बिमार जितेर बडीबिल्डर
रजनी श्रेष्ठ, शारीरिक सुगठन अर्थात् बडीबिल्डर खेलाडी । बडीबिल्डिङमा सामान्यतः पुरुष खेलाडी धेरै हुन्छन् । तर रजनी त्यस्ती पात्र हुन्, जसले नेपालबाट प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय पदक जितेकी छन् ।
रजनीले गत मंसिरमा माल्दिभ्समा सम्पन्न १५औं वर्ल्ड बडीबिल्डिङ एण्ड फिजिक च्याम्पियनसिप–२०२४ मा महिला ५५ केजी तौल समूहतर्फ रजत जितिन् । वर्ल्ड च्याम्पियनसिपमा उनको पहिलो प्रतिस्पर्धा थियो, र पदकविहीन हुनु परेन ।
‘गोल्ड ल्याउने लक्ष्य राखेकी थिएँ, तर सिल्भर ल्याएँ देशका लागि’, रजनी भन्छिन् । रजनीले राष्ट्रिय स्तर हुँदै दक्षिण एशियाली, एशियाली र विश्व प्रतियोगितामा पदक जितेकी छन् ।
थाहै नपाई बडीबिल्डर
रजनीले सन् २०१७ देखि खेल्न शुरू गरेकी हुन् । त्यो बेला महिलाका लागि कुनै क्याटेगोरीबारे नै उनलाई थाहा थिएन । विस्तारै बुझ्दै गइन् । बडीबिल्डिङमा बडीबिल्डिङ मात्र नभएर अरू विधा पनि हुन्छन् । जस्तै– मोडल फिजिक्स, फिजिक्स, स्विम सुट ।
शुरूमा रजनीले महिला फिजिक्स विधामा सहभागिता जनाएकी थिइन् । सन् २०१७ मा मिस्टर काठमाडौंमा सहभागी भइन् । त्यसमा उनी महिलातर्फ फिजिकमा पहिलो भइन् । त्यसपछि उनी आफैंले राम्रो बडी बनाउन युट्युब हेर्न थालिन् । प्रतियोगितामा भाग लिन भने एक वर्ष ग्याप राखिन् ।

सन् २०१९ मा रजनी फेरि स्टेज चढिन् । २०१९ मा सम्पन्न साउथ एशियन गेम्समा प्रतिस्पर्धा गर्दा रजनीको बडी स्ट्रक्चर नै परिवर्तन भइसकेको थियो । उनको शरीर फिजिकबाट बडीबिल्डिङको वेइट क्याटेगोरीमा पुगिसकेको थियो ।
‘२०१९ मा एकै पटक खेल्दा मेरो साइज बढी नै बनाइसकेकी रहेछु । साउथ एशियनमा मैले फिजिकमा खेलेकी थिएँ । जजहरूले तपाईंको जीउ एकदमै राम्रो छ, तर यो फिजिक भन्दा पनि बडीबिल्डिङ भयो भन्नुभयो’ रजनी भन्छिन्, ‘फिजिक भन्दा बडीबिल्डिङ खेल्नु भन्नुभयो । म झन् खुशी भएँ । मैले यति मिहिनेत गरिसकेकी रहेछु भन्ने भयो ।’
सन् २०१९ मा इन्डोनेसियामा हुने ५३औं एशियन बडीबिल्डिङ च्याम्पियनसिप नजिकिंदै थियो । उनले बडीबिल्डिङमै प्रतिस्पर्धा गर्ने सुझाव पाइन् । र, त्यसैमा तयारी गरिन् ।
नेपालबाट दिनेश राजभण्डारीसँगै रजनी पनि इन्डोनेसिया गइन् । बडीबिल्डिङमा सात फरक पोज दिनुपर्छ । यो फिजिक भन्दा फरक थियो । शुरूमा उनलाई पोजबारे धेरै जानकारी थिएन । तर विस्तारै बानी पारिन् ।
‘एक्लै आएकी छु भने मैले बेस्ट दिनुपर्छ भनेर बेस्ट दिएँ । नभन्दै देशको लागि सिल्भर ल्याउन पाउँदा आफैंमाथि गर्व लाग्यो’, उनी भन्छन् ।
त्यसबेला उनले महिला ५५ केजी तौल समूह र महिला ३० वर्षमाथिको विधामा गरी दुई पदक जितेकी थिइन् । ‘त्यतिखेरको फिलिङ व्यक्त गर्नै सक्दिनँ । एकदमै प्राउड मोमेन्ट थियो’ उनी भन्छिन्, ‘मलाई बडीबिल्डर रजनी श्रेष्ठ भनेर चिनाउन दिनेश दाइको ठूलो सहयोग छ ।’ यसपछि रजनीले लगातार महिला बडीबिल्डिङमै प्रतिस्पर्धा गर्न थालिन् ।
