Comments Add Comment

मोदीले केही गरेनन् भने देखाइदिन्छौं साहेब !

indra-bdr

इन्द्रबहादुर गुरुङ, भूतपूर्व गोर्खा सैनिक

लमजुङ घर भएका पूर्वभारतीय सैनिक इन्द्रबहादुर गुरुङ ७१ वर्ष पुगे पनि तन्दुरुस्त छन् । १९ वर्ष भारतीय सेनामा काम गरे पनि विना पेन्सन धपाइएका आफूजस्तै दर्जनौं पीडितको पक्षमा आवाज उठाइरहेका गुरुङले जीवनमा कम्ति दुःख पाएनन् ।
भर्खरै नयाँ दिल्लीमा पूर्वसैनिक जनरल अशोक मेहतालाई भेटेर फर्केका गुरुङले यसपालि काठमाडौंमा नरेन्द्र मोदीलाई भेटेर आफ्नो समस्या राख्दा पनि समाधान नभए सारा विश्वका सामु इण्डियालाई देखाइदिने बताएका छन् ।
पोखराको जरेबरमा भेटिएका गुरुङले अनलाइनखबरसँग हिन्दी मिश्रति लवजमा ‘साहेब’ शब्द बारम्बार उच्चारण गर्दै आफ्नो जीवनको भोगाइ यसरी सुनाए-
 
भारतीय सेनामा कहिले र कसरी भर्ना हुनु भो ?

म इण्डियन आर्मीमा सन् १९६२ मा गोरखपुरमा भर्ती भएको हुँ ।  म त्यसबेला १८ वर्षको थिएँ । मलाई यहीँ घरबाट लगेको हो । त्यतिबेला हामीलाई लिन घरघरमा गल्लावाला आएको थियो । त्यसबेला मेरो साथमा हाम्रो गाउँबाट एउटा गल्लाले १५ जना लिएर गएको थियो ।
हामीलाई गोरखपुर लगेर भर्ती गर्‍यो । त्यहाँबाट हामीले देहरादून तालिम केन्द्रमा लग्यो । ४८ हप्ताको तालिम पूरा भैसकेपछि थर्ड जीआरको चौथो बलालियनमा हामीलाई हालियो । मैले सन् १९६२ देखि १९ वर्ष ५ महिना ४ दिन काम गरें ।

अहिले पेन्सन कति पाउँदै हुनुहुन्छ ?

पेन्सन पाउँदैन हजुर । दिँदैन ।

भारतीय सेनामा कति वर्ष काम गरेपछि पेन्सन पाक्छ ?

१५ वर्ष ।

Indra-bdr-1तपाईलाई भारत सरकारले किन पेन्सन नदिएको ?

यसमा ८ अक्टोबर १९७९ को दिनमा हामी ४५ जना  कार्यरत थियौं । कारणबस ७ जना त्यहाँ हाजिर हुन सकेनन् । त्यतिकैमा लेफि्टनेन्ट कर्णेल ओपी भाटियाले उनीहरु किन आएनन् भनेर थर्काए । त्यसपछि हामीलाई डिस्चार्ज गरिदियो ।

तपाईहरुलाई अन्याय केमा पर्‍यो ?

हामीलाई अन्याय यसमा पर्‍यो साहेब, कर्णेल भाटियाले:हामीलाई विना कारण कारवाही गर्‍यो । हामीलाई कुनै गल्तीविना काश्मिरको ले लद्दाखमा १८ हजार हाइटमा भारी बोकेर दौडन लगायो ।
हामीलाई हटाउँदाखेरि तिमीहरुले सैनिक विद्रोह गरेकै हो, थाहा हुँदाहुँदै हामीलाई रिपोर्ट दिएन । हामी प्रमोसन क्याडरवाला सिपाही थियौं । हामीले कसैको विरोधमा केही बोलेको पनि हैन । त्यहाँ कुनै सैनिक विद्रोह भएकै छैन । कसैको सम्पत्ति नोक्सान गरेको छैन । कसैले हतियार निकालेको छैन ।  तर, मलाई २० महिनासम्म पशुलाई जसरी बन्दी बनाएर बाँधेर राख्यो ।

यसरी कतिजना नेपालीमाथि केके कारवाही भयो ?

हामीमध्ये २५ जनालाई डिसमिसमा छाडिदियो । २५ जनालाई डिस्चार्ज फर्म सर्भिस गर्‍यो । ३ जनालाई आजीवन कारावास, ५ जनालाई १० वर्ष कैद र ७ जनालाई दुई वर्षको जेल सजायँ तोक्यो ।
मैले एउटा गुजरातको अफिसरलाई अनुरोध गरेर हामीमाथि अन्याय अत्याचार भयो भनें । यिनीहरुलाई केही सजायँ कम हुन्छ कि हजुर तपाईहरुले प्रयास गरिदिनुपर्‍यो भनें । पछि हामी ७/८ वर्ष जेलमा बिताएपछि छुट्यौं ।

जेलबाट छुटेपछि केके गर्नुभयो ?

जेलबाट छुटेपछि हाम्रा साथीहरु सबै तितरबितर भए । अहिलेजस्तो टेलीफोन थिएन । हामीले बनारसबाट कोर्टमा लड्यौं । त्यसपछि हामी सन् १९८६ मा इलाहावाद हाइकोर्ट गयौं । वकिलसा’पले पैसामात्रै लिएर हामीमाथि त्यहाँ पनि अन्याय गरे । न्यायाधीशले यिनीहरु तारिखमै आएन भनेर मुद्दा हरायो । जेडी मुखर्जी भन्ने इण्डियन वकिलले बदमासी गरेर हामीलाई तारेखमै बोलाएन । हामीले थाहै पाएनौं । उसले पैसा भेजो मात्रै भन्ने, तारेखमै नबोलाउने ।  कति खर्च भयो भन्ने हिसाबै छैन । कहिले पाँच हजार, कहिले ७ हजार ।

इलाहावाद हाइकोर्टमा मुद्दा हारेपछि के गर्नु भो ?

सबैजना तितर-वितर भए । बालबच्चा स-साना थिए । सबैका घरायसी समस्या थिए । सबैजना सम्पर्कबाट अलग भइहाले । मैले सूर्यबहादुर थापालाई निवेदन दिएँ । प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको गाडी मैले मुग्लिनमा रोकेर निवेदन दिएँ । उहाँले यसो हेरेर गुरुङजी यसको बारेमा सोच्ने मौका पाउँ है भन्नुभयो । पञ्चायतकालकै कुरा हो । तर, मैले योभन्दा अडाडि बढ्न सकिँन । एक्लो मान्छे, कसरी सक्नु ? साथीहरु तितर-बितर भैहाले ।
अँ, त्यसपछि म दिल्लीमा रहेको नेपाली दूताबासमा गएँ । मैले त्यहाँ पनि निवेदन दिएँ । तर, राजदूतले सुनेनन् । म इण्डिया र्फकन्न भनेर कसम मात्रै खाएको थिइँन, तर फेरि इण्डिया जानुपर्‍यो ।

के गर्न जानुभयो इण्डिया ?

इण्डिया गएर म विश्व हिन्दु परिषदमा भर्ना भएँ ।  मैले गल्ती गरेको भए पो सहन्छु भनेर म न्याय खोज्न त्यहाँ पुगेको हुँ ।  त्यसपछि मैले विश्व हिन्दु परिषदका युवाहरुलाई शारीरिक तालिम दिन थालें । दूर्गा बाहिनी बजरंग दललाई तालिम दिएँ । तर, उनीहरुको उद्देश्य मलाई थाहा थिएन । फौजी तालिम दे भने, मैले दिइहालें । मैले १९८६ देखि २०१० सम्म विश्व हिन्दु परिषदमा काम गरें ।

त्यसबेला कोको सँग भेट भयो ?

त्यसबेला म लालकृष्ण आडवाणीको घरमा पनि बसें । नरेन्द्र मोदी मुख्यमन्त्री भएपछि म बधाइ दिन गएँ । रक्षामन्त्री  जर्ज फर्नान्डिजलाई भेटेर आफ्नो अन्यायको कुरा राखें । उनको पीए मैले काम गरेको आरएसएसको थियो । सांसद रघुलाल शर्मालाई पनि भेटेर गोरखालीमाथि अन्याय भएको कुरा राखें । जर्ज फर्नान्डिजले ठीक छ, बहादुरहरुका लागि म गर्छु भनेको थियो । बनारसबाट हाम्रो फाइल माग्दा माग्दै बीजेपीको सरकार ढलिहाल्यो । त्यसपछि बाबरी मस्जिद काण्ड भयो, मलाई त सीबीआइले पक्रिइहाल्यो नि ।
काठमाडौंको भारतीय दूतावासमा जानु भएन ?

अहँ । गएनौं । दिल्लीमा निवेदन दिएको हो । केही भएन ।

कांग्रेस आईका नेताहरुसँग सम्पर्क भएन त ?

अहँ । १० वर्षसम्म केही गरिएन ।

भारतमा फेरि बीजेपीको सरकार आएपछि तपाईलाई न्याय पाइन्छ भन्ने आशा छ ?

मलाई नरेन्द्र मोदी साहेबसँग चाँहि धेरै आशा छ । किनभने आरएसएसमा मैले पनि सेवा गरेको हो । मोदी साहेबले केही गर्छ कि । हाम्रो हक दिन्छ कि भन्ने मलाई ठूलो आशा छ ।
गोरखालीको प्रशंसा गर्ने मोदीलाई काठमाडौं आउँदा भेट्ने कार्यक्रम  पनि छ कि ?

हो । म अस्ति ८ अक्टोबरमा दिल्लीमा मोदीलाई भेट्छु भनेर गएको थिएँ । दक्षिण भारतमा सुनामी आयो र नरेन्द्र मोदी उतातिर गयो । त्यसपछि जम्मु कस्मिर गयो, हरियाणा गयो, महाराष्ट्रमा चुनाव थियो, त्यतैतिर भाग्यो र मैले भेट्न पाइँन ।  र, पूर्वजनरल अशोक मेहतालाई भेटें ।

तपाईलाई के भने त अशोक मेहताले ?

उनले यो केस धेरै लामो भयो भने । तर, मोदी काठमाडौं आउँदा म पनि आउँछु, मोदी साहेबलाई भेटौं र प्रयास गरौं भनेका छन् । यहाँको परराष्ट्र मन्त्रालयमा पनि निवेदन दिनुहोला भनेका छन् ।
सार्क सम्मेलनका बेला काठमाडौंमा मोदीसँग भेट हुने मलाई पूर्ण विश्वास छ । यसका लागि हामी तयारी गर्दैछौं । पाँच जनाको हाम्रो समिति छ । अरु साथीहरु नभए पनि पाँचजनालाई लगेर म मोदीलाई भेट्न काठमाडौं जान्छु । अहिले मेरो साथमा ४० जना पीडितहरु छन् । यसमा कोही अपाङ्ग छन्, कोही प्यारालाइसिस भएका छन् । कोही चाँहि बितिसकेका छन् ।

मोदीले केही गरेनन् भने के गर्नुहुन्छ ?

त्यसपछि फेरि सोचौंला । तर, म न्यायको लागि लड्न त छाड्दिन । जबसम्म यो मेरो जीऊबाट प्राण निस्किँदैन, तबसम्म म छाड्दिँन ।
पूरा विश्वलाई थाहा छ साहेब, फस्ट वल्र्ड वार, सेेकेन्ड वल्र्ड वार, १९६२, १९६५, १९७१, १९९७ सम्म हामीले भारतलाई जोगाउनका लागि लाखौं गोरखालीले बलिदान दिएका छौं । यिनीहरुको भारत गोरखालीको रगतले जति पोतिएको छ, त्यति उनीहरुको रगतले पोतिएको छैन साहेब । यो कुरा विश्वलाई थाहा छ । अझै पनि भारतले हामीलाई यस्तो अत्याचार गर्‍यो भने यो कुरो संसारलाई देखाउँछौं । जसरी बि्रटिसले देख्नुपर्‍यो, त्यसैगरी हामी इण्डियालाई पनि देखाइदिन्छौं साहेब ।
यो पनि पढ्नुहोस्
मोदी काठमाडौं आउँदा गोरखा सैनिकले न्याय माग्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment