+
+

खुमबहादुरको बलमा कोइराला र देउवासँग भिड्ने रामचन्द्रको दाउ

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष ९ गते १२:२६

९ पुस, काठमाडौं । पार्टीको १३ औं महाधिवेशन नजिकिँदै गर्दा नेपाली कांग्रेसमा समीकरण बन्ने र भत्कने क्रमहरु चलिरहेको छ । पार्टी सभापतिमा सुशील कोइराला र शेरबहादुर देउवा स्वाभाविक दुई प्रतिस्पर्धीका रुपमा देखिएका छन् । तर, कोइराला र देउवालाई कसले चुनौती दिन्छन् अहिले नै भनिहाल्ने अवस्था छैन ।

congress

एक समय महामन्त्री कृष्ण सिटौलाले कोइराला क्याम्प छाडेर सभापतिमा लड्ने पक्काजस्तै देखिएको थियो । सिटौलाले पनि त्यसका लागि गतिविधि गरेको देखिन्थ्यो । तर, अहिले सिटौला एकाएक पछि हटेका छन् । र, उनी कोइराला क्याम्पमै आफ्नो स्थान सुरक्षित गर्नतिर लागेका छन् ।

सिटौलाको नयाँ निर्णयले कोइराला क्याम्पमै रहेका वर्तमान उपसभापति रामचन्द्र पौडेल समस्यामा परेका छन् । पौडेल सभापतिका लागि कोइराला र देउवाबीचको भिडन्तमा तेस्रो प्रतिपर्धी बन्ने तयारीमा लागेका छन् ।

स्रोतहरुका अनुसार रामचन्द्र पौडेल खुमबहादुर खड्का गुटलाई साथमा लिएर सभापति लड्ने प्रयासमा जुटेका छन् । सभापतिको भिडन्तमा कुनै पनि उम्मेदवारलाई बहुमत नपुग्ने र दोस्रो चरणमा चुनाव हुने अवस्था बनाउन सके जीत हुने पौडेलको रणनीति छ ।

देउवालाई खुमबहादुरको व्यवस्थापन चुनौती

स्रोतहरुका अनुसार भ्रष्टाचारी ठहर भएर जेल गरेर छुटेपछि हिन्दु राष्ट्रको नारा लिएर पार्टीमा गुट चलाइरहेका खुमबहादुर खड्का पार्टीमा आफ्नो स्थान सुरक्षित गर्ने प्रयासमा छन् ।

यसका लागि खड्काले सभापतिका उम्मेदवार वरिष्ठ नेता शेरबहादुर देउवासँग बार्गेनिङ गरिरहेका छन् । देउवा पक्षबाट आफूलाई उपसभापतिमा सुनिश्चित गर्ने खड्काको रणनीति छ । एक नेताले भने, शेरबहादुर दाइलाई अहिले सबैभन्दा समस्या भनेको खुमबहादुरको व्यवस्थापन हो ।’

देउवानिकट एक नेताले भने खुमबहादुर खड्का देउवा क्याम्पमा नै रहने दाबी गर्छन् । उनले भने, उहाँले चुनावका बेला टिकटका लागि बार्गेनिङ गर्नुहुन्छ । अहिले पनि त्यस्तै भएको हो । उहाँ केन्द्रीय सदस्यमा चुनाव लड्नुहुन्छ । र, पछि सम्मानजनक पद दिइन्छ ।’

देउवातिर स्थान सुरक्षित नभएकाले खड्काको समूह रामचन्द्रलाई अगाडि सारेर तेस्रो धार जन्माउने प्रयासमा छन् । यसका लागि शेखर कोइराला, पूर्णबहादुर खड्कासहितका नेताहरुबीच पछिल्लो समय बाक्लै बैठकहरु हुने गरेको एक नेताले बताए ।

