
७ चैत, काठमाडौं । बुधबार समग्र सेयर बजार ३.३४ अंक घट्दा माइक्रोफाइनान्स समूहको सूचक भने करिब १०० अंक बढ्यो । यस दिन अधिकांश माइक्रोफाइनान्स कम्पनीहरुको मूल्य उच्च दरमा बढ्यो । धेरै मूल्य बढेका दश कम्पनीमध्ये ७ वटा माइक्रोफाइनान्स मात्रै परे । गुराँस, धौलागिरि, गणपति, एनएमबी, आरम्भ चौतारी, मेरो र समता माइक्रोफाइनान्स अधिक मूल्य बढेका दश कम्पनीभित्र परे ।
अघिल्लो दिन मंगलबार पनि बजार ६.२४ अंक घट्यो तर माइक्रोफाइनान्स समूहको सूचक ७९ अंक बढ्यो । सो दिन धेरै मूल्य बढेका १० कम्पनीमध्ये ६ कम्पनी माइक्रोफाइनान्स थिए । विगत केही दिनयता नै माइक्रोफाइनान्स कम्पनीहरुमा उत्साह देखिएको छ ।
अर्थात् बुधबार यो माइक्रोफाइनान्स समूहको सूचक साउन ८ गतेयताकै उच्च भएको छ । बुधबार माइक्रोफाइनान्स समूहको सूचक ४०६३ अंकमा पुगेको छ, जुन अंक ८ महिनायताकै उच्च हो । गत मंसिर १९ गते यो समूहको सूचक ३२३५ अंकमा झरेको थियो ।
विगत लामो समय नै माइक्रोफाइनान्स समूहका लगानीकर्ता चरम निराशामा थिए । माइक्रोफाइनान्स कम्पनीहरु नै खारेज गर्नुपर्ने, ती कम्पनीबाट लिएको ऋण नतिर्ने, ऋण उठाउन आउने कर्मचारीलाई हातपात गर्ने जस्ता घटनाले माइक्रोफाइनान्सका लगानीकर्ता नै चरम निराशामा थिए । कतै माइक्रोफाइनान्स कम्पनीहरु नै धरासयी हुने हुन् कि भन्ने शंसयले लगानीकर्ता जति मूल्य पाइन्छ, त्यतिमै भएको सेयर पनि बेच्न हतारिन्थे । जसले गर्दा यो समूहको सूचक निकै तलसम्म झरेको थियो ।
लगानीकर्तामा व्याप्त निराशा कम्पनीहरुको सेयर मूल्यले दर्शाएको थियो । साढे २ वर्षअघि प्रतिकित्ता ५ हजार माथि पुगेका माइक्रोफाइनान्स कम्पनीको मूल्य गत मंसिरमा ११ सय हाराहारीमा झरेको थियो, जतिबेला माइक्रोफाइनान्स कम्पनीहरुप्रति अनर्गल प्रचारप्रसार व्यापक भएको थियो ।
तिनै माइक्रोफाइनान्स कम्पनीहरु यतिबेला सेयर बजारमा तंग्रिन थालेका छन् । केही दिनयता बजार घट्दा पनि यो समूहको सूचक बढेपछि लगानीकर्ता खुसी भएका छन् । माइक्रोफाइनान्सप्रति लगानीकर्ताको चरम निराशा हटेको छ, सकारात्मक भाव बढेको छ ।
माइक्रोफाइनान्स समूहको विगत १ महिनाको प्रदर्शन:
बजारका जानकार तथा लगानीकर्ता सुवासचन्द्र ढुंगाना यो समूहको सूचक विगतमा धेरै नै तल झरेको र पछिल्लो समय सरकार र संघर्ष समितिबीच सहमति जुटेपछि लगानीकर्तामा आशा बढेको बताउँछन् ।
‘विगतमा केही समूहले लघुवित्त कम्पनीविरुद्ध गरेको विरोध प्रदर्शन, उनीहरुका माग सुन्दा लगानीकर्ता निराश भएका थिए, त्यतिबेला मूल्य धेरै नै घटेको थियो’ उनले भने । तर पछि मिटरब्याज पीडितसँग वार्ता भएपछि लघुवित्तका समस्या पनि हल हुने आश लगानीकर्तामा बढ्यो । नभन्दै सरकारसँग लघुवित्त संघर्ष समितिको वार्ता सफल भयो ।
‘लघुवित्तका ऋणीलाई ऋणको पुनर्तालिकीकरण तथा पुर्नसंरचना गरी सहजीकरण गर्नेगरी सरकारले प्रतिबद्धता जनाएको छ, जसकारण यो क्षेत्रका लगानीकर्ता सकारात्मक भएका छन्’ उनले भने ‘यो लागू हुँदा निष्क्रिय कर्जा घट्न जाने, प्रोभिजन रकम घट्ने र यसले नाफा बढाउन पनि टेवा पुग्छ ।’
माइक्रोफाइनान्स समूहको वृद्धिदर टिक्नेमा भने आशंका प्रशस्त छन् । समग्र बजार घटेका कारण यो समूह मात्रै अलग्गै रहने संभावना न्यून हुने लगानीकर्ता बताउँछन् । अर्कोतर्फ सरकारले गरेका प्रतिबद्धता कार्यान्वयनको क्रमले पनि माइक्रोफाइनान्स समूहको सूचकलाई आगामी दिनमा प्रभाव पार्ने ढुंगाना बताउँछन् ।
प्रतिक्रिया 4