
३१ बैशाख, काठमाडौं । ऐतिहासिक स्थानीय तह निर्वाचनमा शीर्ष नेताहरुले पनि आ-आफ्नो केन्द्रबाट मतदान गरेका छन् । शीर्ष नेताहरु र उम्मेदवारसहित सर्वसाधारणले पनि नयाँ नेतृत्व चयनका लागि आफ्नो मताधिकार प्रयोग गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले चितवनको लंकुस्थित केन्द्रबाट आइतबार बिहान सात बजे मतदान गरे । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड मतदान गरिरहँदा निकै हर्षित मुद्रामा देखिन्थे । उनले देशभर उत्साहजनक रुपमा मतदाता सहभागी भएको भन्दै खुसी व्यक्त गरे । चुनावका लागि उनी अघिल्लो दिन नै गृहजिल्ला चितवन गएका थिए ।
प्रचण्डले जस्तै अन्य दलका शीर्ष नेताहरुले विभिन्न जिल्लाबाट मतदानमा सहभागिता जनाएका छन् । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोटबाट मतदान गरे । मतदानका लागि उनी मध्यान्ह १२ बजे महेन्द्र शान्ति विद्यालय बालकोट केन्द्रमा पुगेका थिए ।

मतदान पछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै ओलीले केही स्थानमा सरकारले बल प्रयोग गरेको बताए । निर्वाचन आयोगको ध्यानाकर्षण गराउने बताए ।
एमाले महासचिव ईश्वर पोखरेलले काठमाडौंको टोखा नगरपालिका-७ धापासीस्थित स्काइलार्क स्कूल केन्द्रबाट मतदान गरेका छन् ।
यसैगरी कांग्रेस नेता रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका वडा नम्बर-२ स्थित सत्यवती मावि केन्द्रबाट र पूर्वउपप्रधानमन्त्री एवम् कांग्रेस नेता प्रकाशमान सिंहले काठमाडौं महानगरपालिका-१६ पकनाजोलस्थित नेपाल युवक मावि केन्द्रबाट मतदान गरेका छन् ।

कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले काठमाडौं महानगरपालिका-३ महाराजगञ्जचोकस्थित भ्याली स्कूल केन्द्रबाट र कांग्रेस नेता एवम् स्वास्थ्यमन्त्री गगन थापाले मैतीदेवी मन्दिरस्थित मतदान केन्द्रबाट मतदान गरेका छन् ।
नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुरको दरवार स्क्वायरस्थित विद्यार्थी निकेतन मावि केन्द्रबाट मतदान गरेका छन् ।
पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले गोरखा पालुङटार नगरपालिका-१ स्थित अन्नपूर्ण मावि केन्द्रबाट मतदान गरेका छन् ।

राप्रपाका अध्यक्ष कमल थापाले हेटौंडा उपमहानगरपालिका-५ पिप्लेस्थित बालज्योति मावि मतदान केन्द्रबाट र राप्रपाका वरिष्ठ नेता पशुपतिशम्शेर जबराले सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका-२ स्थित महेन्द्रोदय उच्चमावि केन्द्रबाट मतदान गरेका छन् ।
पूर्वप्रधानन्यायाधीश एवम् मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीले काठमाडौं महानगरपालिका-१० बानेश्वर हाइटस्थित सानोगौचरण पार्क मतदान केन्द्रबाट मतदान गरेका छन् ।
राष्ट्रकवि माधव घिमिरे, नायक राजेश हमाल, हरिवंश आचार्य लगायतले पनि आ-आफ्नो मतदान केन्द्रबाट मतदान गरेका छन् ।






प्रतिक्रिया 4