+
+

पञ्चासेमा चिया खाँदै लेखिएको थियो ‘हङकङ पोखरा’

सरुभक्त सरुभक्त
२०७३ फागुन ६ गते १०:४४

चर्चित उपन्यास ‘पागल बस्ती’का सर्जक हुन् सरुभक्त । उनले लेखेका ‘तरुनी खेती’ र ‘समय त्रासदी’ उपन्यास पनि आधुनिक साहित्यमा पर्छन् । यसैले ‘हङकङ पोखरा’ र ‘चाइना कम्पनी’ जस्ता लोक-पप गीत उनले नै लेखेको हो भन्दा धेरैले सजिलै पत्याउँदैनन् ।
कन्दरा ब्यान्डको ‘हङकङ पोखरा’ र ब्रो-सिस ब्यान्डको ‘चाइना कम्पनी’ निकै चर्चित छन् । यी दुई गीत कसरी सिर्जना भए त ? सरुभक्तले यसरी सुनाएः

म विशेषगरी लोक भाकालाई टिपेर गीत लेख्न रुचाउँछु । बढीजसो गीत गाउँघर घुम्ने क्रममा स्थानीय जीवन र परिवेश टिपेर लेखेको छु । हुन त मेरो झुकाव प्रयोगवादी र बौद्धिक साहित्यतिर हो । यसरी हेर्दा ‘पागल बस्ती’ जस्तो आधुनिक साहित्य लेख्ने मान्छेले ‘हङकङ पोखरा’ र ‘चाइना कम्पनी’ गीत लेखेको हो भनेर कतिपयले विश्वास गर्दैनन् ।

अर्कातिर, कतिपयले तपाईं जस्तो मान्छेले यस्तो हल्काफुल्का गीत लेखेको सुहाएन भनेर असन्तुष्टि पनि पोख्छन् । कतिले भने विशुद्ध लोकजीवनलाई टिपेर लेखिएका गीतहरुको छुट्टै महत्व छ भनेर तारिफ पनि गर्छन् ।

मैले बढी जसो गीतहरु विद्यार्थीकालमा लेखेँ । ०३० सालदेखि ५० को दशकसम्म गीत लेखन उर्वर रह्यो । खासगरी घुमफिर र संरक्षण कविता आन्दोलनका क्रममा गाउँतिर जाँदा गीतहरु सिर्जना भयो ।

यसरी लेखिएका गीतहरु फाट्टफट्ट रुपमा ब्यान्डका भाइहरुले गाइरहेका छन् । तीमध्ये मान्छेहरुले बढी याद गर्ने गीत ‘चाइना कम्पनी’ र ‘हङकङ पोखरा’ भएको छ । पप ब्यान्डहरुले गाएकोले यी गीत पपगीत भए । तर, वास्तवमा गाउँघरको मार्मिकतालाई टिपेर लेखिएका यी लोक आधारित गीत हुन् ।

पञ्चासेमा चिया खाँदै ‘हङकङ पोखरा’

यो गीत मैले कास्कीको पञ्चासे भञ्ज्याङको यात्राको क्रममा ०५०/५२ सालतिर लेखेको हुँ । स्याङ्जा, पर्वत र कास्कीको संगम स्थल हो पञ्चासे ।

अत्यन्तै चिसो मौसम भएको त्यो लेक पोखराबाट एकै दिनमा पुग्न सकिन्छ । त्यसैले घुमघामको लागि तीर्थ श्रेष्ठ, विक्रम गुरुङ, अनिल रञ्जितकार र म कहिलेकाहीँ त्यो लेकमा गइरहन्थ्यौं । प्रकृतिको विचरण गर्ने र गाउँघरको जनजीवनबाट उत्प्रेरित हुने हाम्रो उद्देश्य हुन्थ्यो ।

हिमाल राम्ररी अवलोकन गर्न सकिने त्यो ठाउँमा पुस-माघमा हिउँ नै पर्छ । त्यहाँ होटल पनि भएकोले गएको बेला उतै बास बस्थ्यौं ।

एक पटकको कुरा हो, चिसो बिहानीमा कालो चिया खाँदै बसिरहेको थिएँ ।  त्यसै क्रममा गीतका शब्दहरु मभित्र चलमलाएको थियो । चिया पिउँदै एकै बसाइमा गीत लेखेको थिएँ । चियाको बाफसँग उड्दै लेकाली जीवनका गीति गेडा कागजमा उतार्दा बेग्लै आनन्द लाग्यो ।

हिउँ त हैन फाप्रेको डंगुर
माया भयो अमिलो अंगुर
हङकङ पोखरा
निर्मोही आफ्नो को छ र !

