+
+

खुमबहादुरको भविश्यवाणी : २० वर्षभित्र धार्मिक युद्ध हुन सक्छ

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २० गते १६:०६

Khumbahadur-khadka२० कात्तिक, काठमाडौं । कांग्रेस नेता एवं ‘धार्मिक स्वतन्त्रतासहितको सनानत हिन्दु राष्ट्र नेपाल स्थापना महाअभियान’का संयोजक खुमबहादुर खड्काले हिन्दु राष्ट्र कायम नगरिए मुलुक २० वर्षभित्र धार्मिक युद्धमा जाने दाबी गरेका छन् ।

राजधानीमा विहीबार आयोजित महाअभियानको घोषणासभामा खड्काले भने- ‘हाम्रो राष्ट्रियता, सार्वभौमिकता खल्बलिएको छ, हिन्दु धर्म कायम भएन भने २० वर्षभित्र यो देश धार्मिक द्वन्द्वमा जान्छ, २० बर्ष पनि नलाग्न पनि सक्छ । ‘

कांग्रेस नेता खड्काले हिन्दु राष्ट्रका लागि तयार हुन कांग्रेससहितका दलका नेता र सभासदलाई मंसिर १५ सम्मको समय दिएका छन् ।

कार्यक्रममा प्रमुख वक्ताका रुपमा बोल्दै खड्काले धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्नसमेत दलहरुलाई चुनौती दिएका छन् ।

‘जनताकै कुरा गर्ने हो भने जनतामा जाउँ’ उनले भने-‘जनताले हिन्दु राष्ट्र चाहिन्न, धर्म निरपेक्षता चाहिन्छ भनेर सर्वस्वीकार्य हुनेछ । होइन भने जनताको धाक लगाएर, दुहाइ दिएर पछाडिबाट छुरी हान्न पाइन्न ।’

धर्मनिरपेक्ष मुलुक घोषणा गरेर कांग्रेसले गल्ती गरेको भन्दै उनले सबैभन्दा पहिले कांग्रेसले नै गल्ती सच्याउनुपर्ने बताए ।

मंसिर १५ गतेसम्म कांग्रेससहितका नेताहरुलाई भेटेर हिन्दु राष्ट्र कायम गर्न आग्रह गर्ने उनले बताए । उनले भने-‘हाम्रो आवाज सुनिएन भने जनता सडकमा ओर्लिएको अवस्थामा को कहाँ पुग्छन् भन्न सकिँदैन ।’

प्रचण्डले देश टुक्राउन खोजेको आरोप

एमाओवादी अध्यक्ष प्रचण्डले जातीय राज्य बनाएर देश टुक्राउन खोजेको खड्काको आरोप छ । उनले भने-‘विदेशीको इशारामा देशलाई छिन्नभिन्न पार्न खोजिँदैछ ।’

गाउँतहसम्म संगठन विस्तार गरिने
नेपाललाई हिन्दुराज्य कायम गराउन ५०१ सदस्यीय महाअभियान समिति र ५१ सदस्यीय कार्यसमिति गठन गरिएको कार्यक्रममा खड्काले जानकारी गराएका थिए । यसैगरी अन्चल, जिल्ला, क्षेत्र र गाउँतहमा संगठन विस्तार गरिने उनले बताए ।

सबै दललाई झुकाउने वाग्लेको दाबी

कार्यक्रममा कांग्रेस नेता चिरञ्जीवी वाग्लेले हिन्दु धर्मप्रतिको आस्था र विश्वासको सम्मान गर्दै हिन्दु धर्मसहितको नयाँ संविधान बनाउन आफ्नै पार्टीका शीर्षनेताहरुलाई आग्रह गरेका छन् ।

वाग्लेले सनातन हिन्दु राष्ट्र नेपाललाई धर्मनिरपेक्ष बनाउने विगतको निर्णयमा पुनरबिचार गर्न कांग्रेसलाई आग्रह पनि गरे ।

कार्यक्रममा उनले भने, ‘सबैको आस्था, विश्वास, संस्कृति र सभ्यतामाथि प्रहार भैरहेको छ, यसलाई बचाएर नेपाल राष्ट्रलाई एकतावद्ध बनाउन माघ ८ मा हिन्दू राज्यसहितको संविधान आउनुपर्छ ।’

पूर्व सभामुख तारानाथ रानाभाट, केन्द्रीय सदस्य पुष्पा भुसाल, सभासद शंकर भण्डारी, नेपाल संस्कृत विश्वविद्दालयका पूर्व उपकुलपति विदुर पाैडेल, पूर्व सांसद हर्षजित लामा, पूर्व सांसद मिठाराम विश्वकर्मा, वीपी चिन्तन प्रतिश्ठानका महासचिव देवेन्द्र पाैडेल, पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कंडेल, तामाङ संघ केन्द्रिय महासचिव बर्म लामा, माेहम्मद नक्की खाँन,  सुशीला चौधरी लगायतले पनि अभियानको समर्थनमा बोलेका थिए ।

कार्यक्रममा बोल्दै पत्रकार देवप्रकाश त्रिपाठीले सबै पत्रकारहरुलाई जिम्मेवार भएर देशका लागि सोच्नु सुझाव दिए ।

यो पनि पढ्नुस्

खुमबहादुरको निम्तो नेतात्रयले मानेनन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?