+

एउटा तस्वीरले उचाल्यो ५२ हजार स्वास्थ्यसेविकाको आत्मसम्मान

पूरा सूची
Shares
कोभिड खोप लगाउन हिंड्न नसक्ने ८० वर्षीया वृद्धालाई पिठ्युँमा बोकेर अप्ठ्यारो कान्ला उक्लिरहेकी गुल्मीकी लीला थापाको त्यो भाइरल तस्वीर केवल एउटी महिलाको कथा होइन; त्यो त पारिश्रमिक विना अहोरात्र खटिने देशका ५२ हजार स्वास्थ्य स्वयंसेविकाहरूको साझा अनुहार र सेवाभावको जिउँदो प्रमाण हो।
लीला थापा

तस्वीरमा अनुहार स्पष्ट देखिंदैन। नीलो रङको स्वास्थ्य स्वयंसेविकाको पोशाक लगाएकी, छोटो कदकी एउटी महिलाले ८० वर्ष उमेर नाघेकी वृद्धालाई पिठ्युँमा बोकेकी छिन्। उनी जता उक्लिन खोजिरहेकी छिन्, त्यहाँ मान्छे हिंड्न सक्ने बाटो छ जस्तो पनि देखिंदैन। भत्किएको कान्ला र अप्ठ्यारो भीरमा उनले टेकेको हरेक पाइलामा एउटा अदम्य साहस, निस्वार्थ सेवाभाव र बलियो इच्छाशक्ति झल्किन्छ।

२०७८ साल माघको अन्तिम साता सामाजिक सञ्जालमा भाइरल भएको यो तस्वीरले रातारात सिङ्गो देशको ध्यान तान्यो। यो केवल एउटा तस्वीर थिएन, यो त नेपालका दूरदराजमा विना पारिश्रमिक अहोरात्र खटिने करिब ५२ हजार सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूको ‘आइकनिक’ पहिचान र आत्मसम्मानको प्रतीक थियो।

त्यो तस्वीरमा वृद्धालाई बोक्ने महिला थिइन्- गुल्मी दरबार गाउँपालिका-३, राजा गाउँकी ५० वर्षीया लीला थापा। २०७१ सालदेखि आफ्नो गाउँमा स्वास्थ्य स्वयंसेविकाको जिम्मेवारी सम्हाल्दै आएकी लीलाले त्यो दिन जे गरिन्, त्यो कसैलाई देखाउन वा भाइरल हुनका लागि गरेकी थिइनन्। त्यो त उनको दैनिक काम र मानवीय धर्म थियो। तर, त्यही एउटा कर्मले उनलाई देशैभर परिचित बनायो र स्वास्थ्य मन्त्रालयदेखि विभिन्न संघसंस्थाबाट दर्जनौं सम्मान दिलायो।

त्यो दिन आखिर के भएको थियो?

२०७८ साल माघ महिना। देशैभरि कोभिड-१९ विरुद्धको खोप अभियान तीव्र गतिमा चलिरहेको थियो। गाउँगाउँमा पुगेर वृद्धवृद्धालाई खोप लगाउन स्वास्थ्यकर्मी र स्वयंसेविकाहरू खटिएका थिए। माघ १४ गते गुल्मी दरबार गाउँपालिका-३ मा खोप अभियानको अन्तिम दिन थियो।

सोही वडाको धारापानीकी ८० वर्षीया देवीकला टण्डनले भने अन्तिम दिनसम्म पनि खोप लगाउन पाएकी थिइनन्। देवीकला घरमा एक्लै बस्थिन्। उनका दुई छोरामध्ये एक बुटवल र अर्का भारतमा बस्थे। आमा गाउँ छाड्न नमान्ने, छोराहरू गाउँमा नबस्ने भएपछि उनको सहारा कोही थिएन। अघिल्लो वर्ष उच्च रक्तचापले थलिएकी देवीकलाको खुट्टाका औंलासमेत पाकेर उनी आफैं हिंड्न सक्ने अवस्थामा थिइनन्।

गाउँमै बिहे गरेकी छोरी फुर्सी घिमिरे बेलाबेला आएर आमाको हेरचाह गर्थिन्। खोप अभियानको अन्तिम दिन बिहानै फुर्सी स्वास्थ्य स्वयंसेविका लीलाकहाँ आइन् र आमालाई कसरी स्वास्थ्य चौकीसम्म लैजाने भनी आफ्नो समस्या सुनाइन्। खोप अभियानमा सघाउन स्वास्थ्य चौकी जाने तयारीमा रहेकी लीला सिधै देवीकलाको घरतिर लागिन्।

