+
+
Shares

न्याय खोज्दै सडकमै बित्छ रात

खुला आकाशमुनि सडकमा रात काट्न धर्नामा रहेका कसैको मन थिएन । एकैक्षण त्यहाँ बस्दा मात्र पनि लामखुट्टेले टोकेको टोक्यै गर्छ । यस्तो ठाउँमा रातदिन बसेर सरकार समक्ष आफ्नो माग सुनाउन उनीहरू दिनरात सडकमै बसिरहेका छन् ।

कौशल काफ्ले सापेक्ष कौशल काफ्ले, सापेक्ष
२०८३ जेठ ९ गते २१:५५
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • माइतीघर मण्डलामा विभिन्न पीडित महिलाहरू मानव बेचबिखन र यौन दुर्व्यवहारविरुद्ध न्याय माग्दै दिनरात धर्ना बसेका छन्।
  • जानकी विष्टले मानव बेचबिखनबाट बचेर आएको अनुभव सुनाउँदै सरकारलाई पीडित उद्धार र ठगी कम्पनी बन्द गर्न आग्रह गरिन्।
  • पुष्पमाया कार्कीले मलेसियामा यौन दुर्व्यवहार भोगेकी र नेपाल फर्केपछि पनि प्रहरीबाट पीडा भोग्नुपरेको बताइन्।

रातको साढे ११ बजेको हुँदो हो । ५ जेठको मध्यरात पनि काठमाडौंको माइतीघर अझै सुतेको थिएन । न्याय खोज्दै धर्नामा बसिरहेकाहरूसँगै माइतीघर मण्डला जागृत थियो ।

दिउँसो जस्तो जाम अथवा भिड थिएन । बेलाबेला अराजक भएर बाइक हुइँकाउनेहरूलाई अपवाद मान्ने हो भने शान्त नै थियो ।

नजिकैको सडकमा बतासिने सवारी साधनहरूबाट निस्कने हल्ला पनि त्यति ठूलो सुनिएको थिएन । बरु घरीघरी रक्सी खाएर आउनेहरूले हल्ला गर्दा त्यहाँ रहेकालाई अलि डर महसुस हुने रहेछ ।

त्यही शान्त लाग्ने माइतीघर मण्डलाको सडकमा एउटा किनारतिर लस्करै टेन्ट देखिन्छन् । हामी मध्यरात त्यहाँ पुग्दा ७ वटा टेन्ट लस्करै टाँगिएको थियो । टेन्ट नभएकी एकजना महिला खुला आकाशमुनि नै नै सुतिरहेकी थिइन् ।

यसबाहेक केही टोली म्याट्रेस बिछ्याएर पातलो सिरक ओडेर त्यतिकै ढल्किरहेका थिए । एकअर्कासँग गफिइरहेका थिए । केही आफ्नो टेन्टमा सुत्ने तरखर गर्दै थिए ।

तर, खुल्ला आकाशमुनि सडकमा रात काट्न धर्नामा रहेका कसैको मन थिएन । एकैक्षण त्यहाँ बस्दा मात्र पनि लामखुट्टेले टोकेको टोक्यै गर्छ । यस्तो ठाउँमा रातदिन बसेर सरकार समक्ष आफ्नो कुरा सुनाउन खातिर उनीहरू सडकमै बसिरहेका थिए ।

‘लामखुट्टेले खाएर हैरान पार्छ । तर, पनि बस्नैपर्‍यो, सरकारले सुन्दैन,‘ हाम्रो जिज्ञासामा त्यहाँ कसैले बोल्यो ।

उनीहरूको सुरक्षार्थ दुई जना प्रहरी ड्युटीमा खटिएका देखिन्थे ।

उनीहरूका माग विभिन्न किसिमका छन् ।

झापा घर भएकी कृष्णमाया उप्रेती खुला आकाशमुनि एउटा ओड्नीको भरमा माइतीघरकै सडकमा सुतिरहेकी थिइन् । हामी त्यहाँ पुगेर केही चहलपहल भएपछि ४८ वर्षीया उनी उठिन् ।

गोठाटार बस्दै आएकी उनी अहिले रातभर माइतीघरमा धर्नामा छिन् । उनलाई खान र लाउन सहज छैन । त्यसैले महांकाल समूह भन्ने सहयोगी संस्थाले दिएको खानेकुरा खाएर गोठाटार फर्कने सोचमा रहेछिन् ।

तर, खाना आएर खाँदा गोठाटार जाने गाडी सबै छुटेछन् । गाडी नपाएपछि उनी माइतीघरकै खुला आकाशको साहारा लिन बाध्य भइन् । ‘मलाई झापामा एकजनाले यौन दुर्व्यवहार गरेको छ । त्यसकै लागि न्याय खोज्न आएको । तर, अदालत र प्रशासन कोही मेरो पक्षमा देखिँदैनन्,‘ उनले सुनाइन् ।

