
१९ जेठ, काठमाडौं । आज बुधबारका दिन सरकारका कार्यालयहरुमा निजामती कर्मचारीले विदा पाउने भएका छन् । नेपालको इतिहासमा पहिलोपटक निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचन हुने भएकाले मन्त्रिपरिषदको निर्णय अनुसार आज विदा दिइएको हो ।
तर, यस्तो विदा निजामती कर्मचारीहरुले मात्रै पाउने छन् । निजामति बाहेक अन्य सेवाका कर्मचारीहरुले भने विदा पाउने छैनन् । सरकारी कार्यालयहरुमा निजामती कर्मचारीले विदा पाएका कारण आज सेवाग्राहीहरुको काम प्रभावित हुने देखिएको छ ।
यसरी हुँदैछ चुनाव
निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको चुनाव बुधबार हुँदैछ । काठमाडौंमा हरेक मन्त्रालयमा र अन्य जिल्लाहरुमा सरकारी वकिलको कार्यालय वा जिल्ला प्रशासन कार्यालयहरुमा मतदान हुनेछ ।
बिहान ९ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ । अधिकृतसम्मका मतदाताको संख्या ५४ हजार ३ सय छ । उनीहरुले व्यक्ति होइन, संगठन रोज्नेछन् । अधिकृतभन्दा माथिल्लो तहका कर्मचारीहरुले भने निर्वाचनमा भाग लिन पाउँदैनन् ।
६ कर्मचारी संगठनबीच प्रतिस्पर्धा
मतदाताहरुले अन्य सामान्य चुनावमा जस्तो व्यक्तिलाई नभई संगठनलाई भोट दिनेछन् । चुनावी प्रतिस्पर्धामा ६ वटा कर्मचारी संगठनहरुले मनोनयन दर्ता गराएका छन् । त्यसका लागि ६ वटा मतपत्र बनाइएको छ ।
कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियन (संघ), एमाले निकट नेपाल निजामती कर्मचारी संगठन, माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन, मधेस केन्द्रित दलनिकट नेपाल मधेसी निजामती कर्मचारी मञ्च, कार्यालय सहयोगीहरुको संगठन ‘राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र’ र सवारी चालकहरुको संगठन ‘राष्ट्रसेवक कर्मचारी संगठन’ चुनावी प्रतिस्पर्धामा छन् ।
कांग्रेसनिकट कर्मचारीको नेतृत्व सुवोध देवकोटाले गरेका छन् । एमाले निकट कर्मचारीको नेतृत्व पुण्य ढकाल र माओवादी केन्द्र निकट कर्मचारीको नेतृत्व हरिबहादुर रावलले गरेका छन् ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्रको नेतृत्व नरबहादुर थापाले गरेका छन् ।
सबैभन्दा बढी मत पाउनेले अध्यक्ष र कोषाध्यक्ष, दोस्रो हुनेले महासचिव, तेस्रो हुनेले उपाध्यक्ष र चौथो स्थान हासिल गर्ने संगठनले सचिव पद पाउनेछन् ।
बाँकी १६ सदस्य पदमा कुल सदस्य संख्या १६ लाई एक सय मानेर प्राप्त मतसंख्याको आधारमा सदस्य बाँडफाँड गरिनेछ ।
चुनावको मिति तय भएदेखि नै कर्मचारीका नेताहरुले चुनाव प्रचार- प्रसार तिव्र पारेका थिए । कतिपयले एकअर्कासँग तालमेल समेत गरेका छन् ।
नयाँ शक्तिको समर्थन कांग्रेसलाई
यसैवीच डा. बाबुराम भट्टराई निकट नयाँ शक्ति सम्बद्ध कर्मचारीहरुले निर्वाचनमा कांग्रेस निकट कर्मचारीहरुलाई सघाउने भएका छन् ।
नयाँ शक्ति निकट कर्मचारीहरुको प्रस्तावित निजामती ट्रेड युनियन नेपालका संयोजक शोभाकान्त नेपाल र निजामती कर्मचारी युनियनका अध्यक्ष सुवोध देवकोटाले जारी गरेको संयुक्त विज्ञप्तिमा संयुक्तरुपमा चुनावी अभियान सञ्चालन गर्ने उल्लेख छ ।
यसैगरी एमाओवादी निकट नेपाल राष्ट्रिय कर्मचारी संगठनले पटक- पटक राष्ट्रसेवक कर्मचारी संगठन र राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्रसँग तालमेलका लागि छलफल चलाएको छ ।

सबै नेता भन्छन्- हामी जित्छौं
