 
																						२४ असार, काठमाडौं । साहित्य र राजनीति फरक विधा हुन् । दुवैको साइनो मिल्दैन तर पनि दुवैले समाज बोलिरहेको हुन्छ, समाज रूपान्तरण र अग्रगतिका लागि योगदान गरिरहेका हुन्छन् । यसकारण साहित्यमा राजनीति घुस्छ भने राजनीतिमा साहित्य ।
साहित्यको सहयोगमा राज्यको शासन प्रणाली र नीतिहरू बदलिएका छन् । चुनावमा बेला गीतबाटै प्रचार गर्ने शैली नेपाली राजनीतिमा नौलो होइन, गीत सुनाएरै चुनाव जितेका नेताहरू बेलाबेला संसदमा पनि गीतै सुनाएर राजनीतिक वादप्रतिवाद गरिरहेका हुन्छन् ।
नेपालको पछिल्लो राजनीतिक परिस्थितिलाई पनि सांसदहरूले साहित्यको माध्यमबाट चित्रण गरिरहेका छन् । संघीय संसदमा यसको प्रष्ट दृश्य देख्न सकिन्छ । कसैले कविता सुनाएका छन्, कसैले कथा ।
आइतबार र सोमबार भने प्रतिनिधि सभामा गीतले प्राथमिकता पायो । एमाले र माओवादी केन्द्रका सांसदहरूले एक अर्को पार्टीको नेतृत्वबारे टिप्पणी गर्दा गीतका अन्तरा सुनाए ।
राजनीतिक व्यङ्ग्यवाणका निम्ति पछिल्लो राजनीतिक घटनाक्रममा गीतको अन्तरा सुनाउने सुरुवातकर्ता भने स्वयम् प्रधानमन्त्री प्रचण्ड हुन् ।
प्रचण्ड नेतृत्वको सरकारको प्रमुख सत्ताघटक एमालेले असार १९ गते सरकारलाई दिएको समर्थन फिर्ता लियो । त्यसपछि एमालेबाट मन्त्री भएकाहरू राजीनामा बुझाउन प्रधानमन्त्री निवास बालुवाटार गए ।
एमाले मन्त्रीहरूको राजीनामा बुझेपछि प्रधानमन्त्री प्रचण्डले यादव खरेलले लेखेको र फत्तेमान राजभण्डारीले गाएको गीतको अन्तरा सुनाए– ‘यस्तो पनि हुँदो रै’छ जिन्दगीमा कैले कैले, कसैलाई माया गर्नु एउटा भुल गरेँ मैले …।’
१० पुस २०७९ मा प्रचण्ड एमाले सहितका दलहरूको समर्थनमा प्रधानमन्त्री बनेका थिए । २५ माघ २०७९ मा राष्ट्रपतिको चुनाव भएसँगै प्रचण्डले सत्ता समीकरण फेरे र कांग्रेससँग मिलेर सरकार अगाडि बढाए । २१ फागुन २०८० मा फेरि प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको सत्ता समीकरण तोडे र एमालेसँग समीकरण बनाए ।
एमालेसँगको सत्ता समीकरण प्रचण्डको लामो समय जान सकेन । यही असार १७ गते मध्यराति कांग्रेस र एमाले बीचमा सत्ता समीकरण गर्ने सहितको समझदारी भयो । योसँगै प्रचण्ड अल्पमतमा परे ।
संयोगले असार १७ गते प्रतिनिधि सभाको बैठक थियो । त्यसदिन सत्तापक्षको कुर्सीमा सँगै रहेर मेलमिलापका कुरा गरिरहेका एमाले र माओवादी केन्द्रका सांसदहरूको आसन पाँच दिनपछि अर्थात् असार २३ गते बसेको प्रतिनिधि सभाको बैठकमा फेरियो ।
आसन फेरिएसँगै दुवै दलका सांसदहरू सम्बन्ध तोडिनुमा अर्कोलाई जिम्मेवार देखाउने प्रयासमा छन् । यस्तोमा एमालेका सांसदहरू प्रचण्डलाई र माओवादीका सांसदहरू केपी ओलीलाई ‘गलत पात्र’का रूपमा देखाउने प्रयास गरिरहेका छन् ।
यही प्रयासमा सोमबार प्रतिनिधि सभामा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले अञ्जु पन्तले गाएको गीत सुनाए– तिमीले पराइ ठानेपछि पराइ हुन के भयो र, तिम्रो मेरो बीचको नाता भन्नु पनि के रह्यो र !