सुशीललाई भागवण्डा मिलाउनै गाह्रो

फेरि पार्टी सभापति बन्ने र कोइराला परिवारलाई नै पार्टीको बागडोर सुम्पने प्रयासमा छन् सुशील कोइराला । तर, उनलाई आफ्नो गुटका नेताहरुलाई चित्त बुझाउने गरी पद बाँडफाँड गर्न निकै गाह्रो परेको छ । त्यसैले कोइराला महाधिवेशन अघि नै पदाधिकारी बढाउन चाहन्छ । तर, देउवाले त्यसलाई रोक्नु नै आफ्नो जीतको आधार देखेकाले कोइरालालाई पदाधिकारी विस्तार गर्न सजिलो छैन ।

स्रोतका अनुसार कोइराला क्याम्पबाट महामन्त्रीमा प्रकाशमान सिंह उम्मेदवार बन्ने लगभग पक्का देखिएको छ । गणेशमान पुत्रको बिरासत बोकेका सिंह महामन्त्री नपाए सभापतिमा लड्छु भन्दै हिँडेका छन् । र, यो उनको कोइरालासँगको बार्गेनिङ मात्रै भएको नेताहरु बताउँछन् ।

सुजाता कोइराला, शशांक कोइराला, रामशरण महत, मिनेन्द्र रिजाल, महेश आचार्य, दिलेन्द्र बडू र आनन्द ढुंगाना पनि कोइराला क्याम्पमा छन् र उनीहरु पदाधिकारीका आकांक्षीसमेत हुन् ।

यदि महाधिवेशनअघि नै विधान संशोधन गरेर पदाधिकारी विस्तार गर्न सकेनन् भने कोइरालालाई नेताहरुको व्यवस्थापन निकै गाह्रो हुने देखिएको छ ।

देउवा खेमाका अर्जुन महामन्त्री !

अर्जुन नरसिंह केसी पछिल्लो समय देउवा क्याम्पमा पुगेका छन् । र, केसी चुनाव लडेर महामन्त्री बन्ने दाउमा छन् । तर, देउवा गुटका नेताहरुले भने केसीसँग टीमको सूचीमा मागेका छन् । त्यस आधारमा मात्रै उनको पद तय गर्ने देउवाको रणानीति छ ।

देउवा खेमामा महामन्त्रीका अर्का दाबेदार विमलेन्द्र निधि हुन् । पछिल्लो समय मधेस एजेण्डामा सभापति सुशील कोइरालासँग निकट भएपछि धेरैले निधि र चित्रलेखाले गुट परिर्वतन गरेको चर्चा गरेको छ ।

तर, निधि निकटवर्तीहरुका अनुसार उनी देउवा गुटमै छन् र महाधिवेशनसम्म पनि रहनेछन् । निधिलाई सभापतिबाट मनोनित महामन्त्री बनाउने देउवा पक्षको रणानीति छ ।

देउवा गुटमा अर्जुननरसिंह, विमलेन्द्र, चित्रलेखाबाहेक बालकृष्ण खाँड, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद लगायत छन् । नेताहरुका अनुसार पूर्णबहादुर खड्का महामन्त्रीका आकांक्षी हुन् भने बालकृष्ण खाँड सहमहामन्त्रीको दाबेदार हुन् ।
सात महामन्त्री थप्न देउवा तयार

पदाधिकारी बढाउने कोइरालाको प्रयासमा अवरोध गरेका देउवा अन्ततः सात महामन्त्री बनाउन तयार देखिएका छन् ।

देउवा पक्षको सर्त छ कि महामन्त्री बनाउँदा सात प्रदेशअनुसार प्रादेशिक आधारमा बनाउनुपर्छ । अर्को विकल्प भनेको पाँच जातीय र दुई खुला प्रतिस्पर्धाबाट सहमहामन्त्री बनाउनुपर्नेछ ।

यो विकल्पबाट दुबै समूहलाई नेता व्यवस्थापन गर्न केही सहज हुनेछ । तर, उपसभापति बढाउने प्रस्ताव भने कुनै हालतमा स्वीकार्य नहुने देउवा पक्षले बताएको छ । उपसभापति थप्न नदिने देउवा पक्षको अडानले सुशील कोइरालालाई अप्ठ्यारो परेको छ । सुशीलले शशांक, सुजाता, रामचन्द्र लगायतलाई उपसभापतिमा व्यवस्थापन गर्नुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?