हामी सबैले जानेकै कुरा हो की जिराफको गर्धन निकै लामो हुन्छ । मान्छेको गर्धन जिराफको जत्रो हुने कुरै भएन । तर किन यी महिलाहरुलाई जिराफ महिलाको नामले चिनिन्छ ? कारण अनौठो छ ।
दुनियामा यस्ता कैयन् परम्परा छन् जो सुन्नमा अनौठो लाग्छन् र सबैको ध्यान खिच्छन् । म्यान्मार र थाइल्याण्डको सीमाक्षेत्रमा बस्ने कयाम नामको आदिवासी समुदायमा प्रचलित परम्परा सबैलाई हैरान पार्ने खालको छ । तिब्बती बर्मी अल्पसंख्यक समुदायमा पर्ने उक्त आदिवासी समूहका महिलाहरुलाई जिराफ महिला पनि भनिन्छ । ती महिलाहरु जिवनभर घाँटीमा पित्तलका छल्ला लगाउँछन् । बालिका पाँच वर्षकी भएसँगै घाँटीमा यी छल्ला पहिराइन्छ र उमेर बढेसँगै छल्ला बढाइन्छ ।
एकमाथि अर्को गर्दै पित्तलका छल्ला घाँटीमा थप्दै जाँदा उनीहरुको गर्धन सामान्य लामो बनेको हुन्छ । उतिसारो लामो नभएपनि छल्ला लगाएकेा बेलामा महिलाको गर्धन जिराफकै जस्तो सलक्क परेको देखिन्छ ।
व्जनदार छल्लाका कारण महिलाको घाँटी, काँध तथा पिठ्यूँको हड्डीमा समेत असर पर्ने र हड्डी बांगो र कमजोर हुने गर्दछ । छल्ला नलगाउँदा गर्धन नै टुट्ने गरी कमजोर बनेका हुन्छन् हड्डी ।
तर सुन्दरता र पहिचानको रुपमा स्थापित यी छल्ला लगाउन महिलाहरु खुसी हुन्छन् । परम्परा अनुसार महिलालाई जंगली जनावर तथा अन्य जंगली आदिवासीहरुको आक्रमणबाट बचाउन र सुन्दरता बढाउनका लागि यसरी घाँटीमा छल्ला लगाइदिने गरिएको हो । जुन अहिले उक्त आदिवासी समुदायका महिलाको पहिचान नै बनिसकेको छ । एजेन्सी
प्रतिक्रिया 4