+
+

बैंकको सेयर किन्नै नपाउने अवस्था किन आयो ?

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १३ गते १६:४५

१३ साउन, काठमाडौं । सूचीकृत १९ वाणिज्य बैंकमध्ये आइतबार स्टान्डर्ड चार्टर्डको मूल्य ८.३ प्रतिशत बढ्यो । सोबाहेक अरू सबै १८ बैंकको मूल्य १० प्रतिशत बढ्यो ।

१० प्रतिशत मूल्य बढ्दा पनि खरिदकर्ताले सेयर किन्न पाएनन् । बजारमा सूचीकृतमध्येका हाई क्याप कम्पनी मानिने बैंककै सेयरमा आइतबार एकाएक आपूर्ति कसिलो बन्यो ।

यो सूचक मजबुत रुपमा बढेको देखिन्छ । ९.८९ प्रतिशत बढेको बैंकिङ समूहको सूचक १५७४ अंकमा पुगेको छ । जुन २७ महिनायताकै उच्च हो ।

आइतबार कुल १५ अर्ब ८१ करोडको कारोबार भएकोमा बैंकिङ क्षेत्रको मात्रै ३ अर्ब ९६ करोडको कारोबार भयो । सामान्यतः हाइड्रोपावर समूहको उच्च कारोबार हुने गरेकोमा यस दिन बैंकिङ समूहको कारोबार सबैभन्दा उच्च रह्यो ।

मुख्यतः मौद्रिक नीतिले बैंकहरुको बिजनेस विस्तारमा केही सहयोग पुर्‍याएपछि बैंकहरुको सेयर मूल्य उच्च दरमा बढेको हो । ‘मौद्रिक नीतिले बैंकको व्यवसाय वृद्धि गर्नेगरी सहज वातावरण बनाएको छ, मूल्य न्यून भएकाले पनि यो क्षेत्रमा आकर्षण उच्च देखियो’ लगानीकर्ता सुवासचन्द्र ढुंगानाले भने ।

मौद्रिक नीतिले निजी क्षेत्रमा जाने कर्जा १२ प्रतिशत बढाउने लक्ष्य लिएको छ । लक्ष्यअनुसार कर्जा विस्तार भएमा थप करिब ६ खर्ब रुपैयाँ प्रवाह हुनुपर्नेछ । त्यस्तै पूँजी कोषलाई राहत हुनेगरी केही नीतिगत व्यवस्था गरिएको छ, यसले थप लगानीका लागि बैंकहरुलाई सहज बनाउने ढुंगानाले बताए ।

अर्को मुख्य विषय साउन मसान्तसम्म पाकेको साँवा ब्याज असुल भएमा त्यस्तो रकमलाई आर्थिक वर्ष २०८०/८१ को आम्दानीमा राख्न पाउने व्यवस्था गरिएको छ ।

यो व्यवस्थाले बैंकहरुको चौथो त्रैमासिक वित्तीय विवरणमा प्रभाव देखिने छ । मौद्रिक नीतिका अलवा यतिबेला सबैभन्दा सस्तो र भरपर्दो क्षेत्र भनेकै बैंकिङ रहेकाले यतातिर धेरै लगानी मोडिएको ढुंगाना बताउँछन् ।

आइतबार बैंकको सेयर किन्न नपाउने अवस्था देखिए पनि त्यो यस दिनका लागि मात्रै हुन सक्ने ढुंगाना बताउँछन् । ‘सेकेण्डमै लगानीकर्ताको मनोभावना परिवर्तन हुन सक्छ, त्यसकारण एक दिन सेयर किन्न नपाउँदैमा त्यो अवस्था रहिरहँदैन’ उनले भने ।

आइतबार १० प्रतिशत मूल्य बढेका बैंकहरुको सेयर खरिद गर्न आदेश पोस्ट गरेकाले पनि खरिद गर्न पाएनन् । बैंक हाई क्याप कम्पनी भएकाले सोमबार नै यो अवस्था नआउने लगानीकर्ता बताउँछन् ।

‘अहिले पनि कतिपय बैंकहरुको मूल्य २ सयनजिक छन्, जसले गर्दा पनि ठूलो संख्यामा सेयर उठाउनेहरु सक्रिय हुँदा यो क्षेत्रले राम्रो लय समाएको छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?