गीतमा प्रयुक्त फाप्रे शब्दलाई धेरैले फापर हो कि भनेर अनुमान गरे । यो शब्द शब्दकोशमा पनि छैन । फाप्रे लेकाली शब्द हो । जसको अर्थ हुन्छ, हिउँको खार । हिउँ पर्नु अगाडि सानो खालको असिना जस्तो एउटै गोलाकारा दाना फुर्र पर्छ । त्यसैलाई फाप्रे भनिँदो रै’छ ।

यो शब्दबारे पञ्चासेकै एक जना गोठालो दाइले जानकारी दिएका थिए । हामी उनलाई तारापति बाजे भन्थ्यौं । पञ्चासेमा हामी बास बस्ने होटलमा उनी दूध पुर्‍याउन आउँथे । त्यतै नजिकको वनमा उनको गोठ थियो ।

एकदिन बाटोमा सुकेर झरेका पातमाथि सेता दानाहरु जमेको देखेँ । पहिला त असिना हो कि भन्ने लाग्यो । तिनै तारापति बाजेले यो त हिउँको खार हो, यसलाई फाप्रे पनि भन्छन् भने । मैले त्यो शब्द टिपिहालेँ । त्यो पूर्णरुपमा हिउँ नभई सेकेण्डरी हिउँ थियो ।

यो गीतमा पोखरा र हङकङ जोडिएको छ । लाहुरे संस्कृतिको प्रभावमा परेर विदेशिन बाध्य एउटा युवाको मनस्थितिबाट उसको वेदना गीतभित्र समेटिएको छ ।

बच्चैदेखि म लाहुरेको कथा-व्यथासँग परिचित थिएँ । पञ्चासेको त्यो बिहान त्यही बालापनदेखि देखेको कुरा झ्वाट्ट दिमागमा आएपछि यो गीत लेखेको थिएँ । लाहुरे हुन जाने तन्नेरीहरुको पोखरादेखि हङकङसम्मको आकर्षणलाई बुनेर ‘हङकङ पोखरा’ भनेँ ।

पोखरा भन्ने बित्तिकै लाहुरे संस्कृतिसँग जोडिएको शहर हो । आसपासको गाउँहरुमा गुरुङ र मगर गाउँमा ठिटाहरु नै हुन्थेनन् । सबै कि त इन्डियन आर्मीमा कि त ब्रिटिस आर्मीमा हङकङ, सिंगापुर र युके जान्थे । मेरा मामाहरु पनि इन्डियन आर्मीमा थिए ।

कहिलेकाहीँ गाउँतिर जाँदा लाहुरेहरु बिदामा घर आएको र बिदा भएर गएको देखिन्थ्यो । घर आउँदा उनीहरुमा खुसी र फूर्ति अर्कै हुन्थ्यो, फर्किने बेला परिवारसँग बिछोडको पीडाले उदासी छाउँथ्यो । आउँदा ट्रान्जिस्टर घन्काउँदै आउँथे ।

यस्तो दृश्य मैले बच्चैदेखि देखेको थिएँ । पोखराको बगरस्थित हाम्रो घरमा किराना पसल थियो । बुवा त्यहाँको नामुद साहु । गाउँघरबाट लाहुरेको परिवार र अन्य मानिसहरु नुन, तेल, मसाला लगायतका सरसामान डोको-डोकोमा लैजान्थे । त्यस क्रममा सुनौली-भैरहवाबाट घर फर्किएका इन्डियन लाहुरेहरु हरियो ड्रेसमै बजार-बजार ट्रान्जिस्टर बजाउँदै हिँडेका देखिन्थे । फर्किँदा निन्याउरो अनुहार हुन्थ्यो ।

त्यसरी बच्चैदेखि म लाहुरेको कथा-व्यथासँग परिचित थिएँ । पञ्चासेको त्यो बिहान त्यही बालापनदेखि देखेको कुरा झ्वाट्ट दिमागमा आएपछि यो गीत लेखेको थिएँ । लाहुरे हुन जाने तन्नेरीहरुको पोखरादेखि हङकङसम्मको आकर्षणलाई बुनेर ‘हङकङ पोखरा’ भनेँ ।

बाध्यता र पारिवारिक कारणले लाहुरे भएर बाहिर जानेहरुको प्रेमिका वा घरमा श्रीमती हुन्छन् । लडाइँमा कुन बेला मर्ने हो भन्ने अनिश्चयका बीच कमाउन जानुपथ्र्यो । त्यो कथावस्तु चित्रण गरेर लाहुरेकै मनस्थितिबाट लेखेँ ।

विदेशिनु लेखियो कर्मैमा
भाला रोपी नबोल मर्मैमा
जिउ त हैन ढुंगाको छपनी
आउँला माया नमरे म पनि
हङकङ पोखरा
निर्मोही आफ्नो को छ र !

