+
+

बूढीगण्डकीले पुल बगाएपछि मनास्लु पदमार्ग अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ १६ गते ७:३१

manaslu treaking1१६ जेठ, गोरखा । बूढीगण्डकी नदीमा आएको भेलले मनास्लु पदमार्गअन्तर्गत केरौँजाको यारुबगरस्थित बूढीगण्डकी नदीमाथिको मुख्य पुल बगाउँदा सात गाविसका स्थानीयवासी र पर्यटकले पदमार्गको सो खण्ड भई आवागमन गर्न पाएका छैनन् । नदीको भेलले किनारका दुवैपट्टिको पर्खाल बगाएपछि काठको पुल पनि बगेको हो ।

भूकम्पपछि अवरुद्ध रहँदै आएको मनास्लु पदमार्ग गत कात्तिक महिनामा यारुबगरमा काठको अस्थायी पुल बनाएपछि सञ्चालन गरे पनि गत आइतबार आएको भेलले पुनः पुल बगाएपछि पदमार्ग अवरुद्ध भएको सिर्दिवासस्थित जगतका बलबहादुर कार्कीले बताए ।

“पुल बगेपछि पदमार्गका बटुवाहरु उहियाको लाक्पाल गाउँ हुँदै जगत निस्केका छन्”, उनले भने – “पहिरोले यो बाटो पनि कुनबेला अवरुद्ध हुने हो ठेगान छैन ।” यारुबगरमा पुल बगेपछि तीन घन्टा घुमेर असजिलो बाटो हुँदै स्थानीयवासी र पर्यटक जगत पुगे पनि खाद्यान्नलगायत सामग्री बोकेका खच्चडहरु आवागमन गर्न नसक्ने कार्कीले बताए ।

पुल बगाएको जानकारी जिल्ला विकास समिति र जिल्ला प्राविधिक कार्यालयमा गराइसकेको भन्दै कार्कीले एक साता हुँदासमेत कार्यालयले कुनै सहयोग नगरेको बताए ।  यारुबगरस्थित बूढीगण्डकी नदीमाथि चारवटा काठे पुल बनाइएको थियो । तीमध्ये नदीमा पानीको सतह बढेकाले अरु पुल पनि बग्ने अवस्थामा पुगेको छ ।

बर्खामा बूढीगण्डकीमा भेल बढेपछि यारुबगर हुँदै आवागमन गर्न नसकिने भन्दै जिल्ला विकास समितिले बेलायती संस्था डिएफआइडीलाई पहाड खोपेर क्यान्टिलिभर पुल निर्माण गर्न जिम्मा दिएअनुसार सो संस्थाले पुल निर्माणलाई तीव्रता दिएको जनाएको छ ।

जिल्ला प्राविधिक कार्यालयका प्रमुख सहदेवबहादुर भण्डारीले यारुबगरमा १६० मिटर लामो क्यान्टिलिभर पुल निर्माणको काम अन्तिम चरणमा पुगेको बताए ।  “आउँदो आठ नौ दिनमा पुल निर्माणकार्य सकिन्छ । पर्यटक, स्थानीय र खच्चड हिँड्न पाउँछन्” उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?