देवीकलाले लीलालाई भन्दै थिइन्, ‘बाटो सजिलो भएको भए त म लठ्ठी टेक्दै भए पनि आफैं जान्थें, नानीलाई निकै दुःख भयो।’ तर लीलाले कुनै गुनासो नगरी उनलाई सुरक्षित रूपमा स्वास्थ्य चौकी पुर्‍याइन्।

शुरुमा लीलाले घरमै ल्याएर खोप लगाइदिन स्वास्थ्य चौकीमा कुरा राखिन्। तर, खोपलाई निश्चित तापक्रम (धेरै चिसो) मा राख्नुपर्ने भएकाले घरमै लगेर लगाउन सम्भव नहुने जवाफ पाइन्। अब देवीकलालाई करिब २० मिनेटको पैदल दूरीमा रहेको स्वास्थ्य चौकीमा बोकेर लैजानुको अर्को कुनै विकल्प थिएन।

संयोग कस्तो पर्‍यो भने, त्यही दिन गाउँमा एक जनाको मृत्यु भएकाले प्रायः सबै पुरुषहरू मलामी गएका थिए। बोक्ने अरू कोही मान्छे पाइएनन्। देवीकलाकी छोरी फुर्सी आफैं बिरामी भएकाले आमालाई बोक्ने आँट गर्न सकिनन्।

‘खोप लगाउने अन्तिम दिन थियो, कुनै विकल्प भएन। दिदी (फुर्सी) ले ‘अब कसो गर्ने?’ भन्न थाल्नुभयो’ लीला त्यो क्षण सम्झिन्छिन्, ‘म सक्छु कि, प्रयास गर्छु भनेर अगाडि सरें।’ अनि, स्वास्थ्य स्वयंसेविकाको पोशाकमा रहेकी लीलाले ८० वर्षीया देवीकलालाई आफ्नै पिठ्युँमा बोकिन्।

वर्षायामको पहिरोले स्वास्थ्य चौकी जाने बाटो निकै अप्ठ्यारो र भिरालो भएको थियो। देवीकलाले लीलालाई भन्दै थिइन्, ‘बाटो सजिलो भएको भए त म लठ्ठी टेक्दै भए पनि आफैं जान्थें, नानीलाई निकै दुःख भयो।’

तर लीलाले कुनै गुनासो नगरी उनलाई सुरक्षित रूपमा स्वास्थ्य चौकी पुर्‍याइन्। स्वास्थ्यकर्मीले खोप लगाइदिएपछि फेरि उसैगरी पिठ्युँमा बोकेर घरसम्मै ल्याइदिइन्।

बाटो देखाउन खिचिएको तस्वीरले चिनायो सेवाभाव

लीलाले वृद्धालाई बोकेर भीरको बाटो लैजाँदै गर्दा देवीकलाकी नातिनीले मोबाइलमा केही तस्वीरहरू खिचेकी थिइन्। तीमध्ये केही तस्वीर उनले सामाजिक सञ्जाल (फेसबुक) मा पोस्ट गरिन्।

लीलाका अनुसार, त्यो तस्वीर फेसबुकमा राख्नुको मुख्य उद्देश्य लीलाको प्रशंसा गर्नु थिएन। भत्किएको सडक समयमै नबन्दा स्थानीयले कस्तो दुःख पाइरहेका छन् भनेर जनप्रतिनिधिलाई गाउँको बाटोको बेहाल अवस्था देखाउनु थियो।

तर, त्यो तस्वीरमा बाटोको दुरवस्थाभन्दा बढी एउटी स्वास्थ्य स्वयंसेविकाको अदम्य सेवाभाव झल्किन्थ्यो। फेसबुकमा पोस्ट भएको तीन दिनपछि पूर्वसचिव भीम उपाध्यायले आफ्नो पेजमा उक्त तस्वीर सेयर गरे।

त्यसपछि त लीला थापा एकाएक ‘भाइरल’ बनिन्। उनको कर्मको प्रशंसा गर्दै हजारौं मानिसले त्यो तस्वीर सेयर गरे। देशका उच्च पदस्थ व्यक्तिहरूले फोन गरेर स्याबासी दिए। सञ्चारकर्मीहरू अन्तर्वार्ता लिन गाउँमै पुग्न थाले।