लेकाली जीवनकै प्रसंग ल्याएर मायाको शाश्वत पक्ष उतार्दै गीत पूरा गरेको थिएँ ।

भीरको सुई भीरबाट सर्दैन
जहाँ गए’नि यो माया मर्दैन
मन त हैन रुखको त्यो डाली
माया तिमी रेशमीकी जाली
हङकङ पोखरा
निर्मोही आफ्नो को छ र !

यसै क्रममा कन्दरा ब्यान्डका भाइहरु एकदिन मेरो घरमा आए । उनीहरुलाई म लेखक भन्ने पहिलेदेखि थाहा भए पनि गीत पनि लेख्छ भन्ने थाहा थिएन होला । कता-कताबाट सुनेछन् । उनीहरुले कापीको पाना पल्टाएर आफूलाई मन लागेका गीतहरु सारेर लगेका थिए । पछि सुनील थापाको संगीतमा गीत रेकर्ड भएपछि निकै ख्याति पायो ।

सिंचाइ प्रोजेक्टले फुरायो ‘चाइना कम्पनी’

यो गीतलाई मान्छेहरुले त्यति याद गर्लान् जस्तो कहिल्यै सोचेको थिइनँ । तर, धेरैले सम्झिँदा मलाई आश्चर्य लाग्छ ।

यो गीतको पृष्ठभूमिको कुरा गर्दा ‘चाइना कम्पनी’ भन्ने थेगो पुरानो लोकगीतबाट लिएको हुँ । मलाई लाग्छ, त्यो शब्द धर्मराज थापाको गीतमा भेटेको थिएँ । त्यो बेलामा पनि यस्तो शब्द रै’छ भनेर मनमा छाप परे पनि बीचमा मैले बिर्सिरहेको थिएँ ।

पछि ०४०/४५ सालतिर पोखरामा साँच्चैको चाइनिज कम्पनी आयो । सेतीमा बाँध बाँधेर किसानलाई सिंचाइ नहर बनाउने प्रोजेक्ट थियो ।

चाइनिजहरु केआई सिंह पुल नजिकैको दीप र पृथ्वी चौक वरपर क्याम्प बनाएर बसेका थिए । उनीहरुसँग डम्फर, ट्रक र विभिन्न किसिमका उपकरण हुन्थे ।

त्यसबेलामा उनीहरुले पोखरामा काम गर्दा मेला लागे जस्तै हुन्थ्यो । इञ्जिनियर र प्रमुखसहितका केही मान्छे चाइनिज भए पनि कामदारहरु नेपाली नै थिए । त्यो बेलाको माओ ड्रेस लगाएका चाइनिजहरु फिल्डमा यताउति गरिरहेका हुन्थे । सयौं मजदुर काम गरिरहेको ठूलो प्रोजेक्ट भएको हामी उत्सुक भएर हेथ्र्यौं ।

खासगरी गरिब ज्यामीहरुको दिनचर्या हेर्दा मार्मिक लाग्थ्यो । कोही खोलाबाट बालुवा निकालिरहेका हुन्थे । कोही गिट्टी फोडिरहेका देखिन्थे । निम्नवर्गीय कामदारहरुको कथावस्तुलाई आधारित बनाएर मैले त्यो गीत रचना गरेको हो ।

त्यहाँ मैले दुई जना केटा र केटीबीचको प्रेमकथा परिकल्पना गरेँ । तर, काममा व्यस्त हुनुपरेकोले उनीहरु आपसमा बोल्न सकिरहेका छैनन्, प्रेम अव्यक्त छ । केटी गिट्टी फोडिरहेकी छे, केटो बालुवा ओसारिरहेको छ वा डम्फरमा कुदिरहेको छ । त्यो परिकल्पना अनुसार कामदार युवकको नजरबाट पुरानो लोकगीतको थेगो जोड्दै गीत बनाएँ ।

नबोले’नि माया लाग्ने रैछ सान्नानी
दिलको कसम दिलैमा, नत्र ज्यान जानी
चाइना कम्पनी
चाइना कम्पनी ।

त्यहाँ सामान ओसार्ने ठूलो डम्फर गाडी पनि हुन्थ्यो । कहिलेकाहीँ डम्फरले कामदारहरु बोकेर ल्याउँथ्यो । एउटा प्रेमकथामा उनेर उनीहरुको स्थिति ल्याएँ, खासमा यो गिट्टी-बालुवासँग खेल्नेहरुको कथा हो ।

