
पुरुष कस्तो देखिनुपर्छ ? उसले के गर्नुपर्छ र के गर्नु हुँदैन ? यसबारे फरक खालको सोंच रहँदै आएको छ ।
विश्वका भिन्नभिन्न संस्कृति तथा धर्महरुको आधारमा केही फरक त अवश्य हुन्छन् तर पुरुषको छवि भने थोरबहुत एकै खालको हुन्छ ।
हामी सबै आफ्नो घरमा, आफ्ना आसपासका मानिसहरुसँग कुराकानीका क्रममा वा मिडिया तथा फिल्ममा पनि पुस्तौंदेखि केही खास प्रकारका कुराहरु सुन्दै आएका छौं ।
जस्तै, मर्दलाई दर्द हुँदैन, पुरुष भएर रुनु हुँदैन, कस्तो पुरुष हो, चोट खाएर आउने ? नामर्द पुरुष चुरा लगाएको आदि आदि । वास्तवमा यस्तो खालको सोंच हाम्रो पितृसत्तात्मक सामाजको ऐना हो ।
पैसा कमाउने तथा घर चलाउनु पुरुषको जिम्मेवारी हो, मिहिनेतको सबै काम पुरुषले नै गर्न सक्दछन्, घरको मामिलामा अन्तिम निर्णय सधैं नै पुरुषले नै गर्नुपर्छ भन्ने जस्ता विचारधारा हाम्रो सामाजिक सोंचको अभिन्न हिस्साको रुपमा रहँदै आएका छन् ।
भारतको पंजाब विश्वविद्यालयको महिला अध्ययन विभागकी प्राध्यापक डाक्टर अमिर सुल्तानाका अनुसार यो एउटा सामाजिक संरचना (सोसल कन्स्ट्रक्ट) हो, अर्थात् समाजले यस्तो सोंचको निर्माण गरेको हो ।
बीबीसीसँगको कुराकानीमा उनले भनेकी छिन्, ‘पुरुषका बारेमा यस्तो खालको सोंच समाजले बनाएको हो र प्रकृतिसँग यसको कुनै लिनुदिनु छैन । त्यसैले हामी यो पनि देख्छौं कि फरकफरक समाजमा पुरुषत्वका भिन्नभिन्न परिभाषा हुन सक्छन् । तर एउटा चिज सबैमा साझा छ त्यो भनेको पुरुष धेरै शक्तिशाली हुन्छन् त्यसैले उनीहरुले नै अन्तिम निर्णय गर्नेछन् भन्ने सोंच ।’
पुरुष बारेका शब्दहरू
सन् २०१८ मा जब #Metoo अभियान विश्वभर सुरु भयो तब पुरुषहरुका बारेमा यस्तो खालको मानसिकताका लागि एउटा विशेष शब्दको प्रयोग गर्न थालियो ।
त्यो विशेष शब्द थियो टक्सिक मास्कुलिनिटी । यो शब्दलाई तपाईं यसरी बुझ्न सक्नुहुन्छ कि यदि तपाईंले आफूलाई पुरुष हुँ भन्ने ठान्नुहुन्छ भने तपाईंले विशेष रुपमा त्यसको प्रदर्शन गर्नु पर्दछ ।
पुरुष बलशाली हुन्छन् र महिला कमजोर, तपाईंले यो कुरालाई मान्नुपर्ने मात्र होइन सोही बमोजिम व्यवहार पनि प्रदर्शन गर्नुपर्दछ ।
यदि तपाईंको यो सोंच छ भने त्यो वास्तवमा पुरुषत्व होइन, विषाक्त पुरुषत्व अर्थात् टक्सिक मास्कुलिनिटी हो ।
तर यहाँनेर अर्को प्रश्न पनि उठ्यो । आखिर पुरुषका विषयमा सदियौंदेखि चलिआएको सोंच पुरुषत्व होइन विषाक्त पुरुषत्व हो भने वास्तविक पुरुषत्व के हो त ?
यो प्रश्नको जवाफ खोज्ने प्रयासमा एउटा नयाँ शब्दको चलन बढ्न लाग्यो र त्यसलाई हेल्दी मास्कुलिनिटी अर्थात् पोजिटिभ मास्कुलिनिटी भन्ने थालियो । त्यो भनेको स्वस्थ अर्थात् सकारात्मक पुरुषत्व ।
गेरी बारकर इक्यूमुन्डो सेन्टर फर मास्कुलिनिटी एण्ड सोसल जस्टिसका सीईओ तथा सहसस्थापक हुन् । उनी मेनकेयर तथा मेनइंगेज नामको संस्थाका समेत सहसंस्थापक हुन् ।
मेनकेयर संस्था विश्वका ५० भन्दा धेरै देशमा सञ्चालित एउटा विश्वव्यापी अभियान हो । यसको प्रमुख उद्देश्य पुरुषहरुलाई केयरगिभर अर्थात् घरका सदस्यहरुको हेरचाहको भूमिका निभाउनका लागि प्रोत्साहित गर्नु हो ।
मेनइंगेज विश्वभरका सात सय भन्दा धेरै गैरसरकारी संस्थाहरुको गठबन्धन हो ।
गैरी बारकर इन्टरनेशनल मेन एण्ड जेन्डर इक्वालिटी सर्भेका सह संस्थापक पनि हुन् ।
पुरुषका आनीबानी, पिताको जिम्मेवारी, हिंसा तथा लैंगिक समानताका प्रति उनको दृष्टिकोणलाई लिएर गरिएको यो अहिलेसम्मको सबैभन्दा ठूलो विश्वव्यापी सर्भे हो ।
गैर बारकरले बीबीसी रिल्ससँग आफ्ना विचारहरु शेयर गरेका छन् ।
राम्रो केटा हुनुको अर्थ के हो ?