न्याय खोजिरहेको बताउने उनी यसका लागि लागेको १३ वर्ष भयो । पछिल्लो समय पनि गत १५ चैतदेखि उनी यही माइतीघरको साहारामा छिन् ।

तर, त्यसदिन बेलुकाको गाडी छुटेकी उनलाई पछि भने त्यहीँ वरपर रहेका अन्यले आफ्नो टेन्टमुनि टाउको लुकाउन दिने भए । उनले साथीहरूको साहारामा न्याय माग्दै माइतीघरमै रात काटिन् ।

लस्करै टेन्टहरुबीचमा अर्को एउटा टोली गफिँदै बसेका थिए ।

त्रिपाल ओछ्याएर खुला आकाशमुनि बात मारिरहेका टोलीमा थिए – जानकी विष्ट, रमिला कार्की, जमुना खत्री, पुस्पमाया कार्की ।

यी टोलीका कुराकानी सुन्दा लाग्थ्यो, माइतीघरमा रातीसँगै साथी मिलेर धर्ना बस्ने उनीहरुको छुट्टै गाउँ बसिसकेजस्तो थियो । सहयोगी र मिलनसार देखिएका उनीहरू सँगै बसेर दु:खसुखका कुरा गरिरहेका थिए । यत्तिकैमा पोखिन थालिन्, जानकी विष्ट ।

दार्चुला ब्यास गाउँपालिकाकी बिष्ट केही दिनयता माइतीघर मण्डलामा छिन् । आफू मानव बेचबिखनको जालबाट बाँचेर आए पनि अरू दिदीबहिनीहरूलाई बचाउन सात दिनसम्म यहाँ बस्ने उनले सुनाइन् ।

अनि टेन्ट किन्नसमेत नसकेकी पुष्पमाया कार्कीलाई भनिन्, ‘तिमी टेन्ट नकिन । म सात दिनपछि जान्छु, अनि मेरै प्रयोग गर्नु, छाडिदिन्छु ।‘

जनकीका अनुसार, उनलाई सुदूरपश्चिमका एक व्यक्तिले वीरगञ्जमा बुनाई तालिम दिने भन्दै बोलाए । घरपरिवारसँग सल्लाह गरेर वीरगञ्ज पुगिन् । तर, त्यहाँबाट उनलाई रातारात बिहारको पन्ना पुर्‍याइयो । मोबाइल चलाउन दिइएन, बन्धक बनाइयो । होस्टेल शुल्क भन्दै १८ हजार रुपैयाँ तिराइयो ।

‘पछि त दुई लाख रुपैयाँ जम्मा गर्न भनियो । नमानेपछि जबरजस्ती गर्न खोजे,‘ जनकीले सबैका अगाडि आफ्नो पीडा सुनाइन् । यसरी आफू बेचबिखनमा परिसकेको छनक पाएपछि कुटपिट र यातना सहन नसकेर उनले अटोबाट हाम फालिन् ।

हतारहतार भारतीय प्रहरी गुहारिन् । भारतीय प्रहरी, आफन्त र केही संस्थाको सहयोगमा उनी नेपाल फर्किइन् ।

त्यसक्रममा भारतमा उनले देखेको दृश्य अत्यन्त डरलाग्दो छ । जागिरको नाममा युवतीहरूलाई लगेर कुट्ने, यातना दिने, किड्नी बेच्न लगाउने, १२–१३ वर्षका बालिकालाई यौन धन्दामा लगाउने र नसके मुम्बईको कोठीमा बेच्ने गरेको उनले बताइन् । पहाडका सोझा केटीहरू फस्ने र बलात्कृत भएपछि डरले बोल्न नसक्ने अवस्था रहेको जानकीको भनाइ छ ।

यसरी युवती विदेश पठाउनेहरू २०६५ सालदेखि नै सक्रिय रहेको उनले बताइन् । जनकीले आफू बचेर आएपछि पनि धेरै पीडितलाई उद्धार गरिसकेको दाबी गरिन् ।

उनका अनुसार, किंग इन्डिया संस्थासँग मिलेर ५२ जनालाई उद्धार गरिएको थियो । त्यसक्रममा तत्कालीन गृहमन्त्री रमेश लेखक, आइजीपी दीपक थापा, सुदन गुरुङ, श्रम मन्त्री, मानव अधिकार आयोगसम्म पुगेर आवाज उठाइन् । विभिन्न मिडियामा अन्तर्वार्ता दिइन् । तर सरकारी निकायबाट ठोस काम नभएको उनको गुनासो छ ।

