२२ जेठ, भैरहवा । अगामी असार १४ गते हुने स्थानीय चुनावको लागि रुपन्देही कांग्रेसले बुटवल उपमहानगरपालिकासहित ६ नगरपालिकामा प्रमुख पदको उम्मेदवार टुंगो लगाएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिले सोमबार बुटवल उपमहानगरपालिकासहित ६ नगरपालिकाको मेयर पदको टुंगो लगाएको रुपन्देही कांग्रेसका जिल्ला सभापति एवं सांसद अब्दुल रज्जाकले अनलाइनखबरलाई जानकारी दिए ।
स्थानीयस्तरमा लामो छलफल पश्चात पनि उम्मेदवारहरुको टुंगो नलागेपछि उनीहरुको फाइल केन्द्रमा पठाइएको थियो । केन्द्रले बुटवल उपमहानगरपालिकामा नगर समितिका सभापति खेलराज पाण्डेलाई प्रमुख पदको उम्मेदवार बनाएको छ ।
त्यस्तै सिद्धार्थनगर नगरपालिका भैरहवाको प्रमुखमा क्षेत्रनम्बर २ का सभापति मात्रिकाप्रसाद यादवलाई प्रमुखको टिकट दिइएको छ ।
तिलोत्तमा नगरपालिकामा जिल्ला सचिव रामकृष्ण खाँणलाई प्रमुख पदको उम्मेदवार बनाइएको छ ।
यस्तै देवदह नगरपालिकामा क्षेत्र नम्बर १ का सभापति हिराबहादुर केसी र सैनामैना नगरपालिकामा जिल्ला सदस्य फणेन्द्र प्रसाद शर्मालाई प्रमुख पदको उम्मेदवार बनाउने निर्णय भएको सभापति रज्जाकले जानकारी दिए ।
नेपाली कांग्रेसले लुम्बिनी साँस्कृतिक नगरपालिकामा भने केही दिन अघि नै मोहम्मद सइद खाँलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
प्रतिक्रिया 4