+
+
दशैं-बसैं :

‘डाइबर’ र ‘लाहुरे टोल’ बोकेको कोहलपुर

मधेशी–पहाडी, हिन्दु–मुस्लिम विवादले नछुने, सुगम पनि । कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका पहाडबाट बसाइँ सर्नेहरूको रोजाइमा पर्छ कोहलपुर । ‘डाइबर टोल’ र ‘लाहुरे टोल’ ले त यो उदीयमान शहर विविधताको इन्द्रेणी भएको छ ।

कृष्ण अधिकारी कृष्ण अधिकारी
२०८१ असोज २३ गते १३:५१

कोहलपुर मध्यपश्चिम नेपालको प्रमुख शहरको रूपमा विस्तार भइरहेको छ । पूर्व–पश्चिम राजमार्गमा पर्ने बाँके जिल्लाको कोहलपुर कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रवेश द्वारका रूपमा रहेको छ ।

पछिल्ला तीन दशकको जनसंख्याको विवरण केलाउँदा कोहलपुरको जनसंख्या वृद्धि निकै उच्च दरमा भइरहेको देखिन्छ । हालको कोहलपुर नगरपालिका २०७३ सालमा साबिकका कोहलपुर, रझेना र शमशेरगञ्ज गाविस गाभेर बनाइएको हो ।

२०५८ सालको जनगणना अनुसार कोहलपुर, रझेना र शमशेरगञ्ज गाविसको कुल जनसंख्या ४१ हजार ९९० थियो । २०६८ मा जनसंख्या वृद्धि भएर ७० हजार ६४७ पुग्यो । २०७८ को जनगणना अनुसार कोहलपुर नगरपालिकाको जनसंख्या १ लाख १ हजार ६६७ पुगेको छ ।

नगरपालिकाले प्रकाशित गरेको प्रोफाइलका अनुसार कोहलपुरको जनसंख्या वृद्धिदर ३.५३ छ । जुन देशका अन्य शहरको तुलनामा निकै धेरै हो । बाँके राष्ट्रिय निकुञ्जको जंगलसँग जोडिएको कोहलपुर १८४.२६ वर्ग किलोमिटरमा फैलिएको छ । नगरपालिकाको करिब ६६ प्रतिशत क्षेत्रमा जंगल रहेको छ । कोहलपुर नेपालकै धेरै जंगल भएको स्थानीय तह पनि हो ।

बाँके जिल्लाको नेपालगञ्जको सीमादेखि कोहलपुरको सीमावर्ती क्षेत्रको दूरी करिब १० किलोमिटर मात्रै छ । नगरपालिकामा जम्मा १५ वटा वडाहरू छन् । निर्वाचन क्षेत्र विभाजनका आधारमा कोहलपुर लुम्बिनी प्रदेशको निर्वाचन क्षेत्र नं. १ को ख तथा प्रतिनिधि–सभा निर्वाचनको क्षेत्र नं. १ मा पर्दछ ।

कोहलपुर नगरपालिकाको नाम तेल पेल्ने कोलबाट भएको हो भन्ने विश्वास छ । कोल भनेको तेलहन जस्तै तोरी, आलस आदि पेलेर तेल उत्पादन गर्ने काठै काठले बनेको घरेलु यन्त्र हो ।

राष्ट्रिय जनगणना २०७८ अनुसार कोहलपुर नगरपालिकामा २४ हजार १८३ घरपरिवारको बसोबास छ । कोहलपुरको जनसंख्याको ११ प्रतिशत पहाडी दलित, २ प्रतिशत मधेशी दलित, पहाडी आदिवासी जनजाति ९.८ प्रतिशत, मधेशी जनजाति तथा आदिवासी थारू २६.९ प्रतिशत, पहाडी बाहुन, क्षेत्री, ठकुरी, मधेशी, संन्यासी ४३.६ र मुस्लिम २.७ प्रतिशत छन् ।

भाषाका आधारमा हेर्दा ६९.२४ प्रतिशत नेपाली, २४.५१ प्रतिशत थारू, ४.७ प्रतिशत अवधी भाषीको बसोबास छ । कोहलपुर नगरपालिका क्षेत्र पनि नेपालकै अत्यधिक गर्मी हुने क्षेत्रमै पर्छ । यहाँको अधिकतम तापक्रम गर्मीको मौसममा ४६ डिग्री र हिउँदमा ४ डिग्री सेल्सियससम्म पुग्छ । वार्षिक सरदर वर्षा १९१२ मि.मि. हुने गरेको रेकर्ड छ ।

कोहलपुरबाट नेपालगञ्ज, कर्णाली प्रदेश, पश्चिमको सिमाना कञ्चनपुर गड्डाचौकी र पूर्वमा बुटवल, नारायणघाट हुँदै काठमाडौंलगायत पूर्वी नेपालका विभिन्न शहरहरू जाने पक्की सडक यातायातको सुविधा छ ।

कोहलपुरबाट सुर्खेत ८५ किलोमिटर, महेन्द्रनगर २०० किलोमिटरको दूरीमा पर्छन् । कोहलपुरमा पूर्व–पश्चिम महेन्द्र राजमार्ग तथा नेपालगञ्जबाट सुर्खेत हुँदै कर्णाली प्रदेश जाने रत्न राजमार्ग मिल्ने चारवटा बाटोको मिलनविन्दु ‘चौराह’ हो । त्यसैले कोहलपुरलाई सडक यातायात सुविधाका हिसाबले पूर्व–पश्चिम राजमार्गबाट सुदूरपश्चिम तथा कर्णाली प्रदेश जाने प्रवेशद्वारका रूपमा लिइन्छ ।

कोहलपुरबाट पूर्व–पश्चिम, उत्तर–दक्षिण चारै दिशामा जाने सार्वजनिक सवारीका साधनहरू वर्षभरि नै दैनिक १८ घन्टासम्म चल्छन् । कोहलपुरबाट नेपालगञ्ज एअरपोर्ट करिब १३ किलोमिटरको दूरीमा पर्छ । नेपालगञ्ज एअरपोर्टबाट काठमाडौं र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा दैनिक करिब ३० वटा उडान हुन्छ ।

कोहलपुरमा दुर्गम पहाडी जिल्लाहरूबाट बिरामीका साथै विपद् र दुर्घटनामा परेकाहरूको आपत्कालीन उद्धार कार्यका लागि हेलिप्याडहरू रहेका छन् । कोहलपुरमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान मैदान लगायत खेल मैदानहरूको सुविधा छ ।

बाँके राष्ट्रिय निकुञ्जसँग जोडिएका कारण कोहलपुर पर्यटनका दृष्टिले पनि प्रचुर सम्भावना भएको शहरको रूपमा विकसित भइरहेको छ । कोहलपुरमा संघीय सरकार, प्रदेश र इलाकास्तरका करिब दुई दर्जन सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाका अतिरिक्त उच्च शिक्षाका लागि ६ वटा क्याम्पस लगायत ८० वटा विद्यालय छन् ।

२०५२ साल असारमा नेपाल टेलिभिजनले कोहलपुरमा क्षेत्रीय प्रसारण केन्द्र सुरु गरेर समाचारमूलक सामग्रीहरूको उत्पादन र प्रसारण गर्न सुरु गरेसँगै कोहलपुरको चर्चा देशभर नै हुन थालेको थियो ।

२०५२/५३ सालमै नेपालगञ्ज मेडिकल कलेजले कोहलपुरमा शिक्षण अस्पताल निर्माण सुरु गरेपछि कोहलपुरको आकर्षण बढ्दै गएको हो । ३५० बेडको शिक्षण अस्पताल र एमबीबीएस तहको अध्ययनका लागि करिब ६ विद्यार्थी, करिब १५० जना फ्याकल्टी, करिब ५०० कर्मचारीको ओहोरदोहोर हुन थालेपछि कोहलपुरको रौनक बढ्दै गयो । मेडिकल कलेजमा भारत, श्रीलंका, बंगलादेश र भुटानबाट समेत विद्यार्थी अध्ययनका लागि आउने गरेका छन् ।

२०५२ देखि सुरु भएको माओवादीको हिंसात्मक आन्दोलन र संकटकालका कारण तत्कालीन कर्णाली र राप्ती अञ्चलका पहाडी जिल्लाका मानिसहरूको बसाइँसराइ कोहलपुरमा बढ्दै गएको कोहलपुर नगरपालिकाका पूर्व मेयर लुटबहादुर रावत बताउँछन् ।

