२१ असार, डडेल्धुरा । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला भएकाले डडेल्धुरालाई कांग्रेसको किल्ला भनेर चिनिन्छ । तर, मतपरिणामले कांग्रेसले गृहजिल्लामै धक्का खायो । कांग्रेसका नेता-कार्यकर्ताहरू अहिले एकले अर्कोलाई अन्तरघातको आरोप लगाइरहेका छन् ।
०४८ देखिका कुनै पनि चुनावमा देउवाले डडेल्धुरामा पराजय भोग्नुपरेको छैन । तर, यो पटक ७ वटा स्थानीय तह रहेको डडेल्धुरामा कांग्रेसले चार वटा स्थानीय तहमा जित हासिल गरेको छ ।
कुल ७५ हजार ७ सय ८० मतदाता रहेको डडेल्धुरा ‘क्लिन स्वीप’ गरेर आफ्नो प्रतिष्ठा जोगाउने देउवाको भगीरथ पयत्न सफल भएन । उनले कांग्रेस जिताउन सकेसम्म सबै प्रयत्न लगाएका थिए ।
कांग्रेसको किल्ला मानिने अमरगढी नगरपालिकामा बहुमत वडाहरुसहित प्रमुख र उपप्रमुखमा एमालेले जितेको छ । यसअघि ०४९ र ०५४ को दुवै स्थानीय चुनावमा कांग्रेसले सबै वडासहित मेयर र उपमेयर जितेको थियो । यसपटक एमालेका एमालेका विपिन ओझा १ सय २८ मत अन्तरले मेयरमा विजयी भए ।
एमालेले जिते लगत्तै प्रदेश नम्बर ७ का संयोजक समेत रहेका उपाध्यक्ष भीम रावल डडेल्धुरा पुगेका थिए । बसपार्कमा आयोजित विजय सभामा बोल्दै उनले यसपाली कांग्रेसको किल्ला भत्काएर एमालेले आफ्नो झण्डा फहराएको भन्दै अब डडेल्धुराबाट कांग्रेसको पराजय सुरु भएको बताए ।
किन हार्यो कांग्रेस
कांग्रेसले डडेलधुरामा पराजय भोग्नुका धेरै कारण छन् । डडेल्धुरामा देउवा बाहेक कांग्रेसको रामचन्द्र पौडेल गुट छैन । तर, देउवा गुटमै दुई उपगुट छन् । जसमा एउटा गुटलाई आरजु देउवाको समर्थन छ ।
टिकट वितरणमा देखिएको असन्तुष्टिले पनि कांग्रेसको पराजपयमा साथ दियो भने त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापति भइसकेका नेता लोकराज भट्ट बागी उठ्नुपर्ने अवस्था आयो ।
कांग्रेसको किल्ला मानिने अमरगढी नगरपालिकामा नै कांग्रेसले हार बेहोर्नुपरेपछि अन्तरघात गर्ने कार्यकर्ताहरुलाई पार्टीले कडा कारबाही गर्नुपर्ने माग गर्दै आइतबार जुलुस प्रदर्शन समेत गरेका छन् । एमालेलाई सघाएको भन्दै नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार डिल्लीराज जोशीले सोही कार्यक्रमबाट आरोप लगाएका छन् ।
देउवा गुटमा पनि दुई उपगुट
कांग्रेसका सभापति शेरबहादुर देउवाको पनि डडेल्धुरामा दुई उपगुट छन् । जिल्ला सभापति कर्णबहादुर मल्ल र पार्टीका पूर्व सभापति रघुवर भट्टका अलग उपगुट रहेका छन् ।
दुवै पक्ष कांग्रेसको छैटाैं जिल्ला अधिवेशनबाट नै दुई वटा गुटमा विभाजन भएका थिए । रघुवर प्रधानमन्त्री देउवाकी पत्नी आरजु राणा देउवाको नजिक मानिन्छन् भने सभापति कर्णबहादुर खुमबहादुर खड्काको निकट मानिन्छन् । कांग्रेसभित्रका यी दुई गुटमा तालमेल नमिल्नु नै हारको प्रमुख कारण रहेको केही बिश्लेषकहरुको भनाइ छ ।
टिकट प्रक्रियामा ढिलाइ
