
२५ माघ, काठमाडौं । ‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ विश्व सामाजिक मञ्चको १६औँ संस्करण काठमाडौँमा सम्पन्न हुने भएको छ ।
नेपालमा पहिलोपटक हुन लागेको विश्व सामाजिक मञ्चको यो संस्करण आगामी ३ देखि ७ फागुनसम्म काठमाडौंमा हुन लागेको आयोजकहरूले जानकारी दिएका छन् ।
आयोजकहरूका अनुसार मञ्चको उद्घाटन समारोह ३ फागुनमा काठमाडौंको खुलामञ्चमा हुनेछ भने ४ देखि ६ फागुनसम्म विभिन्न विषयगत सम्मेलन र समानान्तर सत्रहरु आयोजना हुनेछन् । त्यसबीचमा ५ फागुनमा अन्तरमहादेशीय युवा मञ्च र संसदीय मञ्चको पनि आयोजना हुनेछ ।
‘मञ्च आयोजनाका लागि स्वदेश तथा विदेशमा गरिएका विभिन्न वहस, छलफल, अन्तरक्रियाबाट प्राप्त चासो र सकारात्मक प्रतिक्रियाबाट नेपाल आयोजक समिति उत्साहित भएको छ । यसले कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्ने आधार पनि तयार भएको छ’, आयोजक संस्था विश्व सामाजिक मञ्चले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विश्वका विभिन्न मुलुकबाट रहने उपस्थितिमा विभिन्न फोरम, सभा, सम्मेलन, संवाद, अन्तरक्रियाका साथै विभिन्न देशका सांस्कृतिक झाँकी र आन्दोलनका स्वरुपहरू समेत देखाइने जनाइएको छ ।
साथै, मञ्चमा विभिन्न सामाजिक आन्दोलनमा योगदान पुर्याएका विश्वका प्रसिद्ध व्यक्तिहरूलाई वक्ताका रुपमा आमन्तरण गरिएको मञ्चले जानकारी दिएको छ । हालसम्म अन्तराष्ट्रिय ट्रेड युनियन कन्फेडेरसनका एशिया प्रशान्त क्षेत्रका महासचिव सोया योसिदा, भारतका मानवअधिकारकर्मी तथा नर्मदा वचाओ आन्दोलनका अभियन्ता मेधा पाटकर, पाकिस्तानको सर्वोच्च अदालतका वकिल तथा अधिवक्ता हिना जिलानी, ल्याटिन अमेरिकाका सामाजिक अभियन्ता अलेदा ग्वेभेरा लगायतका अथिति वक्ताहरुको टुंगो लागेको र अन्य विभिन्न महादेश र अन्य आन्दोलनको प्रतिनिधित्व गर्ने वक्ताहरुको टुंगो लाग्ने क्रममा रहेको मञ्चले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कार्यक्रममा मजदुर, किसान, महिला, दलित, युवा, अपांगता, लैंगिक तथा यौनिक अल्पसंख्यक, तथा सीमान्तकृत समुदायका व्यक्तिहरुले सम्वोधन गर्नेछन् ।
मञ्चले सम्मेलनका माध्यमबाट नेपालको लोकतन्त्र प्राप्तीको आन्दोलन, शान्तिपूर्ण रूपले राजालाई हटाएर गणतन्त्र स्थापना गरेको, राजालाई पूर्व राष्ट्रप्रमुखका रुपमा राखेको, माओवादी द्धन्द्धको अन्त्य गर्न मौलिक विशेषताको शान्ति प्रक्रिया अगाडि वढाएको, विद्रोही सेनाहरु राष्ट्रिय सेनामा समायोजन भई कमान्डर वनेको, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी सिद्धान्त सहित समाजवादउन्मुख संविधान निर्माण गरेको बारेमा विश्वलाई सुनाउने उदेश्य रहेको जनाएको छ ।
यस्तै विश्वमा भएका विभिन्न आन्दोलन, संघर्ष र परिवर्तनका कथा तथा विश्वले विकास र समृद्धिमा हासिल गरेको उपलव्धी र सिकाई नेपाले सिक्ने अवसर पाउने मञ्चको दावी छ ।
मञ्चमा १३ वटा विषयगत विधाहरु रहेका छन् । जसमा आर्थिक असमानता र आर्थिक न्याय, श्रम, आप्रवासन, दासत्व र मानव बेचबिखन, जात, काम र वंशमा आधारित भेदभाव, जाति, जातीयता, आदिबासी, छुवाछुत, र सबै प्रकारका भेदभाव, लिङ्ग, लैङ्गिकता, लैंगिक हिंसा र पहिचान, भूमि, कृषि, खाद्य सम्प्रभुता, पारिस्थितिकीय कृषि, उर्जा र प्राकृतिक स्रोत, शान्ति, द्वन्द्व, युद्ध, अधिग्रहण, विस्थापन र सुरक्षा, शिक्षा, कला र संस्कृति, सञ्चार, सामाजिक सञ्जाल र मिडिया, डिजिटल समानता, लोकतन्त्र, मानवअधिकार, अधिनायकवाद, कानून र न्याय, स्वास्थ्य, सामाजिक संरक्षण र समानता, जलवायु, पर्यावरण, न्यायोचित रुपान्तरण, बासस्थान र दिगो विकास, महिला, बालबालिका, युवा, जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरू, सामाजिक आन्दोलन, नागरिकको भूमिका र विश्व सामाजिक मञ्चको भविष्य आदि रहेका छन् ।
यसमा आधारित भएर चारसय वटा कार्यक्रम दर्ता भएका छन् । कार्यक्रममा हालसम्म ९१ देशका ११६५ वटा संस्थाहरु दर्ता भएका छन् । यसमध्ये संसदीय मञ्चको कार्यक्रम १४ फेब्रुवरीमा र अन्तर महादेशीय युवा मञ्च १७ फेब्रुवरीमा आयोजना हुनेछ । विश्व सामाजिक मञ्च २०२४ को उद्घाटन समारोह १५ फेब्रुवरीमा काठमाडौंको भृकुटिमण्डपमा हुनेछ । विषयगत छलफल तथा सम्मेलनहरू र समानान्तर सत्रहरू १६–१८ फेब्रुवरीमा भृकुटिमण्डप क्षेत्रमा आयोजित हुनेछन् । हरेक दिन कार्यक्रमहरू विषयगत प्लेनरीबाट सुरु हुनेछन्, त्यसपछि समानान्तर सत्रहरू, सभा सम्मेलनहरू हुनेछन र दिनको अन्त्यतिर सांस्कृतिक कार्यक्रमहरूका साथ समाप्त हुने आयोजकले जनाएका छन् ।
विश्व सामाजिक मञ्च नवउदारवादको विकल्पमा विचार र अनुभवको आदान प्रदान गर्ने स्वतन्त्र खुला मञ्चका रूपमा गम्भीर बहस गर्ने सिलसिलामा सन् २००१ मा ब्राजिलको पोर्तो एलेग्रेमा पहिलोपटक आयोजना गरिएको थियो ।
यसले नवउदारवाद, भूमण्डलीकृत पुँजिवाद, जलवायु संकट, पितृसत्ता, जाति तथा रंगभेद, नश्लभेद एवं लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायविरुद्ध हुने हिंसा, विभेद, द्वेषकाविरुद्धमा एकजुट भएर गरिने विश्वभरका आन्दोलन र नागरिक समाजका संगठनहरुको सामूहिक शक्तिलाई प्रतिनिधित्व गर्ने आयोजक संस्थाको दावी छ ।
प्रतिक्रिया 4