
२ पुस, काठमाडौं । गिनिज बूक वर्ल्ड रेकर्ड भनेर स्वयं त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले सञ्चारकर्मीलाई दिएको सूचना त गलत निस्कियो नै; ख्यातनाम नै नरहेको अर्कै गैरसरकारी संस्थाले दिने विश्व रेकर्ड प्रमाणपत्रका लागि लालायित भएर त्रिविले दीक्षान्त त्रिपुरेश्वर मैदान लग्यो । दशरथ रंगशालामा जारी नेपाल सुपर लिग एनएसएल नै एक दिन प्रभावित हुने गरी त्रिविको ४९औं दीक्षान्त सोमबार आयोजना भयो ।
१२ हजार ४१५ दीक्षित विद्यार्थी, अनि तिनका अभिभावक गरी २६ हजारभन्दा बढ्ता सहभागीहरूका लागि टेकु, त्रिपुरेश्वर, तीनकुने लगायत नाकामा सवारी डाइभर्ट गराउँदा हजारौं यात्रु प्रभावित बन्न पुगे । स्कुले बालबालिका गह्रौं ब्याग बोकेर आफ्ना स्कुलतिर गइरहेको दृश्य देख्न सकिन्थ्यो । बुझ्दै जाँदा थाहा भयो– त्रिविको दीक्षान्तका लागि २६ हजारभन्दा बढ्ता सहभागी जम्मा गराएर विश्व रेकर्ड राख्ने कामका लागि राजधानी शहरको दैनिकी नै असन्तुलित भइरहेको थियो ।
तर प्रधानमन्त्री तथा त्रिविका पदेन कुलपति प्रचण्डले भने यो भद्रगोलमा पनि गौरव नै गरिछाडे । दीक्षान्त समारोहमा पुगेर उनले ठूलो संख्यामा आएका विद्यार्थीलाई बधाई दिए । देशमै केही गर्न शुभकामना बाँडे । त्रिविलाई दलगत भागबन्डारहित बनाउने दाबी गरे ।
अनि फेसबुक पेजमा प्रचण्डले लेखे– ‘आजको यो दीक्षान्त समारोह नेपालको इतिहासमा मात्रै ऐतिहासिक बनेन, विश्व इतिहासमा नै दीक्षान्त समारोहको तमाम शृङ्खलामा एउटा रेकर्ड हुनगयो । आज म यस अवसरमा त्रिभुवन विश्वविद्यालयबाट नै राजनीतिक भागबन्डाको अन्त्य गर्ने, मेरिटको आधारमा उपकुलपति लगायत पदाधिकारी नियुक्ति गर्ने प्रतिबद्धता तपाईंहरूको अगाडि व्यक्त गर्दछु ।’
प्रचण्डलाई थाहा छ, दलगत अराजकता र अव्यवस्थामा त्रिविका थुप्रै अघोषित रेकर्ड छन्, जसले गर्दा नेपालकै पुरानो र ठूलो प्राज्ञिक संस्था बदनाम छ । रेकर्डकै कुरा गर्ने हो भने टाइम्स हायर एजुकेशनले निकाल्ने गरेको विश्ववरियता रेकर्डमा पछिल्ला पाँच वर्षयता उत्कृष्ट हजार विश्वविद्यालयभित्र पर्दै आएको त्रिवि सन् २०२४ मा भने १२ सय देखि १५ सय विश्वविद्यालयभित्र पर्न गयो ।