जानकारहरुका अनुसार कांग्रेस, एमाले र माओवादी केन्द्र निकट कर्मचारी संगठनबीच प्रतिस्पर्धा तिव्र हुन्छ । तर, जित्ने दाबी भने सबैले गरेका छन् ।
एमालेनिकट कर्मचारी संगठनका नेता पुण्य ढकालले चुनावको माहोल आफूहरुको पक्षमा बनेको दाबी गरे ।
त्यस्तै माओवादीनिकट नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरिबहादुर रावलले अनलाइनखबरसँग भने, ‘चुनावमा तिव्र प्रतिस्पर्धा हुन्छ, हामी कोहीभन्दा कम छैनौं ।’
त्यसो त कर्मचारीहरु अधिकांश कांग्रेस र एमाले निकट छन् । त्यसैले पहिलो र दोस्रो स्थानका लागि उनीहरुबीच नै प्रतिस्पर्धा हुने धेरैको आंकलन छ । माओवादी केन्द्र निकट कर्मचारीले तेस्रो स्थान हासिल गर्ने अनुमान धेरैले लगाएका छन् । कर्मचारीका एक नेताले भने, ‘चुनाव हो, केही भन्न सकिन्न तर, अहिलेकै अवस्थामा कांग्रेस र एमालेबीच पहिलो स्थानका लागि प्रतिस्पर्धा हुन्छ र माओवादी त तेस्रो स्थानमा आउँछ ।’
चुनावको प्रयास
निजामती सेवा ऐन दोस्रो संशोधन ०६४ ले निजामती सेवाका कर्मचारीहरुलाई ट्रेड युनियन खोल्ने अधिकार दिएको थियो । हाल बिभिन्न राजनीतिक दल निकट छुट्टा-छुट्टै कर्मचारी संगठनहरु क्रियाशील छन् । उनीहरुको स्वार्थ बाझिँदा सेवा प्रवाहमा समस्या आएको र पेशागत मुद्दा कमजोर भएको गुनासो आउने गरेको थियो ।
अब भने कर्मचारीको हकहित संरक्षण गरी निजामती सेवालाई प्रभावकारी र गतिशील बनाउन सरकारलाई रचनात्मक सुझाव दिने निकायका रुपमा एक मात्र आधिकारिक ट्रेड युनियन हुनेछ ।
विगतदेखि नै एउटामात्र आधिकारिक ट्रेड युनियनको निर्वाचन गराउने प्रयास भए पनि सफल हुन सकेको थिएन ।
लीलामणि पौडेल मुख्य सचिव भएलगत्तै उनले भनेका थिए, ‘मेरै पालामा कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको चुनाव गराउँछु ।’ तर, राजनीतिक खिचातानीका कारण पौडेलको प्रयास सफल हुन सकेन ।
त्यसपछि तत्कालीन सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले पनि निजामती कर्मचारीहरुको ट्रेड युनियनको निर्वाचन गराएरै छाड्ने अठोट गरेका थिए तर, उनी पनि सफल भएनन् । बरु उनले डीभी पीआर लिने कर्मचारीहरुलाई कारवाही गर्ने निर्णय गरेर निकै चर्चा कमाए ।
लालबाबुको चर्चा चलिरहेका बेला सामान्य प्रशासन मन्त्रीको कुर्सीमा पुगेकी माओवादी नेतृ रेखा शर्माले निजामती कर्मचारीहरुको ट्रेड युनियनको निर्वाचनको मिति घोषणा गराउन सफल भइन् । ०७२ पुस २९ गते बसेको मन्त्रिपरिषद बैठकले चैत २८ गते चुनाव गराउने भन्दै मिति तोक्यो । तर, कर्मचारीहरुले २० प्रतिशत थ्रेस होल्डको व्यवस्थालाई १० प्रतिशतमा झार्नुपर्ने लगायतका माग गर्दै आन्दोलन सुरु गरेपछि पटक-पटक चुनाव सारियो । १० प्रतिशत थ्रेसहोल्डको माग खासगरी माओवादी निकट कर्मचारीहरुको थियो ।
आफ्नै पार्टीको स्थिति कमजोर हुँदाहुँदै चुनावको मिति तोकिएको भन्दै मन्त्री शर्माको आलोचना भयो । तर, कर्मचारीहरुको बेथितिलाई तोडेरै छाड्ने अठोट लिएकी उनी चुनाव गराउने निर्णयबाट पछि हटिनन् । त्यसैको फलस्वरुप कर्मचारीहरुले एकमात्र आधिकारिक ट्रेड युनियन पाउँदैछन् ।
यद्यपि एउटै आधिकारिक ट्रेड युनियन भनिए पनि पार्टीगत कर्मचारीका गुटहरु यथावतै रहने भएकाले यसले कर्मचारीतन्त्रमा हुने गरेको राजनीतिक भागवण्डालाई निमिट्यान्न पार्ने अनुमान चाहिँ अहिल्यै लगाइहाल्नु शायद हतारो हुनेछ ।
प्रतिक्रिया 4