‘म सम्माननीय प्रधानमन्त्रीज्यूलाई अञ्जु पन्तको एउटा गीत स्मरण गराउन चाहान्छु– तिमीले पराइ ठानेपछि पराइ हुन के भयो र तिम्रो मेरो बीचको नाता भन्नु पनि के रह्यो र !’ प्रमुख सचेतक बर्तौलाले भने ।
गीतको अन्तरासँगै बर्तौलाले साहित्यक भाषाहरूकै शब्द प्रयोग गर्दै प्रधानमन्त्री प्रचण्डलाई आरोपित गर्ने प्रयास गरे ।
‘संगै बसेर सरकार बलियो ढंगबाट तपाईंकै नेतृत्वमा अगाडि बढाउन चाहन्थ्यौं । हामीसँग सँगै रहने तर, अर्को दाउपेचमा सँगसँगै रहने । यो खेलमा आफैँ सहभागी हुनुभयो,’ प्रचण्डलाई सम्बोधन गर्दै बर्तौलाले भने, ‘चुलबुले स्वभाव र उथलपुथलको कार्यशैलीको मारमा हामी पर्ने अवस्था बन्यो । एमाले सरकारमा थियो । तर, एक्ल्याउने र सहयात्री दललाई कमजोर बनाउने प्रयास भएपछि हामी बाहिरियौं ।’
सरकारबाट बाहिरिएपछि साथी खोजिरहेको कांग्रेस भेटेको र सँगै हिँड्ने निधो गरेको उनले सुनाए । ‘सरकारबाट बाहिरिँदै गर्दा कांग्रेसलाई भेट्यौं । कांग्रेस पनि साथीको खोजीमा थियो । एमाले पनि साथीको खोजीमा थियो । भेट भयो र अगाडि बढ्ने निधो गर्यौं,’ प्रमुख सचेतक बर्तौलाले भने ।
माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीले एमालेलाई भेटाएको साथी कस्तो हो ख्याल गर्न सुझाए । यसका लागि उनले गोही र पण्डितको कथा सुनाए ।
यो कथाभन्दा अगाडि उनले आफ्नो पार्टी आफ्नै तरिकाले अगाडि बढ्ने बताए । यसका लागि कुन्ती मोक्तानको गीतको अन्तरा सुनाए– ‘कति जल्छौ आरिसले अझै जल्दै गर, म त हिंड्छु आफ्नै बाटो खुट्टा तान्दै गर, रे ग रे सा सा रे ग रे सा …’
यो गीतको अन्तराको व्याख्या गर्दै उनले सरकार बन्ने र ढल्ने प्रक्रिया स्वाभाविक भएको बताए । ‘संसदीय राजनीतिमा सरकार बन्ने र ढल्ने प्रक्रिया स्वाभाविक हो । जोसँग मिल्छ त्योसँग गठबन्धन हुन्छ,’ उनले भने ।
तर, एमाले र कांग्रेसले सहमति गरेसँगै भनेको राजनीतिक स्थिरता, राष्ट्रिय सरकार र संविधान संशोधनको सन्दर्भमा माओवादी कहाँनिर असहयोगी रह्यो ? भनेर प्रश्न गरे । संविधान सुधारका लागि आफूहरू पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने सहितको सुधारको पक्षमा रहेको, राष्ट्रिय सरकारका लागि प्रयास गर्दै आएको र स्थिरताका लागि दलीय सहमतिमा इमान्दार रहँदै आएको दाबी गरे ।
२०७२ सालमा गएको विनाशकारी भूकम्पका बेला, संविधान निर्माणका बेला, गत वर्ष राष्ट्रपतिको निर्वाचनका बेला आफ्नो पार्टीले राष्ट्रिय सहमतिका लागि माओवादीले अग्रसरता लिन्छ भन्ने पुष्टि गरेको बताए । उनी थप्छन्, ‘राष्ट्रिय सहमतिको लागि माओवादी सँधै तयार रहन्छ । सत्तापक्षमा भए पनि, प्रतिपक्षमा भए पनि ।’
कांग्रेस र एमालेका बीचमा भएको भनिएको सम्झौता कार्यान्वयन गर्नका लागि संविधानमा नभएर नेताहरूको व्यवहारमा सुधार आवश्यक रहेको उनको भनाइ छ ।
‘स्थिरता र राष्ट्रिय सहमतिका लागि संविधान सुधार भन्ने जे प्रश्न उठेको छ । यो होइन, राजनीतिक नेतृत्वको एटिच्युडमा सुधार गर्न आवश्यक छ,’ सांसद घर्तीमगर थप्छन्, ‘हाम्रो संस्कारमा रहेको, चिन्तनमा रहेको सामन्ती सोचमा संशोधन गरौं । यसो भयो भने देश रुपान्तरण गर्न सक्छौं ।’
कांग्रेससँगको सहकार्यमा सरकारको नेतृत्वमा जान लागेका एमाले अध्यक्ष ओलीलाई सांकेतिक रूपमा सम्बोधन गर्दै माओवादी सांसद घर्ती मगरले फेरि मुरलीधरको गीतको अन्तरा सुनाए । ‘… उडायो सपना सबै हुरीले ..’ भन्ने गीत कहिलेकाहीँ चरितार्थ नबनोस् म यो कामना गर्न चाहन्छु ।’
आइतबार नेपाली कांग्रेसका सांसद सुनिल शर्माले कांग्रेस र एमाले मिलेपछि प्रधानमन्त्री प्रचण्ड कमजोर भएको भन्न रामकृष्ण ढकालको गीतको अन्तरा सुनाएका थिए ।
गीतकार आनन्द अधिकारी र संगीतकार न्ह्यू बज्राचार्य र गायक रामकृष्ण ढकालको गीतका अन्तरताहरू उनले सुनाएका थिए ।
ओराली लागेको हरिणको चाल भयो, बाँचुञ्चेलसम्म पनि मरेकै हाल भयो, छल गर्यो मायाले …।
त्यो जोडी देख्दा सबैले भन्थे ईश्वरकै बर पा’को, माया त रहेछ धारिलो छुरा रेटिनै पर्यो नि !, रेटिनै पर्यो नि ! …
बासै उठाउने कस्तो यो खेल भो…
जीवनमा धेरैधेरै धेरैनै झेल भो, छलल गर्यो मायाले ।
सबैको देख्छु– हाँसी र खुसी, शिखरको बाटोमा
आफ्नो त बरै, भाग्य नै फाट्यो मायाकै फाटोमा
दुई चारै दिनको त्यो मृगतृष्णा के देख्न पर्यो नि
झिरैमा उनेको माछी झैँ हाल भो,
जीन्दगीदेखि अब खुसी नै पार भो, छलफल गर्यो मायाले …
कांग्रेसका सांसद शर्माले गीतका यी अन्तराहरू प्रधानमन्त्री प्रचण्डलाई समर्पित गर्न चाहेको बताए ।
संसदमा एकपछि अर्को गीतका अन्तरा नियमित सुनिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले सोमबार बोल्दै ‘संसदमा नाच नै हेर्न पाइने हो कि’ भनेर व्यङ्ग्य गरिन् ।
‘आजकाल सदन रोचक भएको छ । कविता सुनिन्छ, गीत सुनिन्छ । कुनैदिन अगाडि नाच पनि हेर्न पाइएला … ! उनले भनिन् ।
नेकपा (एकीकृत समाजवादी) का सांसद अम्मरबहादुर थापाले संसदमा दोहोरी नै चलेको टिप्पणी गरे । यस्तैमा आफूहरूको पाँच वर्षे कार्यकाल ने सकिने हो कि भन्ने चिन्ता पनि उनले प्रकट गरे ।
व्यङ्ग्यको शैलीमा उनले भने, ‘…संसद् दोहोरी पो हो कि जस्तो लागिरहेको छ । यताबाट एउटाले आह्वान हालेको छ, अर्काले गीत गाएको छ । यो गीत गाउँदैमा यो संसद्को हाम्रो अवधि जाने हो कि !’
 
                









 
                     
                                     
                                 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4