
१२ फागुन, काठमाडौं । बाँदर र जंगली सुँगुर बँदेलले खेतीबाली नष्ट गरिदिँदा किसानहरु हैरान छन् । विभिन्न अध्यनले नेपालका ग्रामिण क्षेत्रका किसानहरू बाँदर र जंगली सुँगुरका कारण विस्थापित हुनुपर्ने अवस्थामा रहेको देखाएका छन् ।
संसदीय समितिको अध्ययनले समेत किसानलाई पहाडमा बाँदर र मधेसमा बँदेलले हैरान पारेको निष्कर्ष निकालेको छन् । समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गर्दै आएका छन् ।
सोमबार प्रतिनिधि सभामा ग्रामिण क्षेत्रमा बाँदर र बँदेलको आतंक नियन्त्रणको उपायबारे छलफल हुँदैछ । यससम्बन्धमा नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव लगेका थिए । त्यही जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुन लागेको हो ।
कांग्रेस सांसद बजगाईंले लगेको प्रस्तावमा नेपालका ग्रामिण क्षेत्रमा बाँदर र जंगली सुँगुर को आतंक रहेको उल्लेख छ । जसबाट खेतीबाली नष्ट भई किसानहरुको सुरक्षामा समेत खतरा पैदा भएको भनेर बजगाईंले यो समस्याको दिर्घकालीन समाधानको उपाय खोजिनुपर्ने बताएका छन् ।
बाँदर र बँदेलबाट कृषिबाली जोगाएर किसानहरूको सुरक्षा गर्नुपर्ने उनको माग छ । कृषि सुरक्षाको सुनिश्चितता, वन्यजन्तु व्यवस्थापन र वातावरणीय सन्तुलन कायम राखका लागि नीति निर्माण र कार्यान्वयनमा जोड दिंदै जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रतिनिधि सभामा लगेका हुन् । यसको प्रस्तावका समर्थकमा कांग्रेसकै सांसदद्धय उदय शम्शेर जबरा र संजय कुमार गौतम रहेका छन् ।
बाँदर नियन्त्रणका लागि वैकल्पिक उपाय र बंदेल व्यवस्थापनका लागि शिकारी नीति आवश्यक रहेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा उल्लेख छ ।
जरुरी सार्वजनिक महत्वको प्रस्तावमा निम्नानुसार विषयहरूलाई प्रस्तुत गरिएको छ ।
समस्या के छ ?
- नेपालका ग्रामीण क्षेत्रमा बाँदर र जंगली सुंगुर (बंदेल) को बढ्दो समस्या किसानहरूका लागि गम्भीर चिन्ताको विषय बनेको छ ।
- बाँदरले खेती नष्ट गर्दा किसानहरूलाई आर्थिक क्षति हुन्छ ।
- बंदेलले आक्रमण गरी बाली सखाप पार्नुका साथै किसानहरूको सुरक्षामा समेत खतरा पैदा गरेको छ।
- हालको वन्यजन्तु संरक्षण कानुनले प्रभावकारी समाधान दिन नसक्दा किसानहरू निराश भएका छन् ।
दीर्घकालीन समाधान के हुन सक्छ ?
- बाँदर नियन्त्रणका लागि वैकल्पिक उपाय अपनाउने
- बाँदरलाई मार्न नहुने भएकाले मानवीय समाधान अपनाउनुपर्छ ।
नियन्त्रणका विधिहरू के हुन सक्छन् ?
- बाँदरलाई ‘खाद्य बगैंचा’ वा सामूहिक फलफूल खेती क्षेत्र स्थापना गरेर जंगलमै रोक्ने,
- जैविक घेराबार जस्तै खुर्सानीको झोल वा बाँदरलाई मन नपर्ने बोटबिरुवा लगाउने,
- ध्वनि प्रणाली प्रयोग गरी खेतीयोग्य क्षेत्रबाट टाढा राख्ने,
- स्थानीय वन विभागसँग सहकार्य गरी बाँदर नियन्त्रण टोली खडा गर्ने ।
बंदेल नियन्त्रणका लागि सिकारी नीति अपनाउने
- बंदेलको आक्रमणलाई प्रतिरोध गर्न अर्धस्वचालित बन्दूकको लाइसेन्स दिने नीति लागू गरिनुपर्छ।
- प्रशिक्षित कृषकलाई बन्द’क लाइसेन्स उपलब्ध गराउने :
- सरकारी तालीम प्राप्त किसानहरूलाई मात्र अर्धस्वचालित बन्दूकको अनुमति दिने।
- यसका लागि अनिवार्य प्रशिक्षण कार्यक्रम र लाइसेन्स प्रणाली लागू गर्ने।
- बन्दूकको दुरुपयोग रोक्न स्थानीय प्रशासन, वन कार्यालय र सुरक्षा निकायको अनुगमन प्रणाली लागू गर्ने।
सिकारी कर लागू गर्ने
- प्रत्येक मारेको बंदेल बराबर सरकारलाई निश्चित राजस्व बुझाउने प्रणाली,
- यसबाट अनियन्त्रित शिकारलाई रोक्ने र व्यवस्थापन गर्ने
- अनुमति प्राप्त शिकारी वा ‘Wildlife Management Units’ लाई मात्र शिकारी लाइसेन्स दिने ।
स्थानीय सरकार, वन विभाग र किसानहरूको समन्वय
- वन्यजन्तु समस्या भएका क्षेत्रमा निगरानी टोली खडा गर्ने,
- कृषकहरूलाई वैकल्पिक समाधानबारे सचेत गराउने र सहजीकरण गर्ने,
- Electric Fence जस्ता नवीन समाधानहरू लागू गर्ने ।
छलफल गर्नु पर्नाको कारण
- वन्यजन्तु संरक्षणको नाममा किसानहरूलाई पीडामा राख्नेभन्दा सन्तुलित नीति आवश्यक छ ।
- बाँदर नियन्त्रणका लागि मानवीय र वैकल्पिक उपायहरू अपनाउने ।
- बंदेल नियन्त्रणका लागि शिकारी नीति लागू गर्ने र प्रशिक्षित कृषकलाई अर्धस्वचालित बन्दूकको अनुमति दिने ।
- स्थानीय सरकार, प्रशासन, वन विभाग र किसानहरूबीच समन्वय गर्ने ।
- यस नीति लागू गरेमा कृषि सुरक्षाको सुनिश्चितता, वन्यजन्तु व्यवस्थापन, र वातावरणीय सन्तुलन कायम राख्न सकिन्छ ।
प्रतिक्रिया 4