६ महिनामा सकिने सेमेस्टर प्रणालीमा विश्वविद्यालय गए पनि रिजल्ट निकाल्न झन्डै एक वर्षसम्म लगाउँदा आलोचित हुँदै आएको त्रिविमा गुणस्तरलाई लिएर बग्रेल्ती प्रश्नहरु छन् । आफ्नो गुणस्तरबारे प्रश्नहरु उठेपछि गत असोज १६ गते वक्तव्य नै निकालेर त्रिविले खण्डन र प्रष्टीकरण दिनुपरेको थियो । प्रचण्डले विश्वविद्यालयको खुला प्राज्ञिक प्रतिस्पर्धामा आउन देशभित्र र विश्वभर रहेका विज्ञ नेपालीलाई आह्वान गरे । दलहरूलाई पनि विश्वविद्यालयमा भागबन्डा होइन मेरिटको आधारमा नियुक्ति गर्नका लागि अग्रसर हुन अपील गरे ।
प्रधानमन्त्री तथा कुलपति प्रचण्डले ठूलो संख्यामा दीक्षान्त गराउन सकेको जस लिन खोज्दै उल्लास मनाए पनि प्राज्ञहरू सरकारी तथा त्रिवि पदाधिकारी शैलीसँग बिच्किएका छन् । प्राध्यापक चैतन्य मिश्रलाई पनि यस्ता रेकर्ड राख्ने लहडबाजीले झस्कायो । हुन पनि कोही उल्टो हिंडेर मेची–महाकाली, कोही उल्टो साइकल चलाएर यात्रा गर्ने रेकर्ड राख्न पछि पर्दैनन् । शान्तिको कामना गर्दै विश्वयात्रा गर्नेहरूको अलग्गै रेकर्ड होला ।
‘मान्छेहरू बुढीऔंला कति छिटोछिटो वा कतिचोटिसम्म पड्काउन सक्छु भन्नेमा समेत रेकर्ड बनाउँछन्’ मिश्र भन्छन्, ‘कति संख्या जुटाएर दीक्षान्त गराउँछु भन्नु ठूलो कुरा होइन, कति गुणस्तर दिन सकियो भन्ने कुरा चाहिं वास्तवमै ठूलो हो ।’
त्रिविका पूर्व उपकुलपति केदारभक्त माथेमाको विचारमा कुनै पनि विश्वविद्यालयले रेकर्ड बनाउने वा कम्तीमा गौरव गर्ने भनेको आफ्नो गुणस्तरमा हो, संख्यामा होइन । कुनै शक्ति प्रदर्शनको शैलीमा राजधानीको मध्यभागमा विद्यार्थी बोलाइएको प्रकरणलाई उनले राम्रो मानेनन् ।
‘म भिसी भएकै बेलामा पनि यसरी धेरै विद्यार्थी डाकेर दीक्षान्त गराउनुहुन्न भनेर नसोचेको होइन’ २०४८ देखि २०५१ सम्म त्रिविको नेतृत्व गरेका माथेमाले भने, ‘पृथ्वीनारायण क्याम्पस पोखरा, महेन्द्र मोरङ क्याम्पस विराटनगरतिर दीक्षान्त मात्रै होइन, परीक्षा र मूल्यांकन नै गराउन सकिन्छ भनेको हो, तर राजनीति गर्नेहरूको हात चिलाएपछि यस्तै यस्तै दृश्य दोहोरिइरहन्छ ।’
दशरथ रंगशालामा दीक्षान्त भएको यो पहिलो घटना होइन । खासगरी त्रिवि परिसर कीर्तिपुर, अनि पुल्चोक क्याम्पसमा हुँदै आएको दीक्षान्तलाई विद्यार्थी संख्याको आकलन गरेर त्रिपुरेश्वर रंगशालामा ल्याउने गरिन्छ । यस वर्ष विश्व रेकर्डका लागि भनेर दीक्षान्त आयोजना गरिंदा पदेन कुलपति अर्थात् प्रधानमन्त्री प्रचण्ड मात्रै होइन, राष्ट्रपति रामचन्द्र पौडेल पनि सहभागी थिए ।