बीबीसी रिल्ससँगको कुराकानीमा उनले भनेका छन् कि धेरै युवक तथा पुरुषहरुलाई एउटा राम्रो केटा वा मर्द बन्नु भनेको के हो ? भन्ने कुरामा निकै दुविधा छ ।
बारकरका अनुसार पुरुषले जब परिवारमा एक अर्काको ख्याल राख्दछन् तब त्यसले पूरै परिवारलाई फाइदा भएको सर्भेले देखाएको छ ।
उनका अनुसार स्वस्थ पुरुषत्व भनेको महिला विरोधी विषाक्त सोंचको डसाइलाई निस्तेज पार्ने एउटा एन्टिडोट खोप हो ।
उनी भन्छन्, ‘सबैभन्दा सजिलो तरिका छ यो हो कि पुरुषहरुलाई यो कुराको अनुभूति दिलाउनुस् कि जब उनीहरु यौन शोषणको कुरा सुन्छन् वा कुनै महिला विरोधी ठट्टा सुन्दछन् तब उनीहरुले त्यसको विरुद्धमा तत्कालै आवाज उठाउन् ।’
जब आफ्नो कार्यालयमा वा आफ्ना मित्र तथा नातेदार वृत्तमा कुनै पुरुषले यौनहिंसा गरिरहेको कुरा थाहा पाएमा त्यसको विरुद्धमा आफ्नो आवाज बुलन्द पार्नुपर्ने उनको भनाइ छ ।
पन्जाब विश्वविद्यालयकी डाक्टर अमिर सुल्तानाका अनुसार महिला तथा युवतीहरुसँग समाजमा यदि कतै गलत भैरहेको छ भने पुरुषहरुले त्यसको विरुद्धमा आवाज उठाउनु पर्दछ ।
सुल्तानाका अनुसार यो सकारात्मक पुरुषत्व हो ।
यसको उदाहरण दिँदै उनी भन्छिन्, ‘यदि तपाईं पुरुष हुनुका नाताले घरमा निर्णय लिने अधिकार राख्नुहुन्छ र आफूले दाइजो नलिइकन बिहे गर्दछु भनेर भन्नुहुन्छ भने त्यो सकारात्मक पुरुषत्वको उदाहरण हुनेछ ।’
विषाक्त पुरुषत्व
बारकरका अनुसार महिलाहरुको सशक्तीकरण तथा पूर्ण लैंगिक समानताको यात्रामा पुरुषको अहम् भूमिका हुन्छ ।
वास्तवमा स्वस्थ पुरुषत्वको अर्थ एउटा यस्तो सोंच हुनु हो जसमा सबै लिंगका लागि ठाउँ होस्, उनीहरुको स्वागत गरियोस् र सबैका लागि बराबरी मौका होस् । तर स्वस्थ पुरुषत्वको विचारधाराको जडमा नारीवाद रहेको छ ।
नारीवाद अर्थात् फेमिनिज्मको धारणा अुनसार समाजले पुरुष दृष्टिकोणलाई प्राथमिकता दिन्छ र पितृसत्तात्मक समाजमा महिलाहरुमाथि भेदभाव र अन्याय हुन्छ ।
समलिंगी अधिकारकर्मीका अनुसार स्वस्थ पुरुषत्व पनि त्यही सोंच हो । तर यसमा केवल यत्ति फरक छ कि स्वस्थ पुरुषत्वको अवधारणामा केवल महिलाहरुका लागि मात्र होइन सबै लिंगका लागि समान अवसर प्राप्त हुनुपर्दछ ।
वास्तवमा समाजमा विषाक्त पुरुषत्वको कुरा भैरहँदा त्यसको विरोधमा स्वस्थ पुरुषत्व जस्तो प्रगतिशील सोंचका विषयमा बहस हुन थालेको छ ।
तर जानकारहरुका अनुसार विषाक्त पुरुषत्वको सम्बन्ध केवल पुरुषसँग मात्र हुँदैन, केही महिलाहरुले समेत विषाक्त पुरुषत्वलाई बढावा दिन्छन् ।
बीबीसीको सहयोगमा
प्रतिक्रिया 4