२९ साउन, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले देशभर प्राकृतिक विपत्तिबाट प्रभावित भएकाहरुको उद्धार र राहत वितरण कार्य प्रभावकारी नबनेको बताएको छ ।
बिशेष गरी तराईका जिल्लाहरुमा बाढी र पहाडी जिल्लाहरुमा पहिरोले व्यापक क्षति पुर्याएपनि केन्द्रीय बिपद व्यवस्थापन समिति र जिल्ला व्यवस्थापन समितिबाट राहत र उद्धारका प्रयासहरु प्रभावकारी नदेखिएको आयोगको भनाइ छ ।
हजारौं नागरिक राहत र उद्धारको पर्खाइमा रहेकाले सरकार, सुरक्षा निकाय, बिभिन्न संघ संस्थाहरुलाई प्रभावकारी कदम चाल्न पनि आयोगले आग्रह गरेको छ ।
आइतबार बिहान बसेको आयोगको आकस्मिक बैठकले सम्भावित प्राकृतिक प्रकोपको पूर्व तयारी पनि नदेखिएकाले सरकारलाई यसतर्फ सचेतसमेत गराएको छ ।
प्राकृतिक प्रकोपपछि देखिन सक्ने सरुवा रोग तथा महामारीबाट बेलैमा जोगिनका लागि चिकित्सकहरुको अस्थायी टोली तत्काल व्यवस्था गर्न आयोगले सुझाव दिएको छ ।
गृह मन्त्रालयलाई उदृत गर्दै मानवअधिकार आयोगले जनाएअनुसार डुवान, बाढी र पहिरोबाट देशभर ६४ जनाको मृत्यु, ४४ जना घाइते, ३६ जना वेपत्ता छन् । त्यस्तै करीव १९ हजार घरमा क्षति पुगेको छ भने ७२८ घर पूर्ण रुपमा क्षति भएको छ ।
प्रतिक्रिया 4