उनी आफैं पीडित भए पनि अझै धेरै नेपाली युवतीहरू भारतमा बन्धक छन् । उनीहरूको उद्धार गर्न र ठगी कम्पनी बन्द गर्न सरकारले तत्काल ध्यान दिनुपर्ने उनको माग छ ।

‘सरकारले केही गरेन भने म भारत जान्छु र त्यहाँका अधिकारीलाई भेट्छु,‘ उनले दृढतापूर्वक भनिन्, ‘मलाई न्याय चाहिँदैन बरु, तर अब अरूलाई बचाउनु छ । कसैले पनि यस्तो जालमा नफसून् भनेर दबाब दिन र अरुलाई यस्तो हुन्छ है भनेर सन्देश दिन माइतीघर आएकी हुँ ।’

यसरी जानकीले आफ्ना व्यथा सुनाउँदै गर्दा छेउमै रहेकी पुष्पमाया कार्कीका आँखा रसाएका थिए । समान दु:ख रहेकाले उनले पनि आफ्नो कुरा सुनाउन चाहिन् ।

उदयपुरकी कार्की (२८ वर्ष) पछिल्लो समय दिनरात माइतीघर मण्डलाको सडकमै छिन् । जाने ठाउँ कतै नभएपछि उनी दिनरात नै धर्ना दिएर माइतीघरमा सुत्न विवश छिन् ।

उनका अनुसार, मलेसियामा मानव बेचबिखनको शिकार बनेकी उनी नेपाल फर्किए पनि यहाँ प्रहरी र स्थानीयबाट थप पीडित बनेकी छन् ।

केही समयअघि नुवाकोटकी प्रतिमा तामाङले ‘मलेसियामा राम्रो काम र राम्रो तलब हुन्छ‘ भन्दै उनलाई फकाइन् । घरमा सल्लाह गरेर गएकी पुष्पमाया थाइल्याण्ड हुँदै मलेसिया पुर्‍याइन् । त्यहाँ उनलाई नेपाली होटलमा काम लगाइयो तर तलब दिइएन । उल्टै रक्सी खाने ग्राहकसँग शारीरिक सम्बन्ध राख्न बाध्य पारियो ।

‘दुई महिनासम्म काम गरेँ, पैसा दिएनन् । ग्राहक खुसी नपारेको भन्दै स्यालरी काटियो,‘ उनले सुनाइन् । त्यसपछि उनलाई विभिन्न होटलमा बेचियो । २०२५ डिसेम्बर २ तारिकको राति होटल सञ्चालक र दुई ग्राहकले सामूहिक बलात्कार प्रयास गरेको आरोप उनको छ । दिनरात यौन दुर्व्यवहार झेलेकी उनी पछि अरुको सहयोगमा नेपाल फर्किन सफल बनिन् ।

तर फर्किएपछि झन् ठूलो समस्या थपियो । तारकेश्वर –१० स्थित केटीएम होमस्टेमा दैनिक ५०० रुपैयाँ तिरेर बसेकी उनी दुई महिनापछि जबरजस्ती निकालिएको दाबी गर्छिन् । प्रहरी लगाएर सामानसहित उनको मोबाइल, सुनको चेन, ब्रेसलेट र डिप्रेसनको औषधि लगिएको दाबी पनि उनको थियो ।

‘१५ दिनदेखि डिप्रेसनको औषधि खान पाएकी छैन,‘ पुष्पमाया भावुक हुँदै भन्छिन्, ‘रोडमा पाल ओढेर सुतिरहेकी छु । पानी पर्दा पनि यही बस्नुपर्छ । मलेसियाको बलात्कार घटना र घरबेटीबाट भएको यातनाको उजुरी दिए पनि कुनै सुनुवाइ भएको छैन । घरबाट पनि सहयोग छैन । त्यसैले म अब न्याय नपाउन्जेल माइतीघर छाड्दिनँ । जति दु:ख पाएपनि ।‘

यसरी उनीहरूले एकअर्काका गुनासो सुनिरहँदा टेन्टमा अन्य परिवार सुतिरहेका थिए । उनीहरुका टेन्ट पछाडि विभिन्न माग राखिएका ब्यानरहरू छन् ।

कोही गाडी दुर्घटनामा परेर पनि सवारी चालकले उपचार नगरिदिएको भन्दै धर्नामा छन् । कोही सहकारीबाट पीडित छन् । कोही फरार अभियुक्त जिबी राईलाई पक्रनुपर्ने माग राखिरहेका छन्, कोही अस्पतालको लापरबाहीविरुद्ध सानो बच्चासहित माइतीघरमा रात बिताइरहेका छन् ।

टेन्टभित्र साना बच्चासहित सुतिरहेकाहरू पनि छन् ।

यसरी दिउँसोमात्र होइन, राती पनि धर्ना दिएर जागै रहेको माइतीघर लामो समयदेखि अन्यायमा परेकाहरूको न्याय माग्नेस्थल बनिरहेको छ ।

सबैले आफ्ना माग सुनाउने साझा मञ्च बनेको यो माइतीघरको इतिहास आफैँमा ऐतिहासिक छ ।

वि.सं. २०२३ को कुरा हो, त्यसबेला प्रदर्शनमा आएको नेपाली चलचित्र ‘माइतीघर‘को निर्माण टोलीको कार्यालय थापाथली इन्जिनियरिङ क्याम्पसको ठीक विपरित एउटा तीनतले भवनमा थियो । त्यो भवनमा चलचित्रको नाम अंकित साइनबोर्ड झुन्ड्याइएको थियो । चलचित्रको काम सकिएपछि त्यो बोर्ड हटाइयो ।

तर, त्यसबेलासम्म जनबोलीमा त्यो विशेष ठाउँलाई चिन्ने नाम ‘माइतीघर’ बसिसकेको थियो । जुन कालान्तरमा सधैंका लागि स्थापित भयो । त्यस्तै विसं २०५८ मा काठमाडौंमा आयोजना गरिएको ११ औं सार्क शिखर सम्मेलनका क्रममा सहरलाई सुन्दर बनाउने उद्देश्यले तत्कालीन मेयर केशव स्थापितले यहाँ कलात्मक मण्डल निर्माण गराए । त्यसपछि त्यस ठाउँलाई ‘माइतीघर मण्डला‘ भन्न थालियो ।

यसैगरी देशमा सशस्त्र द्वन्द्व चलिरहेका बेला नागरिकस्तरबाट मृतकहरूको सम्झनामा यहाँ मैनबत्ती बाल्ने काम पनि भएका थिए । समयक्रममा यो ठाउँ नागरिक आन्दोलन र राजनीतिक विरोध प्रदर्शनको मुख्य केन्द्र बन्न पुग्यो ।

देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र सर्वोच्च न्यायिक निकायको समीप हुनुले पनि पीडितहरूका लागि यो थलो सत्तालाई आफ्नो गुनासो सुनाउने सबैभन्दा भरपर्दो माध्यम बनेको छ ।

नागरिकको यो स्वतः स्फूर्त अधिकारमाथि समयसमयमा राज्यले अंकुश लगाउने प्रयास समेत गरेको देखिन्छ । विसं २०७५ वैशाखमा सरकारले ट्राफिक व्यवस्थापन र सडक सफा राख्ने बहाना बनाउँदै माइतीघरमा प्रदर्शन गर्न पूर्ण प्रतिबन्ध लगाएर अन्य निश्चित खुला ठाउँहरू तोकिदिएपछि यसको चौतर्फी विरोध भएको थियो ।

लोकतान्त्रिक व्यवस्थामा जनतालाई प्रदर्शन गर्ने ठाउँ आदेश दिनु भन्दापनि जनता स्व:स्फूर्त जम्मा हुने क्षेत्रलाई व्यवस्थित गर्नु राज्यको दायित्व भएको तर्क गर्दै डा. गोविन्द केसी र डा. जीवन क्षत्री लगायतका नागरिक समाजका अभियन्ताहरूले यसको कडा प्रतिवाद गरेका थिए ।

यसरी माइतीघर मण्डलाले शक्तिको अहंकार र निमुखाको रोदन दुवैलाई नजिकबाट नियाल्ने अवसर पाएको छ । काठमाडौंका खुला चौरहरू क्रमिक रूपमा मासिँदै जाँदा जनताको आक्रोश र सामाजिक मुद्दाहरू पोख्ने यो ‘प्रिमेड’ ठाउँ बनेको छ ।

आजसम्ममा माइतीघरले अनेकन् आवाज र पात्रहरू देखेको छ । शीर्ष नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड‘, माधवकुमार नेपाल, झलनाथ खनाल लगायतले हामी यहाँ छौँ भन्दै गरेको प्रदर्शनदेखि गुठी विधेयक आन्दोलन, शिक्षक आन्दोलन, मिटरब्याज पीडित आन्दोलन, सहकारी ठगी आन्दोलन, जेनजी आन्दोलन सबै देखेको छ ।

यसरी सदन र सरकारले नसुनेका वेदनाहरू सडकबाटै सुनाउन र कमजोरहरूको गुहारलाई सत्ताको कानसम्म पुर्‍याउन माइतीघर मण्डला साक्षी बनिरहेको छ ।आज पनि यहि माइतीघरमा जानकी विष्ट, रमिला कार्की, जमुना खत्री, पुस्पमाया कार्की, कृष्णमाया उप्रेतीलगायत न्याय माग्दै दिनरात जागै बसिरहेका छन् ।

लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?