१६ असार, ताप्लेजुङ । ताप्लेजुङमा पछिल्लो समय लिचीको उत्पादन बढ्दै गएको छ । पहिले झापा र भारतको विभिन्न स्थानबाट आउने लिचीले माग धान्दै आएको भए पनि अहिले जिल्लामानै उत्पादित लिचीले बजार ओगट्न थालेको छ ।
चिसो स्थानमा उत्पादन नहुने भन्दै पहिले यसको खेती नगरिएको भए पनि हाल आएर मौषममा आएको परिवर्तनको कारण ताप्लेजुङमानै पनि प्रशस्त मात्रामा यसको उत्पादन हुन थालेको जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङले जनाएको छ ।
अहिले जिल्लाको बेसि क्षेत्रमा कृषकहरुले व्यवसायीक रुपमानै यसको खेती सुरु गरेको स्थानीय कृषक नेत्रप्रसाद भट्टराईले बताए । स्वाद र पौष्टिकताको दृष्टिले सर्वोत्तम फलमा पर्ने हुँदा यसको विक्रि पनि राम्रै हुने भट्टराईको भनाइ छ ।
यसको जिल्लामानै राम्ररी उत्पादन हुनथालेपछि जिल्ला कृषि विकास कार्यालयले अहिले यसको पकेट क्षेत्रको पहिचान गरिरहेकाले आगामि दिनमा कृषकलाई प्रोत्साहन गर्ने किसीमको कार्यक्रम ल्याईने जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङका प्रमुख रविन्द्रबहादुर प्रधानले बताए ।
ताप्लेजुङ बजारमा लिची अहिले प्रतिगोटा ५ र प्रतिकेजी एक सय देखि एक सय ५० रुपैयाँका दरले बिक्री हुँदै आएको छ । तराई क्षेत्रमा चैत, बैसाखमानै लिची उत्पादन भई सकिएको र पहाडी क्षेत्रमा जेठ, असारमा मात्र पाक्ने भएकाले यहाँको लिचीको माग जिल्ला बाहिर समेत रहेको कृषकहरुले बताएका छन् ।
प्रतिक्रिया 4