५ माघ, काठमाडौं । उच्च अदालतका नवनियुक्त न्यायाधीश मदन पोखरेलले बुधबार आफ्ना केही समकक्षीसँग सेल्फी हाने । र, सो तस्वीर उनले सगर्व आफ्नो फेसबुकमा पोस्ट गरे । श्रीमानले रोमनमा यस्तो लेखे- ‘हाइकोर्ट जजको सपथ गरेको तथा जाने तयारीको अवस्थामा हामी ।’
यो स्टाटस आफैंमा एउटा न्यायाधीशले फेसबुक वालमा राख्न सुहाउने त थिएन नै, अझ यसमा व्याकरण पनि शुद्ध प्रयोग गरिएको छैन । यो तस्वीरले न्यायाधीशज्यूको प्रचारमोह र केटाकेटीपनलाई मात्रै बाहिर ल्याइदिएको छ ।
सर्वोच्च अदालत परिसरमा बुधबार उच्च अदालतका ८० जना न्यायाधीशले सपथ ग्रहण गरे । दलीय कोटामा न्यायाधीश बन्ने पोखरेलजस्तै केही श्रीमानहरु यति बिन्दास देखिए कि मानौं उनीहरु राज्यको दायित्वबाट थिचिएको नभई कसैको बिहेमा जन्ती गइरहेका छन् ।
नेपालमा ‘फेसबुक कल्चर’ विकृतिका रुपमा देखा परिरहेको छ । खाना खाइरहेको अवस्था, श्रीमतीसँग फोटो खिचिरहेको अवस्था, सुतेको अवस्था, उठेको अवस्था, खाजा खाएको अवस्था, पुरस्कृत भएको अवस्था, एयरपोर्टमा प्लेन चढ्नै लागेको अवस्था जस्ता व्यक्तिगत स्टाटस र तस्वीरहरुले फेसबुकका भित्ताहरुभरिने गरेका छन् ।
र, अब यस्तै स्टाटस र तस्वीर अब फेसबुकमा हेर्न पाइने भएको छ- ‘हाइकोर्ट जजको सपथ खाइरहेको अवस्था ।’ भोलि अर्को स्टाटस आउला- न्याय सम्पादन गरिरहेको अवस्था !
जेठी र कान्छीलाई मिलाएर राख्न सफल श्रीमान
सेल्फी हानेर फेसबुकमा पोष्ट गर्ने श्रीमान मदन पोखरेल दाङको मानपुर निवासी वकिल हुन् । उच्च अदालतको न्यायाधीश बनेका पोखरेल जिल्लामा फौजदारी कानूनमा राम्रा वकिल मानिन्छन् । उच्च अदालतका श्रीमान बनेका उनी दुई श्रीमतीका सफल श्रीमानसमेत हुन् ।
पोखरेलले जेठी पत्नी र छोराछोरी हुँदाहुँदै दोस्रीसँग प्रेम विवाह र घरजम गरेका छन् । तर, उनले जेठीपट्टिका सन्तानलाई अंशवण्डा गरिवरि मिलाएर राखेको र कुनै विवाद नरहेको स्रोतले बतायो । न्यायाधीश पोखरेलकी जेठी श्रीमती दाङकी स्थानीय महिला अधिकारकर्मीसमेत हुन् । उनले आफ्ना पतिसँग कुनै पनि गुनासो र शिकायत नरहेको निकटस्थहरुलाई बताउने गरेकी छिन् ।
प्रतिक्रिया 4