कांग्रेसको बलियो प्रतिद्वन्द्वी नेकपा एमालेले आफ्ना उम्मेदवारको टुङ्गो लगाएर प्रचारप्रसारमा हिँडेको एक महिनापछि मात्र कांग्रेसले टिकट वितरण गर्दा हारको अर्को कारण बनेको छ ।
एमालेतर्फका उम्मेदवार प्रतेक वडाका दोहोर्याएर-तेहेर्याएर मत माग्न पुगिसक्दा मनोनयन दर्ताको चार दिन अगाडि मात्र कांग्रेस उम्मेदवारको टुङ्गो लागेको थियो । टिकट प्रक्रियामा ढिलाइ भएका कारण कांग्रेसको तयारी नपुग्नु हारको अर्काे कारण मानिएको छ ।
टिकट प्रक्रियामाप्रति असन्तुष्टि
अमरगढी नगरपालिकाको मेयर तथा उपमेयर पदमा रघुवर भट्ट निकट दिल्ली राज जोशी र पार्वती झुकालले टिकट पाएका थिए । त्यसपछि सभापति देउवाले टिकट वितरणमा एकलौटी गरेको भन्दै डडेल्धुरामा तीन दिन नेता तथा कार्यकर्ताले विरोध प्रदर्शन समेत गरेका थिए ।
मनोनयन हुनुभन्दा केही दिन अगाडि मात्रै कार्यकर्ताको मूल्यांकन नगरी आर्थिक चलखेलमा टिकट वितरण भएको आरोप लगाउँदै कांग्रेस कार्यकर्ता विरोध प्रदर्शनका उत्रिएका थिए । तर पनि टिकट वितरण नसच्याइएकामा उनीहरु निर्वाचनको दिनसम्म पनि रुष्ट रहेका थिए ।
रुष्ट रहेका समूह मनैदेखि प्रचारप्रसारमा नलागेकोे तथा चुनावलाई लिएर बेवास्ता गरेकाले कांग्रेस हार्नुपरेको आरोप लागेको छ ।
अन्तरघात गर्ने ‘मास्टर प्लान’
निर्वाचनको एक रात अगाडि असन्तुष्ट भएको समुहको विशेष बैठक बसी कांग्रेसलाई भोट नहाल्ने र विपक्षी पार्टी एमालेलाई भोट दिने निर्णय गरेको आरोप यति बेला उनीहरुमाथि लागेको छ ।
आफूहरुले टिकट नपाएको भन्दै हारको स्वाद चखाउन निवार्चनको एक दिन अगाडि मात्रै कांग्रेसमा भोट नहाल्ने मास्टर प्लान बनेको एक कांग्रेस कार्यकर्ता प्रकाश जैरु बताउँछन् ।
भोट नदिएर अन्त्तरघात गर्ने कार्यकर्ताहरुलाई पार्टीले कडा कारबाही गर्नुपर्छ भन्दै अर्को समूहले आइतबार प्रदर्शन समेत गरेका छन् । आइतबार पार्टी कार्यालयमा ताला बन्दी समेत गरेका कार्यकर्ताहरुलाई सम्बोधन गर्दै पराजित उम्मेदवार जोशीले उनीहरुलाई निश्कासन नगरिए कांग्रेस अब सधैं पराजित हुने बताए ।
हारबारे यसो भन्छन् पार्टी सभापति मल्ल
कांग्रेस जिल्ला सभापति कर्णबहादुर मल्ले अमरगढीको हारले पार्टीलाई ठूलो क्षति पुगेको बताए । आन्तरिक व्यवस्थापनका पक्षहरु नमिलेकाले पराजित भएको भन्दै उनले अब समीक्षा हुने बताए ।
पार्टीको बैठक बसाएर सबै उम्मेदवार तथा कार्यकर्ताबीच छलफल गराएर अब आफूले नयाँ दृष्टिकोण बनाउने भनेर प्रक्रिया दिए पनि हालको दिनसम्म कुनै बैठक बसेको छैन ।
कांग्रेसले अमरगढी नगरपालिकामा आफ्नो साख गुमाउनु भनेको अबका चुनावमा पनि हार सुनिश्चित गर्नु हो भन्ने विश्लेषण यहाँका स्थानीय बौद्धिक समुदायको रहेको छ । कांग्रेसले डडेल्धुराका सातमध्ये चार स्थानीय तह मात्र जित्नु शेरबहादुर देउवा आफ्नै गृहजिल्लामा कमजोर बन्नु हो भन्ने विश्लेषण गरिएको छ ।
कांग्रेसका शुभचिन्तक तथा शिक्षक अशोक बमले प्रतिक्रिया दिए, ‘कांग्रेसमा ठूलो बुमेराङ आउनुका साथै जिल्लामा वर्चस्व गुमेको छ ।’
प्रतिक्रिया 4