वैशाख १२ गतेपछि ठप्प भएको चलचित्रको व्यापार विस्तारै चलमलाउन थालेको छ । चलचित्र भवनहरुमा हिन्दी, अंग्रेजी र पुराना नेपाली चलचित्र लागेका छन् । नयाँ नेपाली चलचित्र चलाउने हिम्मत कुनै पनि निर्माताले गर्न सकेका छैनन् ।
भुकम्पका कारण काठमाण्डौका हलमा क्षती पुगेको छ । भुकम्पको पराकम्पन गइरहेकाले हलसम्म दर्शक आउन अझै सकेका छैनन् । काठमाण्डौको जय नेपाल, कुमारी, सिभिल मलमा रहेको क्यूएफएक्स, गोपी, सिद्धार्थ, ललित लगायतका हल संचालनमा छन् । यी हलहरुमा नयाँ हिन्दी र अंग्रेजी चलचित्र लागेका छन् भने केहीमा पुरानै नेपाली चलचित्र चलाइएको छ ।
शुक्रबारदेखि काठमाण्डौमा संचालनमा रहेका मल्टिप्लेक्समा हिन्दी चलचित्र ‘वेलकम टु कराँची’ लागेको छ । हलिउड चलचित्र ‘एभेन्जर’ले पनि राम्रै व्यापार गरेको हल संचालकहरुले बताएका छन् । नयाँ हिन्दी चलचित्र भएकाले पनि शुक्रबार र शनिबारको व्यापार राम्रो रहेको जानकारी हल संचालकहरुको छ ।
शनिबार ७० प्रतिशतको व्यापार भएको र समय अनुसार यो व्यापार राम्रो भएको उनीहरुको भनाई छ । शुक्रबारबाट नै कुमारी, जय नेपालमा दिनको १ शो पाएको चलचित्र ‘६ एकान ६’ ले भने गतिलो व्यापार गरेन । दुई दिन लगातार दर्शक नआएपछि आइतबारबाट चलचित्र उतारिएको जानकारी कुमारी हलका म्यानेजर विनोद पौडेलले दिएका छन् । चलचित्रकी निर्मात्री दीपाश्री निरौलाले व्यापार सामान्य रहेको बताइन् । उनले क्यूएफएक्सबाट चलचित्र उत्रिएको बताइन् ।
काठमाण्डौ बाहिर चलचित्र वितरण गरेको एफ डी कम्पनीले पनि ‘६ एकान ६’को व्यापार खासै नभएको जानकारी दिएको छ । चलचित्र ‘६ एकान ६’को व्यापारबाट प्राप्त सम्पुर्ण शेयर रकम भुकम्प पीडितका लागि पूननिर्माणमा खर्च गर्ने यसका निर्माता दीपकराज गिरीको भनाई छ । चलचित्रले कती रकम शेयर पायो भन्ने थाहा पाउन, केही समय लाग्नेछ ।
अब, नयाँ नेपाली चलचित्रको प्रदर्शन सुरुवात गर्नुपर्ने देखिएको छ । नयाँ हिन्दी र अंग्रेजी चलचित्रमा दर्शक आउन थालेकाले नयाँ नेपाली चलचित्र चलेको खण्डमा दर्शक हलसम्म पुग्ने विश्लेषण गरिएको छ ।
प्रतिक्रिया 4