२० असार, काठमाडौं । हुन त यस्तो कुरा मैले पनि गरेरै जानेको हो । सबै कुरा सिक्दै जानिने कुरा हो । तर, पनि यति भन्छु कि बच्चाको सुरक्षा तथा आरामलाई सबैभन्दा धेरै ध्यान दिनु पर्छ ।
बच्चा रोयो भनेर झर्को मान्नुभन्दा के कति कारणले रोएको भन्ने बुझेर उनीहरुको हेरचाह गर्नुपर्छ । यसमा धैर्यता एकदम जरुरी हुन्छ ।
पूर्वमिस नेपाल तथा चर्चित मोडल माल्भिका सुब्बा यतिबेला सानो छोरा स्याहार्न व्यस्त छिन् । उनी तीन महिनाकी सुत्केरी हुन् ।
सुब्बाले सुत्केरी अवस्थामा आफ्नो बच्चाको स्याहार गर्नुका साथै आफ्नो शरीरलाई पनि ध्यान दिन सुरु गरिसकेकी छिन् । छोरा हुर्काउँदाको अनुभवबारे उनीसँग गरिएको छोटो कुराकानी:
आमा हुदाँको अनुभव कस्तो हुँदैछ ?
आमा बनिसकेपछि सेलिबि्रटी, मोडलभन्दा पनि म आमा हुँ भनेर नै सोचिँदो रहेछ । सिजरियन गरेर बच्चा निकालिएको भएर सुरुको एक महिना त एडजस्ट गर्नै गार्हो भयो । फेरि बच्चालाई पनि हेर्नुपर्ने र आफुलाई पनि सम्हाल्नुपर्ने हुँदा सुरुमा निकै कठिनाइ महसुस भएको थियो ।
बच्चा हुर्काउन कत्तिको कठिन महसुस हुन्छ ?
सुरुमा त गाह्रै भएको थियो । विस्तारै विस्तारै घाउ सुकेपछि केही सजिलो हुँदै गयो । फेरि घरमा सासू, ससुरा, श्रीमानको पनि साथ पाएकोले अहिले धेरै सजिलो महसुस भएको छ । केही समय म हेर्छु भने केही समय उहाँहरुले हेरिदिनुहुन्छ । अहिले त छोेराले हाँस्ने, मुस्कुराउने गर्न थालेको छ । आवाज पनि निकाल्छ ।
यसरी आवाज निकाल्दा कहिले बोल्छ जस्तो लाग्दैन ?
कहिले ‘आमा’ भन्छ भन्ने कौतुहल त अवश्य नै सुरु भएको छ । अझ उसलाई बोल्न सजिलो होस् भन्नाका लागि उसित बोल्ने, गीत गाउने, उसलाई कथा सुनाउने गर्छु ।
सुत्केरी हुँदा आफ्नो तौललाई लिएर कत्तिको चिन्तित हुनुहुन्छ ?
त्यो त सिजरियन भएकाले सुत्केरी भएको २/३ हप्तामै करिब १३ केजी तौल घटिसकेको थियो । यस्तो बेलामा धेरै चिल्लो, पिरो खान नहुने भएकाले साधारण खाना नै खाने गर्छु । त्यसबाहेक फलफूलमा धेरै जोड गर्छु । अब भएसम्म त पुरानो तौलमै जाने सोचमा छु । त्यसैले तीन महिना पूरा भएपछि एक्सरसाइज गर्न जाने सोचमा छु । छिट्टै नै सुरु पनि गर्छु ।
कस्तोखालको कसरत गर्ने सोचमा हुनुहुन्छ ?
त्यसो त म प्रेग्नेन्ट हुँदादेखि नै योगा गथेर्ँ । सधैं हिँड्ने गर्थेँ । पहिले त त्यसैलाई निरन्तरता दिन्छु । यसबाहेक आवश्यकता हेरेर अन्य एक्सरसाइज गर्छु ।
मोटाउँदा असहज महसुस हुन्छ कि हुँदैन ?
आमा भइसकेपछि इनसेक्युर त फिल हुन्छ नै । फेरि पहिलेका कतिपय लुगाहरु पनि ठीक हँुदैनन् । सिजरियन गरेको हुँदा पेट पनि स्पाप्प छैन । त्यसैले अहिले लुज लुगा नै लगाइरहेकी छु ।
आफ्नो शरीरलाई पहिलेकै अवस्थामा ल्याउन खानपिनमा कत्तिको ध्यान दिनुभएको छ ?
सुत्केरी अवस्थामा बच्चालाई दूध पिलाउने हुँदा शरीरलाई प्रशस्त पानी चाहिन्छ । त्यसका लागि दिनमा तीन बोतलसम्म पनि पानी पिउने गर्छु । त्यसैगरी बिहानको समयमा एक कचौरा लोकल कुखुराको झोल पिउँछु । त्यसैगरी बेलुकी ज्वानोको झोल पिउँछु । प्रोटिनयुक्त खाना तथा दूध-दहीबाट बनेका परिकार खाइरहेकी छुु । यसले पनि शरीरलाई निकै फाइदा पुर्याउने हँुदा सजग छु ।
बच्चा हुर्काउन के कुरामा ध्यान दिन जरुरी छ ?
आफ्नो बच्चा हुर्काउनु आफैंमा ठूलो कुरा हो । उनीहरुका मानसिक तथा शारीरिक विकासका लागि पनि यो कुरा अति जरुरी छ । त्यसैले मेरो सवालमा म गर्भवती हँुदादेखि नै बच्चा सम्बन्धी धेरै किताबहरु पढ्थेँ । बेबी सेन्टरहरु, बेबी केयरजस्ता थुपै्र एप्लिकेसनहरु मोबाइलमा डाउनलोड गथेर्ँ । कुन उमेरमा बच्चालाई के गर्ने, के नगर्ने भन्ने सबै जानकारी लिएको थिएँ ।
बच्चा हुर्काउनमा आमाबाबुको भुमिका के रहन्छ ?
आमाबाबु जतिसुकै कामकाजी भए पनि बच्चाबारे जानकार हुन जरुरी छ । आफु घरमा नहुँदा पनि के खायो, दिनभरि के गर्यो भन्ने जानकारी आमाबाबुलाई हुनु जरुरी छ । त्यसैगरी आफूले बच्चा घरमा छोडेर जाँदा घरका मान्छेलाई बच्चाको अवस्थाबारे जानकारी दिनु पनि उत्तिकै जरुरी हुन्छ ।
बच्चा हुर्काउनमा श्रीमानको भूमिका कस्तो छ ?
मेरा श्रीमान पहिलेदेखि नै बच्चा भनेपछि हुरुक्क हुने । त्यसैले अस्पताल हुँदा होस् वा घरमा, हरेक समय उहाँले बच्चा राम्ररी हेरिदिनुभयो । धेरैजसो समय बच्चा उहाँसितै हुँदा मलाई पनि धेरै सजिलो हुन्छ । यसबाहेक परिवार त साथमा छ नै ।
बच्चाका लागि बाबुको माया कत्तिको जरुरी हुन्छ ?
यो त सबैभन्दा जरुरी हुन्छ । उसले सानो बेलादेखि नै सबै कुरा बुझेको हुन्छ । बाबुले अलिकति ध्यान दिँदा बच्चाको बाबुप्रतिको लगाव बढ्छ । माया बढ्छ । यसले बच्चाको बाबुसितको सम्बन्ध त समधुर हुन्छ नै, श्रीमतीले बच्चा हुर्काउन कति दुख गरेकी छ भन्ने पनि श्रीमानलाई थाहा हुन्छ । यसले उनीहरु बीचको सम्बन्ध पनि राम्रो र बलियो बन्छ ।
साँच्चै भन्नुपर्दा श्रीमानको साथ हुँदा त कहिलेकाहीँ हामीलाई बच्चा हुर्काउन सास्ती हुन्छ, एकल महिलाहरुले आफ्नो बच्चा कसरी हुर्काए होलान् भनेर आत्तिने गर्छु ।
बच्चाको राम्रो विकासका लागि काउन्सिलिङमा पनि जानुहुन्छ ?
बच्चाकै लागि भनेर गएको त छैन । तर, डाक्टरकहाँ जाँदा भने बच्चाका बारेमा हरेक कुरा सोध्ने गर्छु । त्यसैगरी केही समस्या भयो कि अथवा जिज्ञासा हुँदा साथी, दिदी, भाउजूहरुलाई फोन गरेर सोध्ने गर्छुर् । त्यसैगरी युट्युबमा हेरेर पनि कतिपय कुरा सिकिरहेकी हुन्छु ।
अन्य आमाबुबा लागि केही टिप्स ?
हुन त यस्तो कुरा मैले पनि गरेरै जानेको हो । सबै कुरा सिक्दै जानिने कुरा हो । तर, पनि यति भन्छु कि बच्चाको सुरक्षा तथा आरामलाई सबैभन्दा धेरै ध्यान दिनुपर्छ ।
बच्चा रोयो भनेर झर्को मान्नुभन्दा के कति कारणले रोएको भन्ने बुझेर उनीहरुको हेरचाह गर्नुपर्छ । यसमा धैर्यता एकदम जरुरी हुन्छ ।
प्रतिक्रिया 4