सन् २०२३ मा नेपालमै भएको ५५औं एशियन बडीबिल्डिङ च्याम्पियनसिपमा उनले आफ्नो फेभरेट विधा ५५ केजी समूहमा नेपालका लागि स्वर्ण जितिन् । यो उनको पहिलो अन्तर्राष्ट्रिय स्वर्ण पदक थियो । त्यो पनि आफ्नै परिवारको सामुन्ने जित्न पाउनु सुखद् क्षण थियो ।
यो स्वर्णपछि दक्षिण कोरियामा हुने १४औं वर्ल्ड बडीबिल्डिङ च्याम्पियनसिपको तयारी थालिन् । यद्यपि अन्तिम समयमा कोरियाको भिसा नआउँदा सहभागी हुन पाइनन् । काठमाडौंमा रजनीसँग पछि परेका खेलाडीहरूले त्यहाँ स्वर्ण र रजत जिते ।
रोगको उपचार जीम
मोरङकी रजनीले सानै उमेरमा विवाह गरिन् । छोरो जन्मियो । उमेरले तीन दशक हुँदा रजनीको स्वास्थ्यमा समस्या देखियो । घाँटीमा मासुका डल्ला देखिएपछि उनी आत्तिइन् । नेपालदेखि भारतका अस्पतालहरू पुगिन् ।
‘सबैतिर क्यान्सरको शंका गर्नुभयो । एक हप्ता औषधि खाँदा ठिक भएको जस्तो हुने । नखाँदा फेरि उस्तै हुने’ रजनीले भनिन्, ‘मैले डा. मीरा लगायत धेरैलाई देखाएँ । एक्सरे गरेर हेर्दा मेरो घाँटीमा २७–२८ वटा मासुका डल्ला छर्लङ्गै देखिन्थ्यो । त्यतिखेर मलाई बायोप्सी गर्नुपर्छ, यो निकाल्नुपर्छ भनेर भन्नुभयो । हामी घर फर्केर रातभरि रोयौं ।’

यस्तो समस्याले दुई वर्ष सतायो । डिप्रेसनकै तहमा पुगिन् । श्रीमान् र छोरा पनि चिन्तित थिए । एक दिन श्रीमान् समिर श्रेष्ठले रजनीलाई जीम जान सल्लाह दिए । जीम र फिटनेसले धेरै रोग निको भएको समिरले बताएपछि रजनी पनि जीम जान तयार भइन् । त्यो बेलासम्म उनलाई जीममा खासै रुचि थिएन ।
‘श्रीमान्सँगै मित्रपार्कमा रहेको अन्जन शाहीको जीममा गयौं’ रजनी भन्छिन्, ‘विस्तारै एक्सरसाइज गर्दै गएँ । जीम ओनर अन्जन शाही दाइ र मेरो श्रीमान्ले ट्रेन गराउनुभयो । मलाई वेइट ट्रेनिङमा फोकस गराउनुभयो । एक महिना–दुई महिना बित्यो । त्यसपछि छाम्दा सबै डल्लाहरू गायब भएछन् ।’
श्रीमान् भगवान् जस्तै बने । ‘गडले नै तिमी जीम जाउ अनि ठीक हुन्छ भन्नुभए जस्तो भयो’, उनी भन्छिन् । जीमबाट विस्तारै उनको शरीर परिवर्तन हुँदैगयो । रजनी फिट देखिन थालिन् । त्यत्तिकैमा अन्जन शाहीले मिस्टर काठमाडौंमा भाग लिन सुझाव दिए । श्रीमान्ले पनि सहमति जनाए । अनि शुरू भयो– रजनीको बडीबिल्डिङ करिअर ।
स्टेज उक्लेपछि ब्ल्याङ्क
रजनीको रोग निको भयो । शरीर राम्रो भयो । बडीबिल्डिङ प्रतियोगितामा भाग लिन थालिन् । तर एक छोराकी आमा । टु पिसमा प्रतिस्पर्धा गर्नुपर्ने । घर समाजले के भन्ला ? सहज हुने कुरै थिएन ।