रोचक के छ भने आइतबार महोत्तरीको जनता मावि, गौरीडाँडामा स्वर्ण महोत्सव उद्घाटन गर्न समेत बाँकी नछाडेका प्रधानमन्त्री आज सोमबार विश्वविद्यालयको दीक्षान्त समारोहमा आइपुग्नु अनौठो मामिला भएन । उनले त्रिपुरेश्वर मैदानमा अब भागबन्डाको संस्कृति रोकेर योग्यता र क्षमताकै आधारमा उपकुलपति तोक्ने प्रथा सुरु गरिने घोषणा गरे । विश्वविद्यालयलाई दलगत स्वार्थ समूहको छायाँबाट टाढै राखेर प्राज्ञिक अनुसन्धान तथा प्राध्यापन हुनुपर्ने लामो समयदेखिको माग सम्बोधन हुनुपर्ने आवाज उठ्दै आए पनि प्रधानमन्त्रीको वाचा कार्यान्वयन हुनेमा धेरैको आशंका छ ।
पूर्व उपकुलपति माथेमा भन्छन्, ‘राजनीति गर्नेहरूको धीत मरेकै छैन । नत्र त्रिविलाई टिचिङ युनिभर्सिटी होइन, रिसर्च युनिभर्सिटी बनाउन कति धेरै ढिलो भइसक्यो भनेर जति भने पनि उहाँहरूले मान्नुभएको छैन । प्रवृत्ति यही रहिराख्दासम्म संख्या मात्रै देखाएर रेकर्ड राख्नुको कुनै अर्थ छैन ।’
एकातिर त्रिविको साइज नै ठूलो छ । अरू विशिष्टीकृत विषय र विधामा विश्वविद्यालय तथा स्वायत्त शैक्षिक संस्था बनाउन नेतृत्व तयार देखिन्न, बरु भएकै संरचनालाई पनि सक्दो केन्द्रीकृत गर्ने ध्याउन्न छ । मिश्रलाई लाग्छ– कतिपय सैद्धान्तिक र साझा कुरा सबैतिर पढाए भयो । नत्र सुदूरपश्चिम, गण्डकी वा कोशीका विद्यार्थीलाई एकैनासको पाठ्यक्रम पढाउनु गलत हो । तिनलाई एकै प्रणालीमा परीक्षा, रिजल्ट अनि दीक्षान्त गराउनु झनै गलत हो ।
‘सबै प्रदेश र भेगमा उही कुरा किन पढाउनुपर्यो ? स्थानीय आवश्यकता र त्यहाँको मौलिकता समेट्दै पाठ्यक्रम बनाउने जिम्मा सोही प्राध्यापकलाई दिऊँ, परीक्षा र मूल्यांकन पनि उसैले गराओस्’ मिश्र भन्छन्, ‘तर सबै कुरा झन् बढी केन्द्रीकृत हुँदै जाँदा आजको जस्तो स्थिति निम्तिन्छ । धेरै पास हुनु वा दीक्षित हुनु समस्या होइन, उनीहरू कसरी पास भए, अब कसरी अगाडि बढ्छन् भन्ने मुख्य चिन्ताको कुरा हो ।’
किङ्स कलेज काठमाडौंका प्राचार्य नरोत्तम अर्यालको विचारमा कति विद्यार्थी जम्मा गराएर दीक्षान्त गराइयोे भन्ने भाष्य नै गलत छ । यो भाष्यले शिक्षा प्रणाली कस्तो बनाउने, कस्ता विद्यार्थी उत्पादन गर्ने भन्ने प्रश्नतर्फ झन् गम्भीर बनाउनुपर्ने उनको राय छ ।
‘जति साना एकाइहरू बनाउन सक्यो, त्यति नै गुणस्तर कायम हुन्छ, संघीयताको मर्म अनुसार पनि झन् बढी विशिष्टीकृत ज्ञानलाई तल्लो तहसम्म पुर्याउनुपर्छ’ अर्याल भन्छन्, ‘तर सबै कुरालाई काठमाडौंकेन्द्रित गर्ने, जुम्लादेखि झापासम्मका विद्यार्थीलाई एकैनासको पाठ्यक्रम र मूल्यांकन पढाएर जुन रेकर्ड बनाउन खोेजिएको छ, यसमा गर्वभन्दा पनि शरम मान्नुपर्ने अवस्था छ ।’
प्रतिक्रिया 4