८ असार, काठमाडौं । नेपाल सरकारको आयोजनामा असार १० गते राजधानीको सोल्टी होटलमा हुन लागेको अन्तराष्ट्रिय दाता सम्मेलनमा विभिन्न ७ देशका मन्त्री सहभागी हुने भएका छन् ।

छिमेकी राष्ट्र भारत र चीनलगायत ७ देशका मन्त्रीहरु सम्मेलनमा उपस्थित हुने अर्थ मन्त्रालयका अन्तराष्ट्रिय सहायता समन्वय महाशाखाका उपसचिव नारायण ढकालले अनलाइनखबरलाई जानकारी दिए । सम्मेलनमा करिब २५० विदेशी पाहुना सहभागी हुनेछन् ।
विदेशी पाहुनाका लागि नेपाल सरकारले असार ९ गते नै रात्रीभोजको आयोजना गर्ने भएको छ । १० गते बिहान प्रधानमन्त्रीको उदघाटन मन्यव्यसँगै सम्मेलन सुरु हुनेछ । त्यो भन्दा अगावै सहभागीलाई नेपालमा भूकम्पले पुर्याएको क्षति सम्बन्धी भिडियो फुटेज देखाइनेछ ।
परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले स्वागत मन्तव्य व्यक्त गरेपछि अर्थमन्त्री डा. रामशरण महतले पुनर्निर्माणको आवश्यकता र सरकारले गरिरहेको कामबारे दातालाई स्पष्ट पार्ने छन् ।
‘सम्मेलनमा अहिलेसम्म विभिन्न ७ देशले दाता सम्मेलनमा मन्त्रीहरुलाई पठाउने जानकारी दिएका छन्’ ढकालले भने ।
ढकालका अनुसार सम्मेलनमा भारतीय विदेशमन्त्री सुष्मा स्वराज, चीनका विदेश मन्त्री वाङ यी, बंगलादेशका अर्थमन्त्री अबुल माल अमस्त, श्रीलंकाका विपद व्यवस्थापन मन्त्री आहम फौजी, भुटानका अर्थमन्त्री लियोन पो थांकाको दोर्जे र जापानका राज्यमन्त्री मिनोरु क्यूची सम्मेलनमा आउनेछन् ।
त्यसैगरी, जाइकाका अध्यक्ष डा. किमियो तानाका, एसियाली विकास बैंकका अध्यक्ष, विश्व बैंकका उपाध्यक्ष, संयुक्त राष्ट्र संघका उपमहासचिव र यूरोपियन कमिशनका जनरल कन्सुलर काठमाडौं आउने छन् ।
अहिलेसम्म ५० देश र दातृनिकायले सम्मेलनमा सहभागी हुने जानकारी दिएको ढकालले बताए । सरकारले ७० देश तथा दातृ निकायलाई दाता सम्मेलनमा उपस्थित हुन निम्ता दिएको थियो ।
असार १० गते हुने दाता सम्मेलनमा सरकारले भूकम्पबाट पुगेको क्षतिको पुननिर्माण गर्न ६ खर्ब ६६ अर्ब रुपैयाँ लाग्ने प्रतिवेदन प्रस्तुत गर्दैछ ।
प्रतिक्रिया 4