नृत्यमा रोबोट मूभ निकै चर्चित छ, जुन माइकल ज्याक्सनले सन् १९६७ मा सृजना गरे । नाचको शैली रोबोट मूभ भनेपनि त्यो मान्छेले नै नाच्ने कुरा थियो । तर हालै चीनमा भने रोबोट आफैले नाचमा भाग लिएर विश्व किर्तिमान कायम गरेका छन् ।
गत हप्ता चीनमा १ हजार ७ वटा रोबोटले एकसाथ एउटै नाच नाचेर गिनिज बुकमा नाम लेखाएका हुन् ।
चीनको सांगडोंगमा आयोजित क्विंगडाओ बियर महोत्सवमा हजार बढि रोबोटहरु स्टेजमा उत्रिएका हुन् ।
त्यसरी किर्तिमानी नाच देखाउने रोबोटहरु सबै एउटै आकारका थिए । सबैको उचाई १९ इन्च थियो र सबैलाई एउटै मोबाइल फोनबाट नियन्त्रण गरिएको थियो ।
गिनिज बुकमा नाम लेखाउनका लागि रोबोटहरु पूरै एक मिनेटसम्म नाचे ।
सुरुमा नाच्नका लागि १ हजार ४० वटा रोबोटलाई मैदानमा उतारिएको भएपनि केही नाच्दै ननाचेका कारण सुरुमै आउट भए र केहीले बीचमै नाच बिगारेपछि अयोग्य ठहर गरी निकालियो ।
कुल १ हजार ७ वटा रोबोटले भने पूरै एक मिनेट एउटै नाच प्रस्तुत गरेर किर्तिमान राखे ।
यसअघि यस्तो किर्तिमान अबटेक रोबोटिक्स कर्पले यो वर्षको फेब्रुअरीमा एकसाथ ५४० वटा रोबोटलाई एकसाथ नचाएर कायम गरेको थियो । तर एभर विन कम्पनीले पछिल्लोपटक त्यसको झण्डै दोब्बर रोबोट नचाएर किर्तिमान तोड्न सफल भएको हो ।