अव्यक्त प्रेमको परिकल्पना गरिए पनि त्यहाँ निम्नवर्गको सुख-दुःखको कथा छ भन्ने मलाई लाग्छ । प्रेमको परम्परागत धारभन्दा अलि बेग्लै गरी रचना गरिएर पनि होला, धेरैले त्यो गीत रुचाए । किनभने सामान्य प्रेमकथाको विषयमा त धेरै गीत लेखिएका छन्, तर निम्न वर्गको प्रतिनिधित्व गरेर त्यो तहको प्रेमकथा विरलै लेखिएको छ ।

मैले गीतमा सोझै गरिब-मजदुरहरुको विवशता पनि लेख्न सक्थेँ होला । तर, त्यो गीत लेख्दाको समय म पनि भर्खरको युवा नै थिएँ । दोस्रो कुरा, गीतमा प्रेमकथालाई कुनै न कुनै रुपमा गाँस्ने प्रचलनले मलाई डोर्‍यायो होला ।

त्यहाँ सामान ओसार्ने ठूलो डम्फर गाडी पनि हुन्थ्यो । कहिलेकाहीँ डम्फरले कामदारहरु बोकेर ल्याउँथ्यो । एउटा प्रेमकथामा उनेर उनीहरुको स्थिति ल्याएँ, खासमा यो गिट्टी-बालुवासँग खेल्नेहरुको कथा हो । त्यही भएर मायालाई पनि गिट्टी अनि बालुवाको विम्बमा उतारेँ ।

माया भए डम्फरै चढी जाऊँ
बाँचौं सँगै नभए मरी जाऊँ
मेरो माया भन्दामा कस्तो छ
गिट्टी अनि बालुवा जस्तो छ
चाइना कम्पनी
चाइना कम्पनी ।

दुःख बुझेको निम्न वर्ग आफ्नो काममा जसरी इमानदारीपूर्वक डट्छ, प्रेममा उस्तै निश्छल हुन्छ । एउटा रोटी बाँडेर खाएर पनि कुनै जोडीले खुसीसाथ रात काट्छन् । त्यही मान्यताले निश्छल प्रेमको पाटो पनि गीतमा गाँसेँ ।

बाटो राम्रो छेवैको ढलले
माया ला’को होइन छलले
जूनै राम्रो जूनैको किरण
चिर्ने भए यै छाती चिर न
चाइना कम्पनी
चाइना कम्पनी ।

ब्रो-सिस ब्यान्डका भाइहरु गीत माग्न घरमा आउँदा यो गीत दिएँ । त्यसभन्दा अगाडि त्यो ब्यान्डको ‘बस सुन्दरी’ भन्ने लोक फ्लेवरको गीत चर्चित भएको थियो । त्यही आधारमा यो गीतमा यिनीहरुले न्याय गर्छन् होला जस्तो लागेर दिएको थिएँ ।

गीत लिन आएको बेला ब्यान्डको एउटा भाइले भने, ‘दाइ, लभस्टोरीको गीतमा गिट्टी र बालुवाको कुरा असुहाउँदो हुन्छ कि ? यसलाई अलिकता चेन्ज गरौं ।’

मैले उनलाई सम्झाएँ, ‘यो ज्यामीहरुको प्रेमकथाको गीत हो । अहिले यी शब्दहरु असुहाउँदो र असान्दर्भिक जस्तो लाग्न सक्छ । तर, भोलि यही चिजले गर्दा यो गीत राम्रो हुन सक्छ ।’

मैले बुझाउन प्रयास गरे पनि उनीहरु त्यति सन्तुष्ट थिएनन् । गीत लिएर अलि अनकनाउँदै गएका थिए ।

पछि उनीहरुले गीत रेकर्ड गरे । गीतको म्युजिक भिडियो बनाउँदा पनि चाइना कम्पनीकै झल्को दिने गरी निर्माण सामग्री र उपकरणको बीचमा सुटिङ गरे । चित्त बुझ्यो ।

गीतको कम्पोज पनि राम्रै भयो । यो गीतको कम्पोज पनि ‘हङकङ पोखरा’ मा संगीत दिने सुनिल थापाले नै गरेका हुन् । त्यो गीतले राम्रो चर्चा पाएको थियो । ‘चाइना कम्पनी’ पनि उत्तिकै चल्यो । ब्यान्डका भाइहरुको पनि मन बुझ्यो । दाइले पहिले भनेको कुरा ठीक रै’छ भनेर दंग परे ।

(जोतारे धाइबाले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?