक योग्यता हासिल गर्न अध्ययनरत वयस्कलाई पोशाकको रंग र प्रकार अनिवार्य गरिनु जति नै तर्क गरे पनि उचित ठहर्याउन सकिंदैन । समाजदेखि कानुनसम्मले बालिग मानेर स्वतन्त्र निर्णय गर्न सक्ने भनी स्वीकार गरिसकेको उमेर समूहलाई अनिवार्य पोशाक जस्तो सामान्य विवाद खडा गरी समग्र शैक्षिक गतिविधि रोकिनु आफैंमा हास्यास्पद देखिन्छ । अझ मेडिकल कलेजमा त यो सहजै समाधान हुने विषय हो, विश्वव्यापी रूपमा प्रयोग गरिने प्रतीकात्मक चिकित्सकीय पोशाक सेतो कोट, स्क्रब वा गाउनलाई अनिवार्य गरी यी पोशाक सुहाउँदो सामान्य औपचारिक वा अर्ध–औपचारिक पोशाक भनिदिए पुग्ने देखिन्छ ।
(डा. खत्री नेपाल मेडिकल काउन्सिलका इथिकल समितिका संयोजक हुन् ।)
प्रतिक्रिया 4