कोहलपुरमा सबैभन्दा धेरै सल्यानबाट बसाइँसराइ गरेर आएका मानिसहरूको बसोबास छ । कर्णाली प्रदेशका जुम्ला, हुम्ला, मुगु, कालिकोट, दैलेख, जाजरकोटदेखि लुम्बिनी प्रदेशका दाङ, रोल्पा, रुकुम, प्युठान, अर्घाखाँची, गुल्मी, गण्डकी प्रदेशका स्याङ्जा, पर्वत, कास्की लगायत जिल्लाहरूका मानिसहरू पनि बसाइँ सरेर कोहलपुर आएका छन् ।

यातायातको सुविधाका हिसाबले पश्चिम नेपालकै केन्द्रमा रहेका कारण देशैभरका यातायात व्यवसायीहरू कोहलपुर पुग्ने र कोहलपुरमै घडेरी किनेर बसोबास गर्ने क्रम बढ्दै गएको छ । यसरी यातायात मजदुरहरू धेरै बसोबास गर्न थालेपछि सो क्षेत्रलाई ‘डाइबर टोल’ भन्ने गरिएको छ । त्यस्तै कोहलपुर क्षेत्रभित्र कर्णालीको जुम्लाबाट आएर बसोबास गर्नेहरूले आफ्नो टोलको नाम ‘लाहुरे टोल’ राखेका छन् ।

मेडिकल कलेजका अतिरिक्त, राम्रो पढाइ हुने एक दर्जन भन्दा धेरै बोर्डिङ स्कुल, दुई वटा नर्सिङ कलेज, ३ वटा बहुमुखी क्याम्पस, स्नातक तहदेखि स्नातकोत्तर तहसम्म शिक्षा, व्यवस्थापन आदि सङ्कायमा पठनपाठन हुन थालेपछि कोहलपुर विस्तारै पश्चिम नेपालकै शिक्षा र स्वास्थ्यको हब बन्दै गएको छ ।

उच्च शिक्षा र औषधि उपचारका लागि पश्चिम नेपालका बासिन्दाहरूको रोजाइमा कोहलपुर पर्न थालेसँगै बसाइँसराइ गरेर कोहलपुर झर्नेहरूको संख्या पनि बढ्दै गएको युवा व्यवसायी कुश्माखर बस्यालले बताए ।

२०६२/६३ को आन्दोलनका क्रममा मधेशी र पहाडी समुदाय बीचको तनाव बढेको थियो । नेपालगञ्जमा मधेशी र पहाडी, मुस्लिम र हिन्दु समुदाय बीच झडप हुने क्रम बढ्दै गएको थियो । त्यसबेला पश्चिम नेपालका कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाबाट बसाइँसराइ गरेर तराई झर्नेहरूको रोजाइमा कोहलपुर पर्न थालेको हो ।

कोहलपुर नगरपालिकाको पछिल्लो तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८०/८१ कोहलपुरमा १४१ जनाले नक्शा पास गराएरै नयाँ घर बनाएका छन् । नक्शा पास नगराई घर बनाउनेहरूको संख्या पनि करिब सयको हाराहारीमा भएको जानकारहरूको अनुमान छ । त्यसैगरी गत आर्थिक वर्ष २०८०÷८१ यहाँ ७६१ परिवार बसाइँसराइ गरेर आएका छन् भने २५२ परिवार बसाइँसराइ गरेर अन्यत्र गएका छन् ।

शिक्षा, स्वास्थ्य, सडक यातायातको सुविधाका साथै बाँके निकुञ्जसँग जोडिएका कारण स्वच्छ वातावरण भएकाले कोहलपुर बसाइँसराइ गरेर आउनेहरूको संख्या बढ्दै गएको नेपाल टेलिभिजन कोहलपुर प्रसारण केन्द्रका प्रमुख विजय बर्मा बताउँछन् ।

दशैं-बसैं
लेखकको बारेमा
कृष्ण अधिकारी

कृष्ण अधिकारी नेपालगञ्जबाट खोजमूलक स्टोरी लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?