‘जब मैले स्टेजमा जानुपर्छ पब्लिकको अघि टु पिसमा देखिनुपर्छ भन्दा एकदम नराम्रो लागेको थियो । घरपरिवार, छरछिमेक सबैले हेर्छ भन्ने भा’थ्यो’ रजनीले सुरुआती क्षणबारे भनिन् । तर त्यस्तो समस्या पनि समाधान हुँदै गयो । ‘जब म स्टेजमा जान्छु, कसरी बडी पार्टमा फोकस हुन सकुँ भन्नेमा ध्यान हुन्छ । अरू सबै ब्ल्याङ्क हुन्छ’, उनी भन्छिन् ।
स्टेज चढेपछि सबै बिर्सेर ब्लास्ट गर्ने कला नै रजनीको ऊर्जा बन्यो । ‘तिमी स्टेज बाहिर झोक्राएर बसेको जस्तो देखिन्छ्यौ, जब स्टेजमा जान्छ्यौ अचम्म गछ्र्यौ भन्छन् साथीहरूले’, उनी भन्छिन् । अन्तर्राष्ट्रिय प्रतियोगिताहरू खेल्न थालेपछि छरछिमेकले पनि कुरा बुझ्न थालेको उनी बताउँछिन् ।
रजनीको यो सफलतामा सबैभन्दा धेरै साथ त परिवारबाटै प्राप्त भएको छ । ‘परिवारबाट पूर्ण समर्थन छ’ उनी भन्छिन्, ‘एउटा पुरुषको सफलतामा महिलाको हात हुन्छ भने जस्तै मेरो सफलता पछाडि पुरुषको हात छ ।’
जीवन र माया
रजनीले बडीबिल्डिङमा लागेर प्राप्त गरेको सबैभन्दा ठूलो कुरा जीवन हो । त्यसपछि सारा नेपालीको माया । रोग लाग्दाकी रजनी र बडीबिल्डर रजनीको जीवनमा धेरै परिवर्तन छ । ‘एकदमै धेरै परिवर्तन भा’छ । पहिलो कुरा त नयाँ जीवन पाएकी छु । त्यसपछि सबैको माया पाएकी छु । जसलाई शब्दमा बयान गर्न सक्दिनँ’, उनी भन्छिन् ।
कतिसम्म भने उनलाई नेपालबाट मात्र नभई, छिमेकी भारतको दार्जीलिङ, भुटानबाट समेत फोन मेसेजहरू आउने गर्छन् । जसले उनलाई अझ धेरै उत्साह थपेको छ । ‘शुरूमा आफ्नो परिवार र छरछिमेकको माया पाएकी थिएँ, अहिले मलाई देशले माया गर्छ । जीवन परिवर्तन भा’छ । धेरैले फलो गर्नुहुन्छ, एकदम खुशी लाग्छ ।’

आफूबाटै प्रभावित भएर सुदूरपश्चिमकी एक महिलाले त छोराछोरी हुर्किसकेपछि जीम गरेर बडीबिल्डिङमा लागेको रजनीले बताइन् । ‘सुदूरपश्चिमबाट एक जना सिस्टरले तपाईंलाई देखेपछि म पनि यो फिल्डमा लागें भनेर गर्व गर्नुभयो । म एकदमै भावुक भएँ ।’
महिला फिटनेस सेन्टरहरू पनि धमाधम खुल्न थालेका छन् । ती सेन्टरको उद्घाटनमा रजनी पनि जान्छिन् । किनकि त्यसमा महिलाहरू धेरै हुन्छन् । महिलाहरूले घरको काम गरेर मात्र नपुग्ने र फिटनेसमा ध्यान दिनुपर्ने उनको सुझाव छ ।
रजनीले रोगलाई जितिन् । राष्ट्रिय, अन्तर्राष्ट्रिय पदक जितिन् । चर्चा कमाइन् । रोल मोडल बनिन् । देश–विदेश घुमिन् । सबैको प्रिय भइन् । यति धेरै कुरा हुँदा पनि रजनीलाई केही कुरा अझै अपुग लाग्छ ।
‘यतिका वर्ष गेम खेलें । परिवारलाई समय दिन पा’छैन । दशैं तिहार कस्तो हुन्छ त्यो बिर्सिनै सकें । अब सबै परिवारसँग बसेर आनन्दले दशैं–तिहार मनाउने इच्छा छ’, उनले भनिन् ।
ट्रेन्डिङ
सम्बन्धित
५० प्रभावशाली महिला २०८१
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी
५० प्रभावशाली महिला - २०८०
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी