१० पुस, काठमाडौं । मुलुकमा विकास निर्माणका कामले गति लिन नसके पनि दुरसञ्चार सेवाले भने फड्को मार्न सफल भएको छ । सेवा सुरु भएको छोटो अवधिमै देशका कुनासम्मका मानिसहरु दुरसञ्चारको पहुँचमा आइपुगेका छन् ।
असोज महिनासम्म ९५.५८ प्रतिशत मानिसको पहुँचमा भ्वाइस सेवा पुगिसकेको छ भने ३५.२८ प्रतिशत मानिस इन्टरनेट सञ्जालमा जोडिसकेका छन् । अधिकांश मानिस भ्वाइस सेवामा आवद्ध भइसकेपछि टेलिकम अपरेटरहरु पछिल्लो समय डाटा/इन्टरनेट सेवा विस्तारमा केन्द्रित भइरहेका छन् ।
नियामक नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार २ करोड ५३ लाख २९ हजार ३७ जनाले विभिन्न सेवा प्रदायकको भ्वाइस सेवा लिइसकेका छन् । त्यस्तै, ९३ लाख ४८ हजार ८ सय ५६ जनाले इन्टरनेट/डाटा सेवा प्रयोग गरिरहेका छन् । डाटा प्रयोगकर्ताहरु पछिल्ला दिनमा तिब्र गतिले वृद्धि भइरहेको अपरेटरहरु बताउँछन् ।
फिक्स्ड सेवाका ग्राहक मोबाइलमा
प्राधिकरणको तथ्यांकअनुसार फिक्स्ड भ्वाइस सेवा लिने ग्राहकहरु ३.१४ प्रतिशत रहेका छन् भने मोबाइल सेवा प्रयोगकर्ता ८५.५८ प्रतिशत र अन्यतर्फ ६.६८ प्रतिशत ग्राहकहरु रहेका छन् । तथ्यांक हेर्दा फिक्स्ड सेवाका ग्राहकहरुको वृद्धिदर घट्दो अवस्थामा रहेको देखिन्छ भने मोबाइल सेवाका ग्राहकहरुको वृद्धिदर तिब्र गतिमा भइरहेको देखिन्छ ।
पछिल्लो समय भ्वाइस सेवा स्याचुरेसनको अवस्थामा पुगेको बताउँछन् टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्य । जसले गर्दा दूरसञ्चार सेवा प्रदायकहरु डाटा/इन्टरनेटको बजारमा विस्तारमा आक्रमक ढंगले प्रस्तुत भएका छन् ।
ग्राहकहरु आफ्नो सेवातर्फ आकषिर्त गर्न सेवा प्रदायकहरुले विभिन्न आकर्षक प्याकेजहरु ल्याएको देखिन्छ । सेवा प्रदायकहरुबीचको बढ्दो प्रतिस्पर्धाले सस्तोमा इन्टरनेट चलाउन पाएको सर्वसाधारणको भनाइ छ ।
असोज महिनासम्म भ्वाइस सेवा प्रयोग गर्ने ग्राहक संख्या
सर्भिस अपरेटर | ग्राहक संख्या | हिस्सा (प्रतिसतमा) |
---|---|---|
नेपाल टेलिकम | १,१३,९०,६१८ | ४४.९७० |
युटिएल | ५,०८,८४१ | २.००८ |
एनसेल | १,२०,६४,४२४ | ४७.६३० |
एसटीएम टेलिकम लिमिटेड (एसटीएम) | ३,०९५ | ०.०१२ |
नेपाल स्याटेलाइट टेलिकम (एनएसटीपीएल) | १,५०,००० | ०.५९२ |
स्मार्ट टेलिकम सञ्चार (एसटीपीएल) | १२,१०,३१७ | ४.७७८ |
अन्य सेवा प्रदायक | १,७४२ | ०.००६ |
जम्मा ग्राहक संख्या | २,५३,२९,०३७ | |
कुल जनसंख्या (२०६८) | २,६४,९४,५०४ | |
जनसंख्याको हिस्सा | ९५.५८ % |
इन्टरनेटमा टेलिकम पहिलो
इन्टरनेट/डाटा प्रयोगकर्ता अशोज महिनासम्म साढे ९३ लाख पुगिसकेका छन् । जसमध्ये टेलिकमको हिस्सा ५४ प्रतिशत र एनसेलको हिस्सा ४४ प्रतिशत रहेको छ । इन्टरनेट/डाटा सेवामा टेलिकम पहिलो सेवा प्रदायक बन्न सफल भएको छ ।
टेलिकमले एडीएसएल, जीपीआरएस, इडीजीइ, डब्लूसीडीएमए, इभिडियो, वाइम्याक्स लगायतका इन्टरनेट/डाटा सेवा उपलब्ध गराइरहेको छ । त्यस्तै, दोस्रोमा रहेको एनसेलले जीपीआरएस, इडीजीइ, डब्लुसीडीएमए सेवा उपलब्ध गराउँदै आएको छ ।
आइएसपीको बजार खोसिँदै
युटिएलको इन्टरनेटले ०.६०६ प्रतिशत हिस्सा ओगटेको देखिन्छ । तर, अन्य इन्टरनेट सर्भिस प्रोभाइडर (आइएसपी)को इन्टरनेट/डाटा प्रयोगकर्ताहरु भने खासै बढेको देखिँदैन । सुबिसु, केबुल जुम, वाल्र्डलिंक लगायतका आधा दर्जन बढी कम्पनीले इन्टरनेट सेवा दिए पनि यी कम्पनीको हिस्सा १.१६३ प्रतिशत रहेको देखिन्छ ।
ग्राहकहरुलाई ठूला सेवा प्रदायक नेपाल टेलिकम र एनसेलले तान्न थालेको प्राधिकरणको तथ्यांकले स्पष्ट पार्छ । पछिल्लो समय टेलिकमले ‘फाइबर टु होम’ सेवा सुचारु गरेपछि आइएसपीका ग्राहक झनै घट्ने टेलिकमका इञ्जिनियरहरु बताउँछन् ।
भ्वाइसमा एनसेल अगाडि
असोज महिनासम्मको ग्राहकसंख्या हेर्ने हो भने एनसेल भ्वाइस सेवामा अगाडि देखिन्छ । सो अवधिसम्म एनसेलले १ करोड २० लाख ६४ हजार ४ सय २४ ग्राहकलाई भ्वाइस सेवा पुर्याएको छ । जुन कुल भ्वाइस सेवा लिने ग्राहकहरुमध्ये ४७ प्रतिशत हो ।
दोस्रोमा टेलिकम देखिन्छ । टेलिकमले यस अवधिसम्म १ करोड १३ लाख ९० हजार ६ सय १८ जनालाई भ्वाइसेवामा आवद्ध गरिसकेको छ । जुन कुल भ्वाइस सेवा लिने ग्राहकहरुमध्ये ४४.९७ प्रतिशत हो ।
एनसेलले जीएसएम मोबाइल सेवामात्र उपलब्ध गराउँदै आएको छ भने टेलिकमले फिक्स्ड र सीडीएमए र जीएसएम मोबाइल सेवा उपलब्ध गराउँदै आएको छ ।
एसटीएम टेलिकमका ग्राहकहरु ३ हजार ९५ जना रहेका छन् भने नेपाल स्याटेलाइट टेलिकमका १ लाख ५० हजार, स्मार्ट टेलिकमका १२ लाख १० हजार ३ सय १७ र अन्य सेवा प्रदायकका १ हजार ७ सय ४२ ग्राहक रहेका छन् ।
असोजसम्म इन्टरनेट/डाटा प्रयोगकर्ताको संख्या
इन्टरनेट सेवा प्रदायक | ग्राहक संख्या | हिस्सा (प्रतिशतमा) |
---|---|---|
नेपाल टेलिकम | ५०,४९,५५६ | ५४.०१२ |
युटिएल | ५६,७४४ | ०.६०६ |
एनसेल | ४१,३३,८२६ | ४४.२१७ |
इन्टरनेट सर्भिस प्रोभाइडर (आइएसपी) | १,०८,७३० | १.१६३ |
कुल संख्या | ९३,४८,८५६ | |
जनसंख्या हिस्सा | ३५.२८ |
इन्टरनेट सेवा विस्तारमा एनसेल अन्य सेवा प्रदायकहरु भन्दा निकै आक्रमक ढंगले लागेको देखिन्छ । विभिन्न तीन महिने आकर्षक योजना ल्याएर मानिसलाई एनसेलको इन्टरनेट सेवामा आवद्ध गर्ने रणनीति एनसेलले लिएको छ ।
टेलिकम पनि डाटामा बजार देखेर यसको विस्तारमा लागेको प्रबन्ध निर्देशक आचार्यको भनाई छ । उनी भन्छन्, अबको बजार भनेको डाटा हो, भ्वाइस सेवा अब बन्दजस्तै भइसकेको छ, हामी डाटामै आक्रमक रुपले प्रस्तुत हुन्छौं ।
भ्वाइस सेवाका ग्राहक घट्दै
सामाजिक सञ्जालहरु गुगल, स्काइप, फेसबुक, भाइवर लगायतमा निःशुल्क कल गर्न पाइने हुँदा दूरसञ्चार सेवा प्रदायकहरुको भ्वाइसेवाका ग्राहकहरु घट्न थालेका हुन् । टेलिकमले पनि सन् २०१५ भित्रमा भ्वाइस सेवालाई निःशुल्क बनाएर डाटा सेवाको विस्तारमा लाग्ने योजना बनाइरहेको केही समय अगाडि अनलाइनखबरसँगको अन्तरवार्तामा प्रबन्ध निर्देशक आचार्यले बताएका थिए ।
भ्वाइस सेवा : कुनको कति हिस्सा ?
सेवाहरु | सेवाग्राही (प्रतिशतमा) |
---|---|
फिक्स्ड | ३.१४ |
मोबाइल | ८५.५८ |
अन्य (एलएमएस, जीएमपीसीएस) | ६.६८ |
जनसंख्या हिस्सा | ९५.५८ |
प्रतिक्रिया 4