२७ मंसिर, बुटवल । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले नेपाल अहिले गम्भिर राजनैतिक संकटमा परेको बताएका छन् । उनले सुगौली सन्धी र अंग्रेजबाट जोगिएको नेपालको अस्मिता फेरि रक्षा गर्ने बेला आएको पनि बताए ।
नेपाल आदिवासी जनजाती पत्रकार मञ्च, रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको अन्तर्क्रियामा उनले मधेस र पहाडी अतिवादीका कारण राजनैतिक संकट निम्तिएको भन्दै यसले नेपालकै भविष्य खतरामा पारेको टिप्पणी गरे ।
‘संविधान संशोधन, पुनर्लेखन, खारेजी र कार्यान्वयनमा देखिएको चुनौती’ बिषयमा गरिएको अन्तरक्रिया कार्यक्रममा नेता गुरुङले यस्तो बताएका हुन् ।
गुरुङले संविधान राजनैतिक सम्झौताको रुपमा आएकाले यसबाट न्यूनतम अधिकार स्थापित गर्नु नै अहिलेको उपलब्धी हुने बताए ।
आदिवासी जनजाती र मधेसी समुदायले भनेजस्तै गरी संविधान नआएको भन्दै उनले थप अधिकार प्राप्तीका लागि संविधान कार्यान्वयनमा जानुपर्ने धारणा राखे ।
सरकारले मधेसमा उठेको आवाजलाई सम्बोधन गर्ने र संविधान कार्यान्वयनमा लैजाने गरी संशोधनको प्रस्ताव ल्याएको उनले बताए ।
अहिले मधेसवादी दल र पहाडे खसको प्रतिनिधित्व गर्ने विचारलाई सहमतिमा ल्याउन नसक्ने हो भने देश द्वन्द्वमा जाने नेता गुरुङको भनाई छ ।
प्रतिक्रिया 4