५२ हजार स्वयंसेविकाको आत्मसम्मानको प्रतीक

पहाडको उकालो-ओरालो र विकट भूगोल आफैंमा एउटा ठूलो चुनौती हो। एउटै वडाको एक गाउँबाट अर्को गाउँमा पुग्न पनि निकै समय र ऊर्जा खर्च गर्नुपर्छ। यस्तो कठिन भूगोलमा लीला जस्ता हजारौं स्वयंसेविका विना पारिश्रमिक खुशीसाथ सेवामा समर्पित छन्।

लीला थापाले गरेको त्यो काम कुनै चमत्कार थिएन। देशभरका धेरै स्वास्थ्य स्वयंसेविकाहरूले गाउँघरमा दिनहुँ यस्तै सेवा र सहयोग गरिरहेका हुन्छन्। तर, लीलाको त्यो एउटा तस्वीरले राज्य र समाजको आँखा खोलिदियो। यसले ती सबै स्वयंसेविकाहरूको मौन योगदानलाई सतहमा ल्याउने काम गर्‍यो।

अहिले स्वास्थ्य मन्त्रालय वा अन्य कुनै मञ्चमा महिला स्वास्थ्य स्वयंसेविकाको योगदान र महत्त्वबारे चर्चा गर्दा, प्रस्तुति दिंदा वा लेख लेख्दा लीला थापाको त्यही तस्वीरलाई उदाहरण र बिम्बका रूपमा प्रयोग गरिन्छ।

विभिन्न कार्यक्रम र तालिमहरूमा जाँदा लीलालाई अरू स्वास्थ्य स्वयंसेविकाहरूले आएर भन्ने गर्छन्, ‘तपाईंको त्यो एउटा काम र तस्वीरले गर्दा हामी सबैको इज्जत बढेको छ। समाजले हामीलाई बुझ्ने र हेर्ने दृष्टिकोण नै बदलिएको छ।’ यस्ता कुरा सुन्दा आफूलाई सेवा गर्न झन् ऊर्जा मिल्ने लीला बताउँछिन्।

‘त्यो तस्वीरमा मेरो अनुहार चिनिंदैन। त्यहाँ त केवल एउटी स्वास्थ्य स्वयंसेविका र उसले दिएको सेवा मात्रै देखिन्छ’ लीला विनम्रताका साथ भन्छिन्, ‘मैले मात्रै यस्तो काम गरेकी हुँ भनेर म कहिल्यै भन्दिनँ। त्यो त हामी ५२ हजार स्वयंसेविकाको साझा योगदान देखाउने तस्वीर हो।’

अहिले लीला सहितका महिलाहरु मिलेर गाउँमा पञ्चेबाजाको टोली पनि बनाएका छन् । घरको काम र महिला स्वास्थ्य स्वयंसेविकाको जिम्मेवारीसँगै विभिन्न समारोह तथा मेला, महोत्सवहरुमा बाजा बजाउन पनि पुग्ने गर्छिन् उनी ।

एसएलसी दिने बेलामा बिहे

२०३५ सालमा हालको गुल्मी दरबार गाउँपालिका-४ रुन्खामा जन्मिएकी लीलाको कक्षा १० मा पढ्दा-पढ्दै १८ वर्षकै उमेरमा बिहे भयो । नजिकै आएको प्रवेशिका परीक्षा पनि दिन पाइनन् । आफ्नो होइन बुबाआमाको मर्जी चल्थ्यो । 

बिहेपछि पनि एसएलसी दिन पाए हुने भन्ने उनको चाहना थियो तर मनको कुरा कसले बुझ्ने ! परिवारमा त्यो प्रस्ताव राख्ने आँट गर्नै सकिनन् ।

त्यसको दुई वर्षपछि छोरा जन्मियो अनि त झन् घरपरिवार बाहेक अरु सोच्नै पाइनन् । स्कूल हुँदादेखि नै उनलाई अनमी पढ्न मन थियो । त्यो बेला ८ कक्षा पास गरेपछि अनमी पढ्न पाइन्थ्यो ।

उनले श्रीमान्‌सँग त्यसबारे केही पटक प्रस्ताव पनि राखिन् । घरकी बुहारीलाई पढ्न पठाउँदा गाउँमा के भन्छन् भन्ने संकोच त थियो नै, त्यसमाथि घर सम्हाल्ने मान्छे हुँदैन, बुबाआमालाई दुःख हुन्छ भनेर श्रीमान्‌ले मानेनन् ।

लीलाका एक छोरा र एक छोरी छन् । छोरी जन्मैदेखि दृष्टिविहीन हुन् । छोरीको उपचार हुन्छ कि भनेर जन्मिएको दुई महिनादेखि ५ वर्षसम्म निकै भौंतारिइन् । गाउँमा आएको स्वास्थ्य शिविरदेखि भैरहवा, काठमाडौंको तिलगंगा आँखा अस्पताल, त्रिवि शिक्षण अस्पताल धेरैतिर धाइन् तर पनि उपचार भएन । 

लीला छोरीको भविष्यबारे निकै चिन्तित थिइन् । शिक्षण अस्पतालका डाक्टरले आँखा नदेख्नेलाई पनि पढाउने ठाउँ हुन्छ, अरूले जस्तै पढ्न सक्छन् भनी बताइदिए । त्यस्ता बालबालिकालाई कुन स्कूलमा पढाउँछन् भनेर ठाउँ पनि देखाइदिए । यसले उनलाई निकै राहत भयो । 

अहिले छोरीले संगीत विषयमा स्नातक सिध्याउन लागिन् । छोराले भने आईटीमा स्नातक गरिसकेका छन् ।

सानैदेखि समाजसेवामा 

पढाइ अगाडि बढाउने इच्छा अधुरै भए पनि सानैदेखि मनमा रहेको समाजसेवा गर्ने रहर लीलाले मारिनन् । रेडक्रस सोसाइटीमा जोडिएर विपदमा सहयोग र उद्धार गर्ने काममा लागिन् । २०७१ सालबाट भने महिला स्वास्थ्य स्वयंसेविका भएर समुदायको सेवा गरिरहेकी छिन् ।

एउटा सानो किसान सहकारीमा काम गर्ने श्रीमान्‌ले अहिले लीलाका हरेक कदममा राम्रो साथ दिन्छन् । परेका बेला घरको काम आफूले सम्हालेर उनलाई समाजसेवामा लाग्न प्रेरित गर्ने गरिरहेका छन् ।

अहिले लीला सहितका महिलाहरु मिलेर गाउँमा पञ्चेबाजाको टोली पनि बनाएका छन् । घरको काम र महिला स्वास्थ्य स्वयंसेविकाको जिम्मेवारीसँगै विभिन्न समारोह तथा मेला, महोत्सवहरुमा बाजा बजाउन पनि पुग्ने गर्छिन् उनी ।

‘समाजसेवा गर्ने मेरो सानैदेखिको इच्छा हो’ लीला भन्छिन्, ‘परिवारको साथ र हौसला भए महिलाहरुले जे पनि गर्न सक्छन् ।’

स्वास्थ्य सेवाको जग: महिला स्वयंसेविका

नेपालमा आर्थिक वर्ष २०४५/४६ देखि सरकार र युएसएआईडीको सहकार्यमा महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम सुरु भएको थियो। गाउँघरका आमा समूह मार्फत चयन गरिएका यी स्वयंसेविकाहरूलाई सामान्य तालिम दिएर समुदायमा परिचालन गरिन्छ।

थोरै प्रोत्साहन भत्ता र पोशाक बाहेक उनीहरूले राज्यबाट अतिरिक्त कुनै पारिश्रमिक पाउँदैनन्। तर, समुदायमा स्वास्थ्य सम्बन्धी सचेतना फैलाउन र मातृ तथा शिशु मृत्युदर घटाउन उनीहरूले खेलेको भूमिका अतुलनीय छ।

बालबालिकालाई खोप लगाउने, भिटामिन ‘ए’ खुवाउने, गर्भवती र सुत्केरीको स्याहार गर्नेदेखि परिवार नियोजनका साधन वितरण गर्नेसम्मका काम उनीहरूकै भरमा चलेका छन्।

दुर्गम गाउँका नागरिकका लागि स्वास्थ्य सेवाको पहिलो ढोका नै महिला स्वास्थ्य स्वयंसेविका हुन्। नेपालले जनस्वास्थ्यका क्षेत्रमा हासिल गरेका उपलब्धिहरूको पछाडि यिनै स्वयंसेविकाहरूको पसिना लुकेको छ। त्यसैले त नेपालको यो स्वयंसेविका मोडलको प्रशंसा अन्तर्राष्ट्रिय मञ्चहरूमा समेत हुने गरेको छ।

लीला थापाको त्यो ‘आइकनिक’ तस्वीरले राज्यलाई फेरि एकपटक सम्झाएको छ- स्वास्थ्य प्रणालीका यी बलिया खम्बाहरूलाई अब ‘स्वयंसेवा’ को नाममा मात्र सीमित नराखी उनीहरूको श्रमको उचित कदर र आर्थिक सुरक्षाको ग्यारेन्टी गर्न ढिला भइसकेको छ।

लेखक
केदार गौतम