कविता कन्सर्टका स्पटलाइट
‘बाबु, तपाईं कवितामा आउनुभएन भने तपाईंलाई कविताको पाप लाग्छ’ थर्रथराउँदै गरेको हातले उनको हात समातेर राष्ट्रकवि माधवप्रसाद घिमिरेले यत्ति भनेका थिए ।
त्यसअघि उनी के थिए ? त्यसपछि उनी के भए ? कविवरको त्यही आशीर्वचनलाई भूमध्यरेखा मानेर नवराज पराजुली (३७) लाई दुई कित्तामा राखौं ।
त्यसअघि उनी कवि थिएनन् । मामुली मान्छे थिए । लोकसेवा आयोगको तयारी गर्दै थिए । परराष्ट्रमा अधिकृतको नाम निकालेर ऐसको जिन्दगी बिताउने सोच्दै थिए । साथीभाइले भनेका थिए, ‘परराष्ट्र मन्त्रालयमा अधिकृत भइयो भने जीवनभरमा ६ वटा देश डुल्न पाइन्छ ।’ आफूले ताकेको जागिरमा यो खास चुम्बकीय प्याकेज थियो ।
उनी कम्तीमा अधिकृत हुन र ६ वटा देशको सयर गर्न चाहन्थे । त्यसैले त कीर्तिपुरको कुनै डेरामा बसेर मोटा–मोटा किताब घोकिरहेका हुन्थे । कर्णालीको लम्बाइ कति छ ? कोतपर्व कहिले भयो ? इत्यादि ।
विस्मात्को कुरा के थियो भने, उनी कर्णालीको बखान गर्न सक्थे तर लम्बाइ याद गर्न सक्दैनथे । कोतपर्वको निबन्ध लेख्न सक्थे तर तिथिमिति स्मरण गर्न सक्दैनथे । किनभने संख्या वा अंकहरू उनको दिमागमा त्यति सजिलै घुस्दैनथ्यो ।
तैपनि ६ वटा मुलुक डुल्नु नै थियो, लोकसेवा पास गर्नु नै थियो । घुम्ने मेचमाथि बसेर सरकारी सेवा गर्नु नै थियो । यसका लागि थानका थान लोकसेवाका ठेलीहरू नपल्टाई धरै थिएन । बेपर्वाह देश–परदेश चहार्ने चाहले अधीर बनाएको थियो । तर आफू हुर्केको परिधिभन्दा धेरै टाढासम्म पुगेकै थिएनन् । टाढा पुगेका भनेको सिलगढीे, जहाँ उनी चिनी किन्न गएका थिए ।
एकदिन प्राध्यापक डा. सनतकुमार वस्तीले मनकै कुरा भने, ‘हिंड, राष्ट्रकविकहाँ ।’

नेपाली साहित्य पढाउने वस्तीले आफ्ना विद्यार्थीलाई राष्ट्रकविसँग भेटाउने मेसो मिलाएका रहेछन् । त्यसैमा सम्मिलित भए, नवराज पनि । उनीहरूको समूह लैनचौरस्थित कविवरको घर पुग्यो । अचानक प्राध्यापक वस्तीले नवराजलाई सोधे, ‘के राष्ट्रकविलाई कविता सुनाउने हो ?’
नवराज यही मौकाको पर्खाइमा थिए । उनीसँग केही थान कविता थिए, जो उनले मूलधारका अखबारहरूमा प्रकाशनार्थ पठाएका थिए । तर सबैबाट अस्वीकृत भयो । न कविता छापिन्छन्, न कतै सुनाउने ठाउँ पाइन्छन् ।
ती कविता साथीभाइलाई सुनाउँदा प्रतिक्रिया आएको थियो, ‘गज्जब छ ।’ तर साथीभाइ भनेका साथीभाइ न हुन्, जो सत्यभन्दा बढी मीठो कुरा बोलिदिन्छन् । उनलाई आफ्नै कविताप्रति संशय जागेको थियो । के मैले लेखेका यी हरफहरू कविता हुन् ? कविता भए वा भएनन् ?
यो संशय त्यसबेला अरू उत्कर्षमा थियो, जतिबेला उनी कविवर माधवप्रसाद घिमिरेको सम्मुखमा थिए । नवराजले आफ्नो कविता धीत मरुञ्जेल सुनाइदिए । साना बालकले झैं निकै उत्सुक भएर कविता सुनिसकेपछि कविवर घिमिरेले उही कम्पनयुक्त स्वरमा भने, ‘कविता भएर आयो । तपाईं कवितामा आउनुभएन भने, कविताको पाप लाग्छ ।’
राष्ट्रकविको आशीर्वचनले नवराजको आत्मविश्वासमा लाहाछाप लाग्यो । यी कविता सहीसलामत छन् । त्यसपछि उनी सरासर डेरा फर्के । आफैंमा गद्गद् हुँदै प्रण गरे, ‘म कविता लेख्नेछु ।’
लोकसेवाका किताबहरू एकातिर थन्क्याए । साथीभाइसँग ग्रुप स्टडी चल्दैथियो, उनी त्यहाँ पुगे । साथीहरूले सोधे, ‘खै त किताब ?’ नवराजले निर्धक्क भने, ‘अब म अधिकृत नहुने ।’ साथीहरूले जिल्याए, ‘अनि लन्डन, सिड्नी चाहिं के नि ?’
त्यसअघिसम्म नवराजको प्राथमिक सूचीमा थिए, यी दुई शहर । ६ मुलुक भ्रमण गर्न पाइएमा सबैभन्दा पहिले लन्डन जाने, त्यसपछि सिड्नी ।
‘लन्डन, सिड्नी त जाने नै हो । तर कविता सुनाउन जाने ।’ यो जवाफ नवराजको मुखबाट कसरी फुत्कियो, उनी स्वयम्ले भेउ पाएनन् । त्यसबेलासम्म उनले जम्माजम्मी तीन वटा कविता लेखेका थिए । कविता लेखेरै सपनाको शहर पुग्छु भनेर हाँक दिन उसलाई के कुराले उकास्यो ? थाहा छैन ।
कविता सुनाएर लन्डन, सिड्नी जाने कुरा हास्यास्पद थियो । साथीहरू गलल्ल हाँसे । नवराजको मन कुँडियो । उनले आँखाभरि आँशु बनाएर भने, ‘केटा हो, तिमीहरू लोकसेवा आयोगको तयारी गर । अधिकृतमा नाम पनि निस्कियोस् । तर, सकेसम्म नाम चाहिं चाँडै निकाल्नु । यदि ढिलो गरेमा लोकसेवाको प्रश्नोत्तरमा मेरो नाम पनि हुनेछ ।’
त्यो झोंक थियो । झोंक्किएरै उनले गफ दिएका थिए । तर, समयक्रमले त्यसलाई सत्य बनाइदियो । आज लोकसेवा आयोगको पुस्तकमा दुईवटा प्रश्न समावेश छन्, ‘सगरमाथाका गहिराइका लेखक को हुन् ? २०७३ सालको पद्मश्री साहित्य पुरस्कार कसले पाए ?’
यी दुवैको सही उत्तर हो, नवराज पराजुली ।
०००
धेरै बखान गर्नुपर्दैन नवराज पराजुली को हुन् ?
किशोरदेखि बुढापाकासम्म जोड्ने, देशदेखि परदेशसम्म जोड्ने काव्यिक रसायन हुन् उनी । उनको कविता सुन्नकै लागि अधीरसाथ पर्खनेहरूको जमात जताततै छ ।
कविताको परख गर्नेहरू त छँदैछन्, कविता सुन्दै नसुनेकाहरू पनि उनलाई सुन्न लालायित छन् । यसो हुनुमा उनीद्वारा लिखित कविताको आफ्नै गुरुत्वबल छ र त्यसलाई अरू सम्मोहित बनाएको छ उनको वाचन शिल्पले ।
नवराज पराजुली खासगरी ‘पर्फमेन्स पोयट्री’ का लागि कहलिएका छन् । उनी मञ्चमा उभिएर वाद्यवादनको धुनसँगै आफ्नो कविता वाचन गर्छन् । कविता र त्यसले पैदा गर्ने तरंगलाई आफ्नो भावभंगीमा प्रस्तुत गर्छन् । त्यसैले नवराजको कविता पढ्न भन्दा बढी सुन्न र सुन्न भन्दा बढी हेर्न रुचाइन्छ ।
त्यसो नहुँदो हो त सिक्किमदेखि स्विट्जरल्यान्डसम्म, दुबईदेखि डेनमार्कसम्म, अमेरिकादेखि अष्ट्रेलियासम्ममा उनलाई बोलाइने थिएन । जबकि उनलाई कविताले नै विश्व परिक्रमा गराइरहेको छ । केही थान कविता बोकेर विश्व घुमिहिंड्ने विरलै कविमध्ये एक हुन् उनी ।

जर्मनी, इङ्गल्यान्ड, स्कटल्यान्ड, फिनल्यान्ड, नर्वे, माल्टा, चेक रिपब्लिक, पोर्चुगल जस्ता विश्वका २० बढी मुलुक पुगेका छन् र प्रवासीमाझ नेपाली स्वादका कविता सुनाइसकेका छन् । नवराज पराजुलीको कविता कन्सर्ट त्यसरी नै हुन्छ, जसरी कुनै भव्य सांगीतिक कार्यक्रम हुन्छ ।
सःशुल्क कविता कन्सर्टमा दर्शक/श्रोताले केही शर्त भने पालना गर्नुपर्छ । जस्तो कि, त्यहाँ खासखुस गर्न पाइँदैन, नाच्न–उफ्रन पाइँदैन, आफूखुसी भिडियो खिच्न पाइँदैन । ‘किनभने कविता मनोरञ्जन मात्र होइन, आनन्दानुभूति पनि हो ।’ नवराजलाई त्यस्तै लाग्छ । उनलाई के पनि लाग्छ भने, कविता आफैंमा सौम्य विद्रोह हो । त्यसले मान्छेको मन हल्लाउनुपर्छ ।
चाहे त्यो ‘लोक सेवा आयोग’ होस् वा ‘बुद्धको टाउकोको मोल ।’ चाहे त्यो ‘वामपन्थी लभ’ होस् वा ‘स्कुल ।’ चाहे त्यो ‘हेभी बर्थडे’ होस् वा ‘एक्लै’ । उनको कविताले हृदयलाई शान्त त बनाउँछ, तर स्थिर हुन दिंदैन । कवितालाई संगीतसँग, संगीतलाई ध्यानसँग, ध्यानलाई विद्रोहसँग जोड्न सक्ने कवि हुन् उनी ।
उनको पृष्ठभूमि खोतल्न धेरै टाढा पुग्नुपर्दैन । थातथलो, झापा मंगलबारे । जन्ममिति, २०४३ साल । ‘अल नेपाल स्ल्याम पोयट्री २०१४’ का शीर्ष विजेता । उनको एउटा कविता संग्रह प्रकाशित छ, सगरमाथाको गहिराइ । अंग्रेजी साहित्यमा स्नातकोत्तर उनी अहिले पूर्णकालीन कवि हुन् ।
***
अहिलेका प्रविधि र पुस्तालाई जोड्ने गरी कविता वाचनको पृथक् शैली कसरी अपनाए ? कसरी कविता कन्सर्टका सिलसिला सुरु गरे ? नवराज पराजुलीको जीवनमा केही त्यस्ता घुम्ती छन्, जसले उनलाई आज कवि बनायो ।
घुम्ती एक
गुरुकुलमा मनु मन्जिलको कविता वाचन हुँदैथियो । सोही कविता सुन्न हाजिर थिए नवराज । त्यसबखत उनी कहिले कविता सुन्न त कहिले नाटक हेर्न पुगिरहेका हुन्थे ।
मनु मन्जिलले जसरी कविता वाचन गरे, त्यसले उनको हृदयमा झंकार पैदा ग¥यो । त्यो शैली, त्यो प्रस्तुति विछट्टै सुन्दर थियो । नवराजको अन्तरमनले भन्यो, ‘हो, मलाई पनि यस्तै केही गर्नुछ ।’
घुम्ती दुई
उनको मामाका छोरा वैदेशिक रोजगारका क्रममा मलेसिया गएका थिए, जसको अचानक मृत्यु भयो । पशुपति आर्यघाटमा बाकसबाट लास झिक्नासाथ निर्जीव छोराको खुट्टा ढोक्दै मामा थर्रर काँपे र के–के बर्बराए । सायद आफ्ना छोरालाई सुनाउनुपर्ने कति कुराले उनी भक्कानिए ।
त्यसैगरी कफिनमा लमतन्न परेका छोरासँग पनि त बुवालाई सुनाउनुपर्ने कति कुरा थियो होला, जो सधैंका लागि थाती रह्यो । नवराजले त्यो उकुसमुकुस आफूभित्र महसुस गरे र आफू हठात् लासमा रूपान्तरण भएको अनुभूत गरे ।
साँझ डेरा फर्केपछि मनमा परेको त्यही गाँठो फुकाउन कविता लेखे । त्यो कविता थियो, सगरमाथाको गहिराइ ।
‘..कसैले बाहिर निकाल मलाई
म मर्नुअघि
मेरा बुढा भएका बुवाका हातका नङ
नदुखाइकन काट्न चाहन्छु ।
म मर्नुअघि
मेरी आमाले पकाएको माली गाईको बिगौती
चाख्न चाहन्छु ।’
घुम्ती तीन
‘अल नेपाली पोयट्री स्ल्याम’ एक यस्तो प्लाटफर्म थियो, जसले उनको आयामिक चिनारी बनाइदियो । सन् २०१४ मा आयोजित यस प्रतियोगितामा उनले दुई कविता सुनाए, सतीदेवीको गाण्डीव र सगरमाथाको गहिराइ । अनि शीर्ष विजेता बने ।
सामाजिक सञ्जालले यसलाई थप व्यापक बनाइदियो । त्यसबेला झापाको काँकरभिट्टामा ‘कला साहित्य उत्सव’ आयोजना हुँदैथियो । लेखक एवं विश्लेषक उज्ज्वल प्रसाईंले उनलाई निम्तो गरे । आफ्ना बुवा सहित दिग्गज कवि–लेखकहरूलाई साक्षी राखेर उनले उही सम्मोहित भावमा कविता सुनाए ।
त्यसपछि उनको पहिलो कविता संग्रह छापियो, सगरमाथाको गहिराइ । यसले उनलाई कविको रूपमा लाहाछाप लगाइदियो ।
कविता वाचनका ‘ट्रेन्डसेटर’
उनका कविता सुन्न लम्बेतान पंक्तिमा उभिनुपर्छ, टिकट काट्नुपर्छ, पूर्वशर्तहरू पालना गर्नुपर्छ । कविता सुनाउनकै लागि उनलाई देश–परदेशका शहरहरूले आमन्त्रण गर्छन्, ठूला–ठूला पोस्टर टाँस्छन्, सानोतिनो हल्लीखल्ली मच्चाउँछन् । उनले कविता सुनाउने मञ्च विशेष साजसज्जाको हुन्छ, त्यहाँ केही न केही नयाँ प्रयोग गरिन्छ ।
जब हल दर्शकले हराभरा हुन्छ, तब उनी स्पटलाइटमा देखिन्छन् । पृष्ठभूमिमा मधुर धुन बज्न थाल्छ । त्यससँगै उनी कविता वाचन गर्न थाल्छन् । कविताका हरफहरूले जसरी दर्शकको हृदयमा उथलपुथल ल्याउँछ, त्यसरी नै उनको भावभंगिमा र पाश्र्व धुनले थप तरंगित बनाइरहन्छ ।

त्यसैले त नवराज पराजुलीका कविता सुन्ने एउटा छुट्टै जमात छ र त्यसको घनत्व ठूलो छ । यसअघि कविता भन्ने र सुन्नेहरूको यस्तो माहोल तयार भएकै थिएन ।
कवितालाई मञ्चमा ग्ल्यामराइज्ड गर्ने कुरामा होस् वा डिजिटलाइज्ड, उनी एक कदम अगाडि छन् । नतिजा, कविताबाट बाह्र हात टाढा दर्शक–श्रोतालाई पनि उनले एकत्रित गरेका छन् । यसमा उनको कविताले उधिन्ने बेजोड विषय र कविता वाचन गर्ने मोहक कौशल खास मानिन्छन् । उनको कविता प्रस्तुति कलात्मक हुन्छ र त्यसमा कुनै न कुनै प्रयोग पनि ।
जस्तो नर्वेमा कविता कन्सर्ट हुँदैथियो । त्यहाँ कविता सुनाइरहँदा त्यसको भाव अनुसार सुगन्ध महसुस गर्न सक्थे, दर्शकले । जस्तो वीर रसको हरफ सुनिरहँदा सोही भाव पैदा गर्ने सुगन्ध आउँथ्यो, करुण रसको हरफ सुनिरहँदा सोही भाव पैदा गर्ने सुगन्ध आउँथ्यो । किनभने हरेक दर्शकको कुर्सीमुनि कविताको भाव अनुरुप सुगन्ध पैदा गर्ने उपकरण जडान गरिएको थियो र यसको बन्दोबस्ती मिलाएका थिए स्मेल विशेषज्ञ रामहरि ढकालले । यसरी नवराज पराजुलीको हरेक प्रस्तुति विशेष र फरक हुने गर्छ ।
त्यसो त जतिबेला उनी कविता लेख्दैनथे, कविता सुन्न भने खुब रौसिन्थे । आफू श्रोता बनेर कविता सुनिरहँदा केही फरक भइदेयोस् भन्ने अपेक्षा राख्थे । यस्तै अपेक्षा राखेर पुगेका थिए, बीबीसीले आयोजना गरेको कविता कन्सर्ट सुन्न ।
तर उनले खोजे जस्तो वा सोचे जस्तो भइदिएन । त्यहाँ कविहरू आएर एकाध थान कविता वाचन गरे, पूर्ववत् शैलीमा । अनि भूपी शेरचनको कवितालाई गीत बनाएर वाद्ययन्त्र सहित गाइयो ।
त्यसक्षण उनलाई के लागेको थियो भने, वाद्यवादनसँगै कविता वाचन गर्न पाए, कविता वाचन गरिरहँदा हाउभाउद्वारा त्यसलाई प्रस्तुत गर्न पाए !
आफूभित्रको त्यही रिक्तता बोकेर उनी पहिलो पटक मञ्चमा उभिए, होटल ह्वाइट र्याबिटको मञ्चमा । यसमा उनलाई साथ दिए बाँसुरीवादक सम्यक महर्जनले । त्रिभुवन विश्वविद्यालयको जंगलमा एक हप्ता बसेर उनीहरूले बाँसुरीको धुनसँग कविता कसरी प्रस्तुत गर्ने भनी अभ्यास गरेका थिए । जसै उनले बाँसुरीको पाश्र्वधुनमा आफ्नो कविताहरू सुनाउन थाले, दर्शकमा अनेक किसिमको भावहरू पैदा भएको देखे । त्यही भाव, जसले उनलाई अझ कविता लेखिरहन, भनिरहन ढाडस दिइरह्यो ।
अनौठो संयोग त के भने, जतिबेला उनी कवि भएकै थिएनन् र लोकसेवा आयोगको तयारी गरिरहेका थिए त्यसबेला परराष्ट्र मन्त्रालयको अधिकृत भएर विदेश घुम्न पाए पहिले सिड्नी, त्यसपछि लन्डन जाने कल्पना गरेका थिए ।
तर, अधिकृत बन्ने बाटो त्यागेर जब उनी कविताबाट परिचित हुँदै गए ‘कविता कन्सर्ट’का लागि पहिलो निम्तो आयो, सिड्नीबाट । अष्ट्रेलियामा बसोबास गरिरहेका नोर्गेन नोर्बुले यसको चाँजोपाँजो मिलाएका थिए । त्यसको अर्को वर्ष रामशरण सिम्खडाले लन्डनबाट फोन गर्दै भने, ‘सर्लाहीमा युद्धबाट पीडित छात्राका लागि छात्रावास बनाउन सहयोग जुटाउने उद्देश्यले कविता कन्सर्ट गरौं न ।’ नवराज लन्डन गए, कविता सुनाए । त्यसबापत २५ लाख रुपैयाँ संकलन भयो ।
पैसा आफ्नो ठाउँमा छ, प्रसिद्धि आफ्नो ठाउँमा । त्योभन्दा महत्वपूर्ण त उनको त्यो भोक हो, जहाँ दर्शकका भावसँग साक्षात्कार गर्दै कविता सुनाउन पाइन्छ । त्यही नै उनको आनन्द र ऊर्जाको अविरल स्रोत हो ।
शिव मुखिया
ट्रेन्डिङ
सम्बन्धित
५० प्रभावशाली महिला २०८१
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी
५० प्रभावशाली महिला - २०८०
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी