+

मिर्गौला उपचारमा कायापलट ल्याउने डाक्टर कल्पना

आर्थिक अभावले 'मर्न घर जाँदैछु' भन्दै रुँदै अस्पतालबाट निस्कने बिरामीहरूको अवस्थाले कल्पनालाई नेफ्रोलोजिस्ट बन्न प्रेरित गर्‍यो। शून्यताबाट शुरु भएको देशकै प्रमुख अङ्ग प्रत्यारोपण केन्द्रको नेतृत्व सम्हाल्दै गर्दा उनी नेपालको स्वास्थ्य क्षेत्रमा एउटा बलियो मानक बनिरहेकी छिन्।
पूरा सूची
Shares
डा. कल्पना श्रेष्ठ

कति बिरामीहरू त अब म मर्न घर जाँदैछु भनेर रुँदै अस्पतालबाट निस्कन्थे’, वरिष्ठ नेफ्रोलोजिस्ट डा. कल्पना श्रेष्ठ वीर अस्पतालमा मेडिकल अफिसर हुँदाका ती कहालीलाग्दा दिन सम्झिन्छिन्।

त्यो समय मिर्गौला फेल भएका बिरामीको अवस्था निकै दयनीय थियो। डायलासिस गर्ने मेसिनहरू औंलामा गन्न सकिने मात्र थिए र वीर अस्पताल बाहेक अन्यत्र हेमोडायलासिस सेवा उपलब्ध थिएन। पैसा हुनेहरू लाखौं खर्चिएर विदेश गई मिर्गौला प्रत्यारोपण गराउँथे, तर आर्थिक रूपमा विपन्नहरूका लागि मृत्यु कुर्नुबाहेक अरू कुनै विकल्प थिएन।

मेडिकल अफिसरका रूपमा वीर अस्पतालका विभिन्न विभागमा ड्युटी पर्दा कल्पनाले एउटा तीतो यथार्थ नजिकबाट देखिन् । अरू विभागका बिरामीहरू उपचार गरेर निको भई अनुहारमा कान्ति लिएर फर्कन्थे, तर नेफ्रोलोजी विभागमा आउने अधिकांश बिरामी डायलासिस गर्दै मृत्युको बाटो हेरिरहेका हुन्थे।

डा. पुष्करराज सत्याल जस्ता सीमित विशेषज्ञहरूको भरमा चलेको त्यो विभागमा बिरामीको असहाय अवस्थाले डा. कल्पनाको मन निकै कुँडिन्थ्यो। त्यही छटपटी र बिरामीको आँसुले उनलाई एउटा बलियो अठोट गर्न बाध्य बनायो- ‘यो क्षेत्रमा केही गर्नुपर्छ, पैसा नहुने बिरामीले पनि अकालमा मर्नु नपरोस्, उनीहरूले बाँच्न पाउनुपर्छ।’

यही अठोटले उनलाई नेफ्रोलोजिस्ट बनायो । अहिले डा. कल्पना तिनै असहाय बिरामीहरूको भरोसाको केन्द्र अर्थात् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र (भक्तपुर) को कार्यकारी निर्देशकका रूपमा कार्यरत छिन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यो संस्था स्थापना गर्ने निर्णय गरेदेखि नै उनी यसको हरेक इँटासँग आबद्ध छिन् र नेतृत्व सम्हालेको अहिले करिब चार महिना भएको छ ।

नेपालमा प्रत्यारोपण केन्द्र खोल्न प्रस्ताव गर्ने कमिटीदेखि यस सम्बन्धी ऐन बनाउने र सेवालाई विशिष्टीकृत गर्ने हरेक नीतिगत र व्यावहारिक कार्यमा उनको जीवनको ऊर्जाशील समयसँगै पसिना पनि बगेको छ।

पछिल्ला वर्षहरूमा राष्ट्रिय प्रत्यारोपण केन्द्र एक अब्बल र नमूना सरकारी अस्पतालका रूपमा परिचित छ। यसले दैनिक ४०० देखि ५०० जनालाई ओपीडी सेवा र १७० देखि २०० जना बिरामीलाई हेमोडायलासिस सेवा दिंदै आएको छ। केन्द्रले वर्षमा २०० भन्दा बढी बिरामीको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक गर्दै आएको छ।

कुनै बेला मिर्गौला रोग लाग्नु भनेको मृत्युदण्ड जस्तै मानिने नेपालमा अहिले प्रत्यारोपण र डायलासिसमा सरकारी सहुलियत उपलब्ध छ। छोटो समयमै मिर्गौला रोगको उपचारमा आएको यो कायापलटको साक्षी र सारथि दुवै हुन्, डा. कल्पना।

शून्यबाट शुरु भएको प्रत्यारोपण केन्द्रको यात्रा

नवलपरासीमा हुर्किएकी कल्पना बाल्यकालदेखि नै अध्ययनमा अब्बल थिइन्। आमाबाबुले औपचारिक शिक्षा नपाए पनि छोरीको प्रतिभालाई बुझेर लैनचौरको कन्या माध्यमिक विद्यालयमा पढाए। अमृत साइन्स क्याम्पसबाट आईएस्सी गरेपछि उनी छात्रवृत्तिमा एमबीबीएस अध्ययन गर्न रूस पुगिन् । सात वर्ष लामो अध्ययनपछि नेपाल फर्किएर वीर अस्पतालमा जोडिएकी थिइन्।

डा. पुष्करराज सत्यालको प्रेरणाले किस्ट मेडिकल कलेजबाट नेफ्रोलोजीमा एमडी गरेपछि उनी पुनः वीर अस्पतालमै फर्किइन्। त्यतिबेला नेफ्रोलोजी धेरैको रोजाइको विषय थिएन। तर जब स्वास्थ्य मन्त्रालयले छुट्टै प्रत्यारोपण केन्द्र खोल्ने निर्णय गर्‍यो, २०६८ सालमा डा. पुकारचन्द्र श्रेष्ठको साथमा डा. कल्पनालाई भक्तपुर पठाइयो।

सुरुवाती दिनहरू निकै कहालीलाग्दा थिए । भक्तपुर अस्पतालको एउटा पुरानो र सानो भवन, साँघुरो ठाउँ, जनशक्ति र स्रोत–साधनको चरम अभाव । ‘यस्तो ठाउँमा पनि अङ्ग प्रत्यारोपण गर्ने जस्तो संवेदनशील अस्पताल बनाउन सम्भव होला र ?’ उनलाई बारम्बार लाग्थ्यो ।

तर डा. पुकारचन्द्र श्रेष्ठ र उनको अथक प्रयासले असम्भव जस्तो लागेको काम सम्भव भयो । नेपालमा प्रत्यारोपण केन्द्र खोल्न प्रस्ताव गर्ने कमिटीदेखि यस सम्बन्धी ऐन बनाउने र सेवालाई विशिष्टीकृत गर्ने हरेक नीतिगत र व्यावहारिक कार्यमा उनको जीवनको ऊर्जाशील समयसँगै पसिना पनि बगेको छ।

दुर्गममा पुगेको डायलासिस सेवा र सीएपीडी

सरकारको सहयोगमा अहिले डायलासिस निःशुल्क छ। देशका विभिन्न जिल्ला-जिल्लामा सेन्टरहरू खुलेका छन्। तर डा. कल्पनाको सबैभन्दा ठूलो योगदानमध्ये एक हो- कन्टिन्युस एम्बुलेटरी पेरिटोनियल डायलासिस (सीएपीडी) लाई नेपालमा भित्र्याउनु। यो बिरामीले घरमै गर्न सक्ने र अस्पताल धाइराख्नु नपर्ने कम खर्चिलो प्रविधि हो।

यो प्रविधि भित्र्याउन उनले १० वर्ष निरन्तर सङ्घर्ष गरिन् । शुरुमा स्वास्थ्य मन्त्रालयलाई यो प्रविधिको अवधारणा र महत्त्व बुझाउनै दुई वर्ष लाग्यो । हेमोडायलासिस निःशुल्क भए पनि सीएपीडीलाई भने निकै पछि मात्र समावेश गरियो ।

अहिले हुम्ला, जुम्ला, कालीकोट, भोजपुर, खोटाङ जस्ता दुर्गम ठाउँमा बसेका बिरामीहरू घरमै सीएपीडी गर्छन्। अस्पतालको मेसिन कुर्नुपर्दैन। यो प्रविधिले सरकार र बिरामी दुवैलाई ठूलो राहत दिएको छ‘, उनी गर्वसाथ भन्छिन्। अहिले भक्तपुर सेन्टरअन्तर्गत मात्रै करिब ३०० जनाले यो प्रविधि अपनाइरहेका छन्।

यद्यपि, विकट ठाउँमा डायलासिसको पहुँच पुर्‍याउन अझै चुनौती छ। स्वास्थ्य क्षेत्रमा विकेन्द्रीकरणको सिद्धान्त पूर्ण रूपमा लागू नहुँदा उनलाई खड्किन्छ। यसका लागि लोकल म्यानपावरलाई तालिम र फेलोसिप दिने काम भइरहेको र सुर्खेतमा समेत प्रत्यारोपण शुरु भइसकेको डा. कल्पनाले जानकारी दिइन्।

करिअर र मातृत्वको लडाइँ

सफलताको यो उचाइमा पुग्दै गर्दा कल्पनाको जीवनमा यस्ता विरक्तलाग्दा क्षणहरू पनि आए, जब उनलाई पेशा त्यागेर सामान्य गृहिणी मात्र बनौं जस्तो लाग्यो। पोस्टग्राजुएट (एमडी) गर्दै गर्दा उनको तीन वर्षको छोराको ओपन हार्ट सर्जरीगर्नुपर्ने भयो।

एकातिर मेडिकल करिअरको दबाब, अर्कोतिर मातृवात्सल्य। त्यसबेला मलाई मेरो करिअरभन्दा मेरो बच्चा ठूलो लाग्यो। म तीन वर्ष पूर्णतया मेडिकल फिल्डबाट टाढा बसेँ। मेरो पढाइ ढिलो भयो । त्यतिबेला धेरै नै गाह्रो भयो तर आज म सन्तुष्ट छु। छोरा स्वस्थ छ, ब्याचलर गर्दै छ‘, उनी भावुक हुँदै भन्छिन्।

त्यसैगरी, वीर अस्पतालको इमर्जेन्सीमा छतबाट खसेर रगत बगिरहेको एक युवकले डाक्टर साहेब, म मर्दिनँ होला ?’ भनेर सोधेको र आफ्नै हातमा उसको मृत्यु भएको घटनाले उनलाई अझै झस्काउँछ। कैयौं रात सुत्न नसकेकी उनी यस्ता घटनाले नै नेपालको स्वास्थ्य क्षेत्रमा आफ्नो सम्पूर्ण जीवन समर्पण गर्नुपर्छ भन्ने बोध भएको बताउँछिन्।

अङ्गदानमा देखिएको डरलाग्दो जेन्डर बायस

नेपालमा अङ्गदानमा डरलाग्दो लैङ्गिक विभेद छ। तथ्याङ्क अनुसार ७० देखि ८० प्रतिशत डोनर (अङ्गदाता) महिला हुन्छन्, तर ग्रहण गर्ने (रिसिपियन्ट) पुरुष बढी हुन्छन्। आमाले छोरालाई, श्रीमतीले श्रीमान्‌लाई वा दिदीबहिनीले दाजुभाइलाई आँखा चिम्लेर अङ्ग दिन्छन् तर विपरीत अवस्था कमै देखिन्छ।

यो मानसिकता बदल्नुपर्छ। हामीले पुरुष डोनरलाई प्रोत्साहन गर्न ५० हजार नगद पुरस्कारसम्म दिएका थियौं। अलिकति सुधार त भएको छ, तर अझै यो ५०-५० को अवस्थामा आउन सकेको छैन‘, कल्पना चिन्ता व्यक्त गर्छिन्।

एउटा विपन्न परिवारकी बिरामी श्रीमतीलाई डायलासिसका लागि प्रत्यारोपण केन्द्र ल्याउँदा श्रीमान् नवजात बच्चा र श्रीमतीलाई छोडेर भागेको दारुण दृष्टान्त उनीसँग ताजै छ। श्रीमतीको महँगो उपचार गर्नुभन्दा अर्को बिहे गर्न सस्तो पर्छ भन्ने पितृसत्तात्मक मानसिकता त्यसमा लुकेको थियो। तर हामीले ती बिरामीलाई बचायौं। अहिले पनि उनी डायलासिस गरिरहेकी छिन्, बच्चा ठूलो भइसक्यो‘, उनको अनुहारमा एक किसिमको सन्तुष्टि देखिन्छ।

साइलेन्ट किलर र अध्यात्म

मिर्गौला रोगलाई साइलेन्ट किलरमान्ने कल्पना यो रोगले सधैं झुक्याउने बताउँछिन्। कहिल्यै एउटा सिटामोल नखाएका र वैदेशिक रोजगारीमा उड्न लागेका स्वस्थ युवाहरूमा समेत अन्तिम अवस्थामा मिर्गौला बिग्रिएको पाइन्छ। यसले छाला, हड्डी, मुटु र छाती सबैतिर असर गर्छ।

वैदेशिक रोजगारीमा जानेहरूका लागि सचेतना जगाउन केन्द्रले स्वास्थ्य मन्त्रालयसँग मिलेर २४ घण्टे हटलाइन नै सञ्चालन गरेको छ। उनीहरूले सञ्चालन गर्ने स्वास्थ्य शिविरहरू पनि केवल औषधि बाँड्ने मात्र नभई स्क्रिनिङमा केन्द्रित हुन्छन्।

बिरामीहरूको जीवन-मृत्युको सङ्घर्ष नजिकबाट देखेकी कल्पनालाई झन् मज्जाले थाहा छ कि मृत्यु अवश्यम्भावी छ। विज्ञानकी विद्यार्थी भए पनि उनीभित्र गहिरो आध्यात्मिक चेत छ। म प्रत्येक दिन पूजा गर्छु, बिहान र बेलुका आरती गर्छु। भगवानमा मेरो पूर्ण आस्था छउनी आफ्नो जीवनदर्शन सुनाउँछिन्, ‘धेरै कष्टपछि मृत्यु आउँदा मलाई त्यो मुक्ति जस्तो लाग्छ। बुढेसकालमा निरन्तर म मर्छु किभन्ने त्रासमा बस्नुभन्दा यसलाई स्वीकार गरेर बाँकी समय राम्रोसँग बाँच्नुपर्छ।

बिरामीहरूले म ठीक हुन्छु कि मर्छु ?’ भनेर सोध्दा उनको सधैं एउटै जवाफ हुन्छ, ‘म यो भर्‍याङ दिनमा १० चोटि उक्लन्छु-ओर्लन्छु। कुनै दिन लडेर मर्छु कि भन्ने ग्यारेन्टी छैन। जीवन यस्तै हो, हामीले प्रयास गर्ने हो, सकारात्मक रहने हो।

मस्तिष्क मृत्युपछिको अङ्गदान: सम्भावना र अड्चन

मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अङ्ग प्राप्त गर्न र प्रत्यारोपणलाई सहज बनाउन राष्ट्रिय प्रत्यारोपण केन्द्रले समन्वय एकाइको जिम्मा लिएको छ। तर यसमा चुनौतीका पहाड छन्। मस्तिष्क मृत्युपछि अङ्गदान गर्ने भन्दै करिब २०० जति फोन आए पनि अहिलेसम्म ९ जनाको मात्रै अङ्ग प्राप्त भएको छ।

कहिले मृतकका नजिकका व्यक्तिले दिने निर्णय गर्दागर्दै बीचमा अर्को कोही आफन्त आएर भाँडिदिने, कहिले अस्पताल र स्वास्थ्यकर्मीले नै कानूनी झमेला सम्झेर असहयोग गर्ने प्रवृत्ति हावी छ। प्राप्त भएको अङ्ग पनि कतिपय अवस्थामा प्रत्यारोपण गर्न योग्य हुँदैन।

अहिले डा. कल्पनाको नेतृत्वमा केन्द्रले अन्य अस्पतालहरूसँग समन्वय बढाएर यसलाई व्यवस्थित बनाउने पहल गरिरहेको छ। करारमा रहेका कर्मचारीको स्थायित्व, अनलाइनमैत्री सेवा र सेवाको चुस्तता उनको अहिलेको मुख्य प्राथमिकता हो।

कुनै समय मर्न घर जान्छुभन्ने बिरामीहरूको आँसु पुछ्दै यहाँसम्म आइपुगेकी डा. कल्पना अब नेपाललाई अङ्ग प्रत्यारोपणमा आत्मनिर्भर र सर्वसुलभ बनाउने अभियानमा अविश्रान्त खटिरहेकी छिन्।

लेखक
कञ्चन

लेखक साहित्यकार हुन् ।