१२ भदौ, काठमाडौं । पूर्वमन्त्री एवं जनजाति अगुवा गोरेबहादुर खपाङ्गीको निधन भएको छ । खपाङ्गीको उपचारको क्रममा राजधानीको न्यूरो अस्पतालमा निधन भएको हो ।
पिसावमा समस्या देखिएपछि खपाङ्गीलाई शनिबार अस्पताल लगिएको थियो । अस्पतालबाट उपचार गरी निवास ललितपुर नख्खुदोबाटो लगिएपनि समस्या आएपछि शनिबार पुन: अस्पताल भर्ना गरिएको थियो ।
उपचारकै क्रममा खपाङ्गीको गएराति १० बजेर २२ मिनेटमा निधन भएको गोरेबहादुर फाउन्डेसनका भावेश भूमरीले जनाए ।
लामो समय विरामी परेका खपागीलाई विदेशमा उपचार सम्भव नभएपछि घरमै भेन्टीलेटरमा राखेर उपचार गरिदै आएको थियो ।
खपाङ्गी तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनको समयमा २०५९ साल भदौ २२ गते ८ महिनासम्म महिला तथा बालबालिका मन्त्री बनेका थिए ।
नेकपा मालेबाट राजनीतिमा प्रवेश गरेका खपाङ्गी पार्टी परित्याग गरी राष्ट्रिय जनमुक्ति पार्टीका सँस्थापक महासचिब हुँदै हाल लिवरल डोमेक्रयाटिक पार्टीको अध्यक्ष थिए ।
यसैबीच प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खपाङ्गीको निधनले स्तव्ध बनाएको जनाएका छन् । प्रधानमन्त्री प्रचण्डले खपाङ्गीप्रति श्रद्धाञ्जली एवं शोकाकूल परिवार र शुभेच्छुकमा समवेदना व्यक्त गरेका छन् ।
प्रतिक्रिया 4